वि सं. २०३८ साल मंसिर १९ गते भोजपुर जिल्लाको स्यामशीला गाउँमा जन्मिएका लाक्पा शेर्पाको बाल्यकाल भने खावामा बितेको थियो । खावाबाटै शर्पाले एस.एल.सी. उत्तिर्ण गरे । उच्च शिक्षाको लागि उनी काठमाडौं आए । शेर्पाले संगीतमा स्नातोकोत्तर उत्तिर्ण गरेका छन् ।
वि. सं. २०५४ सालदेखि अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट राजनीतिमा सक्रिय रुपमा लागे । जुनबेला उनले विद्यार्थीलाई ३३ प्रतिशत छुट दिनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका थिए । त्यसबेला उनी पटक पटक हिरासतमा समेत बसेका थिए । एमाले फुटेर माले भयो । त्यसबेला शेर्पाले पार्टी छोडे । पछि अशोक राईले पाटी स्थापना गरेपछि निस्वार्थ भावले सहयोग गर्नु पर्छ भनेर उनी पुनः साधारण सदस्य भएर राजनीतिमा सक्रिय भए ।

शेर्पा राजनीतिमा मात्रै होइन समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । शास्त्रीय संगीत प्रतिष्ठानको सदस्यहुँदै सचिवालयसम्मको अनुभव बटुलेका छन् । यत्ति मात्र होइन हिमालय शेर्पा साँस्कृतिक केन्द्रको सदस्य, उपाध्यक्षहुँदै अध्यक्ष भएर ११ वर्षसम्म काम गरे । जुनबेला शेर्पा भाषाको भाषिक अभियान पूर्वदेखि पश्चिमसम्म शेर्पाहरुको बस्तीमा पु¥याएका थिए ।
शेर्पा प्रदेश संयुक्त संघर्ष समितिको तर्फबाट पटक पटक आन्दोलनको नेतृत्व गरेका शेर्पाले ४० दिने रिले अनशन, वानेश्वरको ¥याली, हिमाली क्षेत्रमा छुट्टै शेर्पा प्रदेश निर्माण हुनु पर्छ भनेर गरिएको आन्दोलनको नेतृत्व समेत गरेका थिए । पहिचानका लागि संघीय गठबन्धनमा आबद्ध रहेर ६ महिनासम्म चलेको आन्दोलनमा शेर्पाहरुको तर्फबाट संयोजक भएर उनी सक्रिय रुपमा सहभागी भएका थिए ।
मंसीर १० गते हुने प्रतिनिधी सभाको निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधी सभा सदस्यको उमेदवारी दिएका शेर्पा एक मात्र शेर्पा समुदायको उमेदवार हुन् । शेर्पाले संघीय समाजवादी फोरम नेपालको तर्फबाट उमेदवारी दिएका हुन् । आसन्न प्रतिनिधी सभाको निर्वाचनको समसामयिक विषयमा सगरमाथा अनलाईका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेका कुराकानीको मुख्य अंश ।
भोजपुरको बासिन्दा सोलुखुम्बुबाट उमेदवार बन्नु भयो किन ?
पहिलो कुरा त मेरो सन्दर्भमा भन्नुपर्दाखेरी मान्छे कहाँ जन्मियो ? कुन जातको हो ? भन्ने कुरा मेरो लागि त्यत्ति महत्वको होइन । मान्छेले के सोच्छ, त्यसले के गर्छ ? त्यसको एजेण्डा के हो ? र त्यसको उद्देश्य के छ, यो सँग सम्बन्धित कुरा हो । सोलुखुम्बुमा मेरो पुर्खाको थातथलो भएकाले सेवा गर्ने हिसाबले म सोलु गएको थिए । पार्टी पद्धतीमा बसेपछि अनुशासन मान्नु पर्छ । टिकट पनि पाए । अहिले प्रतिनिधी सभाको उमेदवार भएको छु । खुशी या दुःख दुवै लागिरहेको छ । प्रतिनिधी सभामा म एक्लो शेर्पा उमेदवार छु । यसै सन्दर्भमा आम सोलुबासी आदरनीय जनताहरुसँग मेरो विनम्र आग्रह छ, एउटा शेर्पा पनि प्रतिनिधी सभामा जाओस । र प्रतिनिधी सभा शेर्पा शुन्य नहोस, भन्ने मलाई लाग्छ । त्यसकारणले मेरो पुर्खा पनि सोलुबाटै भोजपुर गएको र म पुनः सोलु फर्किएको करिब ३ वर्ष अगाडि नै हो र अहिले यहाँहरु माझ आएको छु । यहाँहरुले भोट दिनुहुनेछ भन्ने विश्वास पनि लिएको छु ।

तपाईको मुख्य एजेण्डा के के छन् ?
