६ असार २०८३, शनिबार | Sun Jun 21 2026

सोलुखुम्बुबाट बहादुर होइन कुमारलाई जिताऔं : श्रीलाल थापामगर

नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जुनसुकै हालतमा पनि सोलुखुम्बुबाट हराउनु पर्छ



वि. सं. २०२६ सालमा नेपाल तरुण दल सोलुखुम्बुको संस्थापक सदस्यबाट राजनीतिमा लागेका श्रीलाल थापामगर नेपाली कांग्रेसका इमान्दार, निष्ठावान र यूवाहरुको ढुकढुकी बन्न सफल भएका छन् । नेपाली कांग्रेस पार्टी सोलुखुम्बुभित्र यूवाहरुलाई नेतृत्व दिनुपर्छ भन्ने आन्तरिक लडाई लड्दै आउनु भएका थापामगर अन्ततः स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचनमा भाग लिए । उनको पक्षमा मतपरिणाम नआएपनि नेपाली कांग्रेस सोलुखुम्बुका यूवाहरुको साथ र समर्थन राम्रै पाए ।


उनले आफू स्वतन्त्र उम्मेदवार दर्ता गर्नुभन्दा अघि र पार्टीको पराजयपछि पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लिखित रुपमा जानकारी गराएका थिए । लिखित रुपमा पार्टीलाई जानकारी दिँदा समेत उनको जानकारीलाई वेवास्ता गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले कारबाहिको लागि सिफारिस ग¥र्यो ।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुपमा ४८ वर्ष बिताएका मगरलाई अन्ततः पार्टीले कारबाहि ग¥र्यो । उनी कारवाहीबाट विचल्लीत नभई पार्टीभित्र आन्तरिक रुपमा संघर्ष गरिरहे । तर उनी सफल हुन सकेनन् ।
विपीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले विर्सेको भन्दै हरिबोल भट्टराईले नेपाली कांग्रेस (विपी) पार्टीको स्थापना गरे । त्यही नयाँ पार्टीको लागि सोलुखुम्बुमा श्रीलाल थापामगरलाई संयोजकको जिम्मेवारी भट्टराईले दिएका छन् । नेपाली कांग्रेस (विपी) पार्टी सोलुखुम्बुको जिल्ला संयोजक थापामगरलाई मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा तपाईको भूमिका कस्तो रहन्छ भन्ने विषयमा सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको मुख्य अंश ।
नेपाली कांग्रेस (विपी) सोलुखुम्बुको जिल्ला सभापति बन्नु भएको छ, अहिलेको कांग्रेसचाँही तपाईको नजर कस्तो रह्यो ?
अहिलेको कांग्रेस भनेको चाँही विपीको सिद्धान्त र आदर्शको विपरित हैकमवादी, भ्रष्टाचारी व्यापारी, तस्करी नाईके हो । यीनीहरुको हातमा पार्टी गएको छ । यसले कुनै किसिमको राष्ट्रमा आज अभिभावकत्व सम्हाल्न सकेन । यसले राम्रो गरेको भए विपीको सिद्धान्त, मार्गदर्शन अनुसार गएको भए यो राष्ट्र यो गतीमा हुँदैनथ्यो । मुख्य चाँही, वास्तवमा भन्नुहुन्छ भने त अहिले यो राष्ट्रमा, यो दुर्गती आउनुको मुख्य कारण नेपाली कांग्रेस नै हो । नेपाली कांग्रेसले स्वच्छ रुपमा विपीको सिद्धान्त र मार्गदर्शनलाई अबलम्बन गरेर जाने पार्टीलाई समाबेश गरेर लगेको भए हुन्थ्यो । तर आफ्नो, धनी मान्छे, तस्करी मान्छे, भ्रष्टाचारी, हैकमवादी प्रवृत्तिको मान्छेहरुलाई समावेश गरेर यो राष्ट्रको अवस्था यस्तो आएको हो । त्यसैले म वि.