एजेण्डा भन्नु पर्दा हाम्रो संघीय समाजवादी एजेण्डा वेश पार्टी नै हो । ईश्यूवेश पार्टी नै हो । आदिवासी जनजातिको मुद्धा अरु पार्टीहरुबाट स्थापित नहुँने देखिसकेपछि आदिवासी जनजाति, मधेसी र खसहरु मिलेर संघीय समाजवादी निर्माण भएको हो । त्यसकारणले गर्दाखेरी ईश्यूवेश पार्टी, एजेण्डाबेश पार्टी नै हो । हाम्रो पार्टिगत हिसाबले राष्ट्रिय एजेण्डा भनेको नेपाल जातिगत रुपले तीन वटा क्लस्टरले बनको छ । खसआर्य, आदिवासी र मधेशी क्लस्टरले बनेको छ । यो तीनवटा क्लस्टर, एउटा ओदानको तीन वटा खुट्टा जस्तै हो । त्यो तीन वटा खुट्टा उभिसकेपछि एउटा चुलो निर्माण हुन्छ, अथवा ओदान निर्माण हुन्छ । त्यसमाथि मात्रै जनताले खाने राम्रा चिजहरु पाक्छन् । र त्यो तीन वटा चिज माथी पकाएर हामीले सबैलाई बाड्ने हो । त्यो भनेको पहिचान र अधिकार हो, समृद्धि हो । राज्यमा समान पहुँच हो । त्यसकारण यो एजेण्डा सहित हामी अघि आएका छौं । र अर्को कुरा के हो भन्दाखेरी अहिले चुनाव यस्तो अवस्थामा पुग्यो देशको यो निर्वाचनको एउटा ढंग, तरिका । अब पत्रकारले चुनाव लड्नै नसक्ने भो । कलाकारले पनि चुनाव लड्नै नसक्ने भो । म त अलिकति शिक्षण पेशाको मान्छे, मैले पनि लड्न नसक्ने परिस्थिति निर्माणहुँदै गएको छ । त्यही पनि म कोशिस गरिरहेको छु । बुद्धिजीवि सर्कलले पनि चुनाव लड्न नसक्ने भो । चुनाव अब कस्तोले लड्ने भो भन्दा कपरेटको मालिक । भ्रष्टाचारी, दलाली, ठूलाठूला व्यापारीहरुले मात्रै चुनाव लड्न सक्ने र राज्य तिनीहरुको कब्जामा जाने परिस्थिति क्रमशः निर्माण भएर गयो । अहिले बुद्धिजीवि सर्कल जो पत्रकार, कलाकारदेखि लिएर शिक्षक जो बुद्धिजीवि सर्कलभित्र पर्छन्, उनीहरु निराशाको स्थितिमा छन् । वास्तवमा अब देश कर्पोरेटका मालिकहरुको हातमा जाने भो, भनेर बुद्धिजीविहरु चिन्तामा छन् । त्यस कारण एक खालको निराशा पनि छ । वास्तवमा मैले अहिले सोलु घुम्दाखेरी र स्थानीय तहदेखि आजसम्मको परिस्थितिमा मैले अनुभव गर्दाखेरी वास्तवमा यस्तो निर्माण भएको छ । यो परिस्थिति निर्माण भएको यसलाई चिरेर अगाडि बढ्ने, र सबैको अपनत्व हुने हिसाबको राज्य निर्माण गर्ने । जहाँनिर कर्पोरेटका मालिक पनि आओस । बुद्धिजीविहरु धेरै होस, त्यसले एउटा देशलाई सही मार्गमा डो¥याओस भन्ने खालको नै मेरो एजेण्डाहरु छन् ।
संघीय समाजवादी फोरमले सोलुखुम्बुको प्रतिनिधी सभाको उमेदवार किन बनायो ?
अब एउटा कुरा त के हुँदो रहेछ भने पार्टीमा लागिसकेपछि विधि पद्धती हुन्छ । त्यो पद्धती, सिस्टमभित्र म परे । त्यो भित्र परेपछि मलाई पार्टीले टिकट दियो । त्यसपछि अब म पनि राजनीतिक प्राणी भएको हिसाबले यसलाई अवसरको रुपमा प्रयोग गरेको छु । र आम समुदायमा म के आग्रह गर्न चाहन्छु भने पार्टीले दिएको यो टिकटलाई गर्व महशुस गरेर म आफ्नो पुर्खाको थातथलोमा आएको छु । यहाँहरुले दिएको भोटलाई म चिलाप (प्रसाद) सम्झेर, स्मरण गरेर म अगाडि बढ्ने छु । र सबैको सहभागीता हुने गरेर मैले सोलुलाई कसरी माथी ल्याउन सकिन्छ । उन्नती, प्रगतीमा माथी लान सकिन्छ । विकासमा अगाडि बढाउन सकिन्छ । सबैको अपनत्व महशुस हुने खालको नेतृत्वमा रहेर काम गर्नेछु भन्ने पनि म विश्वास दिलाउन चाहन्छु ।

सोलुखुम्बुमा सबैभन्दा बढी आदीवासी जनजातिहरुको जनघनत्व छ, तपाईको मुख्य एजेण्डानै आदिवासी बेश भएकाले तपाईको पक्षमा कति मत आँकलन गर्नु भएको छ ?
अहिले सोलुमा केहि परिवर्तन पक्षधरहरु पनि छन्, जसले समानुपातिक, समावेशीताका कुराहरु राज्यमा सबैको पहुँचलाई सबैको अपनत्वलाई स्थापित गराउनु पर्छ भन्ने खालको जनताहरु छन्, भन्ने कुरा यो अभियानको क्रममा देखिएको छ । र कस्तो भयो भने स्थापित पार्टीहरुले भ्रम छ¥र्यो, हामीले उठाएको पहिचान र अधिकारलाई विभिन्न नामहरु दिए । त्यसपछि भ्रम सिर्जना गरे । जातिवादी भने, विखण्डनकारी दुँनियाँ भने । र मलाई के लाग्छ भने सोलुका जनता एजेण्डा र पद्धतीमा विश्वास गर्छन् । र त्यो स्थापित हुनुपर्छ भन्ने पक्षमा छ । तर मनि र मशल प्रयोग गरेर । मनि र मशलको प्रतिस्पर्धा गराएर चुनावलाई र अभिमतलाई किन्ने, आफ्नो स्वार्थमा प्रयोग गर्ने, गरेका छन्, विगत देखि नै, अब त्यस्तो नहोला भन्ने मलाई लाग्छ । अर्को तर्फबाट भन्नु पर्दा जो कांग्रेसले लोकतन्त्र, लोकतन्त्र भनेर जुन किसिमको रटान लगाउँछ, कांग्रेसले लोकतन्त्र त भन्छ, तर समावेशी लोकतन्त्र कांग्रेसमा छैन, ६ चोटीसम्म प्रतिस्पर्धा मिस्टर केसीले नै गर्नु पर्ने कारण के ? यहाँनेर कांग्रेसको समावेशी लोकतन्त्र कहाँ छ ? अथवा कांग्रेले उठाएको लोकतन्त्रभित्र समावेशीता कहाँ छ ? ८२ प्रतिशत आदिवासी जनजाति भएको ठाउँमा आज किन कांग्रेसले ६ चोटी उमेदवार बनाउँदा खेरी पनि मिस्टर केसी मात्रै पर्छ ? यो गम्भिर विषय छ । अर्को तर्फ त्यहाँ सबैभन्दा बढी जनसंख्या भएको राई, त्यसपछि शेर्पा, तामाङ किन कांग्रेसको आजसम्म रोजाईमा परेन ? के कांग्रेसले लोकतन्त्रलाई देखाउने दाँत मात्रै बनाएको हो ? अथवा समावेशी लोकतन्त्र उसको डायरीबाट हटेको हो ? अथवा उसले जनतामा एउटा भजाउने बाटो मात्रै बनाएको हो की भन्ने लाग्छ । अर्कोतर्फ मैले देखेको माओवादी केन्द्रका साथीहरुलाई वि. सं. २०५२ साल अगाडिनै जो माओवादीले आन्दोलन शुरु गर्नुभन्दा अगाडिनै एमाले स्थापित थियो । अहिले पुष्पकमल दाहाल प्रचण्डले एमालेको एजेण्डामा सहमती ग¥र्यो । मलाई लाग्छ अहिले यदि एमालेसँगै मिल्नु थियो भने वि. सं. २०४९ सालतिरै किन नमिलेको होला । वि. सं. २०५१ सालतिरै किन नमिलेको होला । आन्दोलन गरेर त्यत्रो १७ हजार मान्छेको बलिदानीबाट स्थापित हुनु भयो । एमालेसँगै मिल्नु थियो भने त्यत्रा मान्छे किन टुहुरा भए होला ? यी यावत कुरा मैले माओवादीलाई प्रश्न गरिरहेको छु । माओवादीले उत्तर दिनु पर्छ जस्तो मलाई लाग्छ । आम जनता यसको उत्तरको प्रतिक्षामा छ जस्तो लाग्छ ।
तपाईहरुको पनि लोकतान्त्रिक गठबन्धको चर्चा छ, सोलुखुम्बुमा के छ सम्भावना ?