सं. २०२६ सालमा सोलुखुम्बुको संस्थापक तरुण दलको सदस्य भएकाले, त्यसैले म आफूलाई एउटा जिम्मेवार कार्यकर्ताको हैसियत ठान्छु । तर अहिले नेपाली कांग्रेसमै रहिरहदखेरी वीपीको मार्गलाई नै चटक्क विर्सिएर आज चाँही यो राष्ट्र अन्य दलहरुले विपीको कुरा नगरीकन निन्द्रै लाग्दैन । तर यही नेपाली कांग्रेसले चाँही विपी नै विर्सिसक्यो ? अनि विपी कोइराला कता हो, कता हो नी ? त्यसैले हाम्रो सोलुखुम्बुको विषयमा पनि मलाई टिकट नदिनुको कारण के थियो त ? भन्दाखेरी त्यो भ्रष्टाचार गर्दैन, देश र समाजलाई समृद्धितर्फ लान्छ, यूवाहरुलाई अगाडि बढाउँछ, विकास निर्माणको बाटो अबलम्बन गर्छ ? श्रीलालथापालाई हरेक रुपमा सोलुखुम्बुका जनताले जाने बुझेका छन् नी ? म कस्तो प्रकृतिको मान्छे हो भनेर ? समाजसेवा, गरिबगुर्व सबैको सेवा गरेर आएको व्यत्तित्व हुँ म । टिकट नदिनुको मुख्य कारण चाँही के थियो भन्दाखेरी आज सोलुखुम्बुमा कांग्रेसमा कसरी डढेलो लाग्यो ? जो भ्रष्टाचारी छ, जो हैकमवादी छ, जो आफूमात्रै कांग्रेस देख्छ, जसले बढी पैसा खर्च गर्छ, पार्टीले उसैलाई टिकट दियो । म २०२६ सालमा नेपाली कांग्रेसको भातृसंगठन तरुण दलमा सक्रिय राजनीति गर्दा बलबहादुर केसी कहाँ थियो ? त्यो सोलुखुम्बुको जनताहरुलाई प्रष्ट थाहा छ । त्यसैले नेपाली कांग्रेस (विपी) पार्टी वैकल्पिक पार्टीको रुपमा खोल्नु परेको हो । यो पार्टीले सोलुखुम्बुमा राम्रो प्रभाव र जनताको साथ पाउँछ ।
आगामी मंसिर १० गते सोलुखुम्बु जिल्लामा प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा कसलाई समर्थन गर्नुहुन्छ ?
अहिले के गर्छ भन्दखेरी, यो हैकमवादी, भ्रष्टाचारी, सामन्त, तस्करी, व्यापारी प्रवृत्ति बोकेको नेपाली कांग्रेसलाई सोलुखुम्बुबाट हराउनु पर्छ । र जुनसुकै प्रवृत्तिको भएपनि बहुदलीय व्यवस्थालाई मान्ने, प्रजातन्त्रलाई मान्ने पार्टीको योङ जेनेरेशनहरुलाई चुनाव जिताउनु पर्छ भन्ने आव्हान गर्दछु ।
नेपाली कांग्रेस (विपी) पार्टीको सोलुखुम्बु संयोजक भएपछि विज्ञप्ती जारी गर्नुभएको छ, सोलुखुम्बुमा विपीको विचार र आस्थालाई आत्मासाथ गर्नेहरुको चाँही के प्रतिक्रिया पाउँनु भएको छ ?
सोलुखुम्बुका धेरै नेपाली कांग्रेसका साथीहरुले मलाई पनि सदस्यता दिनु होला । मलाई पनि समावेश गर्नुहोला भनेका छन् । अहिले चुनावकै मुखमा छौं । र हाम्रो केन्द्रीय सभापति पनि काठमाडौं क्षेत्र नं. १ बाट चुनाव लड्दै हुनुहुन्छ । त्यसले गर्दाखेरी अहिले चुनावको चटारोमा परेको र सोलुखुम्बुबामा चाँही प्रत्यक्ष उम्मेदवारी छैन, तर केन्द्रीय स्तरमा चाँही समानुपातिकमा करुण चुनाव चिन्हमा भोट हाल्न आग्रह गर्दछु । जसले विपीको विचार, सिद्धान्तमा आस्था राख्नु हुन्छ, तपाईहरुले करुवा चिन्हमा समानुपातिक तर्फको मतपत्रमा भोट हाल्नुहोस भनेर फेरी विनम्रताका साथ आग्रह गर्दछु । मंसिर १० र २१ को चुनवपछि तत्कालै संगठनको स्वरुप र जिल्लाहरुबाट कार्यकताहरु भेला गरेर राष्ट्रिय भेला गर्ने र त्यही भेलाबाट उपयुक्त व्यक्तिहरुलाई चयन गर्ने भन्ने निर्णय भएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चारतारे झण्डा र रुख चिन्हलाई छोड्नु पर्दा साह्रै दुःख लागेको छ भनेर भन्नुभएको थियो, नेपाली कांग्रेस (विपी) पार्टीको सोलुखुम्बु संयोजक हुँदा कस्तो महशुस गर्नुभएको छ ?