सोलुमा हाम्रो गठबन्धन छैन । लोकतान्त्रिक गठबन्धन भनेर केहि आएको छ । अब मैले पनि त्यत्रो धेरै त थाहा पाएको छैन । यो पाटीगत हाई लेभलको कुरा भएर मैले खासै त्यसमा नेताहरुले गरेका होलान् भन्ने भयो । अब लोकतान्त्रिक गठबन्धन, बाम गठबन्धन भन्ने दुईखालका बहस आउछ । मैले लोकतान्त्रिक भन्दा पनि त्यो अलोकतान्त्रिक र अराजकहरुको गठबन्धन जस्तो देख्छु । यसो हेर्दाखेरी, म आफैलाई पनि त्यत्ति चित्त बुझेको छैन । कांग्रेसको लोकतन्त्र हेर्दाखेरी तनहुँबाट पौडेलभन्दा अर्को नआउने, बिराटनगबाट कोइरालाभन्दा अर्को नआउने, की त्यो सबै सिद्धिनु नै पर्ने ? डडेलधुराबाट देउवाभन्दा अर्को नआउने ? नुवाकोटबाट रामशरण महतभन्दा अर्को मान्छे नै नदेख्ने खालको लोकतन्त्र कस्तो लोकतन्त्र हो कांग्रेसको मैले बुझ्न सकेको छैन । कस्तो खालको समावेशीता हो त्यो बुझ्न सकेको छैन । बाम गठबन्धन र कम्युनिष्टहरुको जो कुरा आएको छ, यो कमाउनिष्ट मात्रै हो की ? अथवा यीनीहरु साँच्चिकै कम्युनिष्ट हुन् भन्ने कुरा पनि नेपाली जनताले बहस गर्नु पर्ने बेला आएको छ । र एउटा खालको निचोडमा हामी पुग्नु पर्ने बेला आएको छ, जस्तो मलाई ।
त्यसो भए सोलुमा भएका राप्रपा, नयाँशक्ति लगायत अन्य दलहरुसँग पनि एलाइन्स हुँदैन त ?
अहिलेसम्म हामीले त्यो किसिमले कुरा गरेका छैनौं । अस्ती अनैपचारिक रुपमा केहि कुराकानी त भएको थियो । तर कुरा अगाडि बढेको छैन । र हामी अहिले के भन्दै छौं भने हामीले अहिलेको चुनावलाई दुई वटा तरिकाबाट लिएका छौं । संविधानमा भएको असन्तुष्टिहरुलाई आन्दोलनको रुपमा अगाडि बढाउने, संभव भएसम्म नतिजा निकालेर त्यो संविधानलाई संशोधन गरेर, त्यो संविधानप्रति सबैको अपनत्व महशुस गर्ने वातावरण बनाउँने हाम्रो ध्यय हो । हामी त्यो अनुसार अगाडि बढिरहेका छौं । त्यो अनुसार कुरा मिल्ने साथीहरुसँग बसेर एक खालको वातावरण सिर्जना गरेर जान सकिन्छ । तर त्यो तर्फ उन्मुख भएको देखेको छैन । अब कतिपय विकासे खालका पार्टीहरु पनि आएका छन् । एनजीओ टाइपका पार्टीहरु पनि आएका छन् । एजेण्डा विहिन पार्टीहरु पनि आएको छ, अब तिनीहरुसँग मुद्धासँगै सम्बन्धित रहेर छलफल गरेर अगाडि बढ्न सकिन्छ । त्यस्तो प्रस्ताव आयो भने फेरी बसेर सरसल्लाह गरेर सबैसँग मिलेर एउटा वातावरण बनाउन सकिन्छ भन्ने लाग्छ ।

सोलुखुम्बुको जनताले संघीय समाजवादी फोरमको उमेदवार लाक्पा शेर्पालाई किन भोट दिने ?
सोलुखुम्बुको जनताले मलाई किन भोट दिने भने मैले गरेको कुरा २१ औं शताब्दी सुहाउँदो, नेतृत्व स्थापित गर्ने, र त्यो नेतृत्वले अहिलेको २१ औं शताब्दी सुहाउँदो समाजलाई अगाडि बढाउनको लागि र सबैको अधिकार, सबैको पहुँच, सबैको अपनत्व महशुस हुने खालको राज्य निर्माण गर्नको लागि, र हिमाली क्षेत्रमा वर्षौंदेखि अनेकौं खाले उत्पीडनहरु सहेका छन् । त्यसमा लाक्पा शेर्पाले संघर्ष गर्नेवाला छ, त्यो उत्पीडन बुझेको छ । त्यो उत्पीडनलाई अन्त गरेर सबैलाई एउटा राज्यप्रति गौरव महशुस हुने खालको वातावरण निर्माण गर्नको लागि । अर्को तर्फ जो विराटनगरमा प्रदेशको राजधानी बनाइदै छ । त्यसले सोलुको जनतालाई सबैभन्दा दुःख हुनेवाला छ, पीडा हुनेवाला छ । खुम्बुमा लगाएको बक्खु विराटनगरमा पुग्दाखेरी त्यो लगाउन नसकिने परिस्थिति निर्माण भएको छ । र साँस्कृतिक रुपले अथवा भेषभूषागत साँस्कृतिक रुपले खानपानगत साँस्कृतिक कल्चरको रुपले पनि विराटनगर हिमाली क्षेत्रको जनताको लागि उपयुक्त ठाउँ होइन । त्यसकारणले हामीलाई त्यसको खबरदारी गर्नको लागि र हिमाली क्षेत्रलाई अलिकति सजिलो पर्ने खालको प्रदेशको राजधानी निर्माण गर्ने खालको वातावरण बनाउनलाई दवाव दिनको लागि र जो दलितहरुप्रति उत्पीडन छ पहिले देखि उनीहरुले मानव हुँ, अथवा मान्छे जस्तो व्यवहार भएको छैन उनीहरुप्रति छुवाछुत अझै पनि समाजमा कायमै छ । त्यसको विरुद्धमा खुलेर आवाज उठाउनको निमित्त र २१ औं शताब्दी सुहाउँदो युवाहरुलाई राजनीतिक सचेतना र सुझबुझ सहित अगाडि बढाएर त्यसपछि देशलाई एक खालको निकास दिनको निम्ति र त्यो मुद्धाहरुलाई राष्ट्रिय रुपमा उठाउनको निमित्त र मैले अर्को भन्नै पर्ने एउटा कुरा के हो भने अहिले तगडा र तिष्ण बुद्धि भएको र अलिकति समाजमा केहि गर्छु भन्ने युवाहरु निराशा भएर विदेश पलायन हुने । अरुअरु विषय लिएर अरुअरुतिरै जाने जुन खालको परिस्थिति निर्माण भएको म आम युवाहरुमा पनि के भन्न चाहन्छु भने तिष्ण बुद्धि भएका युवाहरु राजनीतिमा लागेन भने अथवा त्यो मान्छे आएन भने गवारहरुको हातमा राज्य सत्ता गैसकेपछि आम जनातले दुःख पाउँछन्, त्यसको सचेतनाको निम्ति लाक्पा शेर्पालाई मत दिनु पर्छ र जिताउनु पर्छ, भन्ने मेरो आग्रह हो ।
यदि तपाई सोलुखुम्बुबाट जित्नस भयो भने ५ वर्षपछि सोलुखुम्बु कस्तो हुनेछ ?