चारतारे झण्डा त अहिले पनि छँदैछ, यो हाम्रो शीर भो । मलाई एकदमै खुशी र सन्तुष्ट लागेको छ की म फेरी असली कांग्रेसको कार्यकता भएकोमा गर्व लागेको छ । अनि चुनाव चिन्ह चाँही करुवा छ । पहिले शेरबहादुर देउवाले पार्टी फुटाएर लैजादा पाएको चुनाव चिन्ह नै छ । त्यसैले अब असली कांग्रेसहरुले सोच्ने बेला आइसक्यो की विपीको विचार, सिद्धान्त र आस्थालाई जीवित पार्नको लागि नेपाली कांग्रेस (विपी) पार्टीको विकल्प छैन ।
ए भनेपछि तपाई अब आफूलाई असली कांग्रेस भन्नु हुन्छ ?
हामी विपीवादी, विपीको सिद्धान्त र आदर्शलाई आत्मासाथ गरी यो अबको समयमा सम्पूर्ण नेपाली दाजुभाई दीदीबहिनीहरुलाई विपीको आर्दश र सिद्धान्तलाई लैजाने, अन्य सबै किसिमको दलहरुबाट यो राष्ट्रको विकासमा घात गर्ने काम भयो । त्यसैले हामीले सम्पूर्ण देशबासीहरुमा यही अभियानको साथ अगाडि जान्छौं ।
सोलुखुम्बुबाट समानुपातिकमा करुवा चिन्हमा भोट लगाउनु भनेर भन्नुभयो ? प्रत्यक्षमा चाँही कसलाई भोट दिनुस भन्नुहुन्छ ?
सोलुखुम्बुका जनताहरुलाई म के भन्न चाहन्छु भने जित्ने खालका युवा उम्मेदवारहरुलाई भोट दिनुस ताकी छैठौं पटक पनि लगातार रुपमा आफैमात्र टिकट लिएर आउनेलाई होइन ? गएको स्थानीय तहको निर्वाचनमा पनि गाउँमा सेवा गर्ने उद्देश्य लिएर, त्यहाँको यूवा नेताहरुलाई अगाडि बढाउने उद्देश्यले स्वतन्त्रमा उम्मेदवारी हालेको थिए । र जिल्लाबाट विविध किसिमको दलहरु छन्, कोही गठबन्धन पनि गरेका छन् । कोहीले राप्रपासँग गरेका छन् । कोहिले बाम तालमेल भनेर एमाले र माओवादी केन्द्रले गरेका छन् । संघीय समाजवाली फोरमले पनि चुनावी गठबन्धन गरेको छ भने अहिले हामीलाई पनि त्यही नै छ ? हाम्रो त भर्खरै स्थापना भएको नयाँ पार्टी हो । मैले कार्यालय पनि राखेको छैन । म सोलुखुम्बु गएर कार्यालय स्थापना गरिसकेपछि अन्य दलका साथीहरुसँग एकपटक छलफल गरेर, अनि कसलाई सघाउने र कसरी जाने भन्ने कुरा साथीहरुसँग छलफल गरेर सघाउने भन्ने हामी निर्णय गर्नेछौं ।
अहिलेसम्म सोलुखुम्बुका को को उम्मेदवार अथवा पार्टीहरुसँग तपाईको कुराकानी भएको छ ?
मैले हिजोदेखि मात्रै नेपाली कांग्रेस (विपी) सोलुखुम्बुको संयोजकको जिम्मेवारी पाएको छु । जिम्मेवारी पाउने वित्तिकै प्रेस विज्ञप्ती जारी गरेको छु । त्यो भन्दा अगाडि सोलुखुम्बुका बाम गठबन्धनका उम्मेदवार र पार्टीका साथीहरुले तपाईले हामीलाई सघाउनु पर्छ, ठाउँठाउँमा गएर चुनावी सभालाई सम्बोधन गर्नुपर्छ भनेर भन्नु भएको थियो । बाम गठबन्धन मात्र होइन संघीय समाजवादी पार्टीले समेत मलाई भनेका छन् । भूपाल किराती राप्रपाको समानुपातिकबाट उम्मेदवार भएकाले राप्रपलाई पनि समानुपातिकमा भोट दिनुस भनेर भन्नु भएको थियो । तर अहिले हाम्रै पाटीलाई समानुपातिकमा भोट दिनु पर्ने अवस्था आएपछि जिल्लाको समानुपातिक तर्फको च्याप्टर नै क्लोज भएको छ । तर प्रत्यक्षमा भने जित्ने यूवा नेताहरुको पक्षमा जनमत र मत दिन हामी लागि पर्नेछौं ।
सोलुखुम्बुमा नेपाली कांग्रेस (विपी) पार्टीको प्रभाव कस्तो होला ?