सबैभन्दा पहिलो कुरो त जनताले मैले जित्दाखेरीको अवस्थामा सम्मान महशुस गर्छन्, र यो राज्यप्रति गर्व महशुस गर्ने वातावरण निर्माण गर्ने जिम्मा भो । मलाई के लाग्छ भने विकास, विकास, विकास भनेर जो राजनीतिक दलहरु कुदेका छन्, विकास भनेको ठूलो कुरा होइन । जनतामा भएको असन्तुष्टि ठूलो कुरा हो । असन्तुष्टि कायम रह्यो भने भौतिक रुपमा बनेको धेरै ठूलठूला शिष महलहरु पनि तोडिएको छ, भत्किएको छ, दरबारहरु फोडिएको छ, जनतामा भएको असन्तुष्टिको कारणले त्यस्तो घटना विश्वमा भएको छ । त्यो जनतामा भएको असन्तुष्टिलाई सम्बोधन गरेर सबैलाई सन्तुष्ट बनाएर लान सकेको खण्डमा भौतिक विकास ठूलो कुरा होइन, त्यसकारण सबैलाई उन्मुख गराएर लान्छु र नेतृत्वलाई अथवा पार्टी पद्धती मार्फत ती चिजहरु अगाडी बढाउँछु किनकी संघीय समाजवादीको मुख्य एजेण्डा भनेकै समावेशी र समृद्ध नेपाल निर्माण गर्ने हो । सबैको पहिचान र अधिकार निर्माण गर्ने भएकोले गर्दा पार्टीले पनि यसमा मैले उठाएको र मैले गरेको बाचाहरुलाई नै सहयोग गर्ने भएको कारणले यसतर्फ म सबैलाई आग्रह गर्छु । अर्कोतर्फ विकासमा पनि म त्यत्तिकै चिन्तित भएर ध्यान दिन्छु । सामाजिक सुधारका कार्यक्रमहरुलाई पनि उत्तिकै ध्यान दिन्छु । किनकी हाम्रो व्यक्तिगत स्वभावको कारणले गर्दा पनि हाम्रो प्रगतीमा बाधा भैरहेको हुन्छ, त्यसतर्फ मैले सबैलाई अगाडि बढाएर लाने प्रयास गर्छु । वास्तवमा ५ वर्षपछि हामी यो देशको नागरिक हौं । हामीलाई पनि राज्यले केहि दिएको छ भन्ने महशुस सोलुको आम जनताले पाउने छ । त्यो राज्यको निम्ति पनि एउटा उदाहरण बन्नेछ ।
सोलुखम्बुको मतदातालाई के भन्नुहुन्छ ?
अहिलेसम्म सोलुको जनतालाई उपयोग मात्रै गरिएको छ । विकासको नाममा एक चोटी पोल गाड्ने, अर्को चोटी ल्याएर तार टाग्ने, अर्को चोटी पोल पु¥याईराख्ने जस्ता गरेर किस्ताबन्दीमा विकास गरेर, प्रलोभनमा पारेर, अभिमत लिएर, जुन किसिमका राजनीतिक दलहरुले सोलुको जनताहरुमा उत्पीडन थोपरेको छ । त्यसको अन्त्यको निम्ति संघीय समाजवादी फोरमको मसाल चिन्हमा मतदान गरेर सोलु प्रदेश ‘क’ का उमेदवार चोलामाया बस्नेत, प्रदेश ‘ख’ का उमेदवार गंगा थापामगर र प्रतिनिधी सभाको म एक्लो शेर्पा उमेदवार लाक्पा शेर्पालाई अत्याधिक बहुतले जिताई दिनको लागि म हार्दिक आग्रह गर्दछु । हामीले अहिले जनतालाई धेरै दुःख नदिने गाउँघरमा धेरै भेला पनि नगर्ने किनकी अहिले खेती उठाउने बेला छ, पर्यटनको सिजन छ, त्यसकारणले हामीले सञ्चार माध्यमलाई नै प्रचारप्रसारको मुख्य माध्यम बनाएका छौं । यसै मार्फतबाट आफू अनुकुल हुनेगरी सुनेर, पढेर र बुझेर सक्षम उमेदवार छान्नेछन् भन्नेमा विश्वास व्यक्त गर्दै आम जनसमुदायप्रति फेरी एक चोटी मसाल चिन्हमा मतदान गरिदिनको लागि विनम्र आग्रह गर्दछु ।
१२ कार्तिक २०७४, आइतबार
371
Shares