सोलुखुम्बुमा जसले जे भने पनि नेपाली कांग्रेसको गैह्री खेत नै हो । हामीले नेपाली कांग्रेसलाई नै सँधैभरी जिताई रह्यौं । र नेपाली कांग्रेसले नै नेतृत्व गरेको छ । तर यहाँ के ग¥र्यो भने एउटा भ्रष्टाचारी प्रवृत्तिको कित्ता, सामन्तको एक कित्ता भएर नेपाली कांग्रेसमा कहिल्यै नमिल्ने, बाउको नीजि सम्पत्ती जस्तो गरेर पार्टीलाई परिचालन गर्ने, जनतसँग प्रत्यक्ष सरोकार र कार्यकर्ता पनि नराख्ने, आफू जित्ने, जितिसकेपछि चाँही आफ्नो हैकमवाद प्रवृत्तिको शासन व्यवस्था गर्न खोज्ने, जसले गर्दाखेरी कांग्रेसहरुमा चाँही विचलन आयो ? स्थानीय तहको निर्वाचनको परिणामले पनि त थाहा पाइहाल्नु भयो नी ? कस्तो प्रकृतिको नेतृत्व छ ? यी त नेतृत्व असफल भैसकेको नेतृत्व हो नी ? सोलुखुम्बुमा एउटा आधारशीला नै नरहने गरेर कांग्रेसलाई पराजित गरेका हुन् । एउटा मेयर नगरपालिकाले जित्यो, त्यो पनि प्राविधिक कारणले जितेको हो । त्यस्तो प्रवृत्ति कांग्रेसमा भएको हुनाले अब यो कांग्रेसमा हामीहरु जुन कांग्रेसमा प्रजातन्त्रलाई अबलम्बन गर्ने व्यक्तिहरुले यो कांग्रेसमा रहिरहनु पर्ने आवश्यकत नभएको कारणले केन्द्रमा नयाँ पार्टी नेपाली कांग्रेस (विपी) पार्टी दर्ता भएको हो ।
एक समय गणेषमान सिंको लट्ठी भनेर भनिन्थ्यो हरिबोल भट्टराई जसले पञ्चायतकालमा पनि काठमाडौंको मेयरमा विजयी हासिल गर्नुभएको थियो । उहाँको नेतृत्वमा अहिले पार्टी गठन भएको छ । यो पार्टीलाई आगामी निर्वाचनपछि विपीको आदर्श, विचार र सिद्धान्तको कुराहरुलाई लिएर नेपालको सबै जिल्लाहरुमा संगठन गरेर आगामी ५ वर्षभित्र बहुमत ल्याउने पार्टीको रुपमा स्थापना गर्न हामी लाग्ने केन्द्रीय योजना छ । हामी त्यही अनुसार लाग्ने छौं । र मंसिर १० र २१ को निर्वाचनमा कुनै हालतमा कांग्रेससँग सम्झौता र गठबन्धन हुँदैन ।

सोलुखुम्बुमा आगामी मंसिर १० गते हुने निर्वाचनको लागि सक्षम उम्मेदवार को देख्नु भएको छ ?
मंसिर १० गते हुने निर्वाचनको लागि मैले योग्य देखेको उम्मेदवार भनेको बाम गठबन्धनको हेमकुमार राई ‘सुरवीर’ हो । किन भने यूवा नेता, इमान्दार, सामुदायिक हिसाबले सबैभन्दा बढी जनसंख्या भएको राईहरुको तर्फबाट उम्मेदवार बनेको, लोभलाल्चामा नफस्ने, भ्रष्टाचार नगर्ने नेताको रुपमा सुरवीर नै हो । राजनीतिमा जातियताको कुरा त गर्न नहुने, तर भूपाल किराती र गोपाल किराती पनि सोलुखुम्बुबाट माननीय भएका थिएनी त ? खै उनीहरुले कहि कतै भ्रष्टाचार गरेको सुन्नु भएको छ ? भूपाल किरातीले जग्गा वितरण गरे, उच्च आयोगको अध्यक्षसम्म भए । एक धुर पनि जग्गा छैन होला त्यो क्षेत्रमा । गोपाल किराती पनि माओवादीबाट भए । अहिले पनि उहाँ सुकुम्बासी क्षेत्रमा नै बास बस्छन् की क्या हो ? भनेपछि किराती द्धयलाई उपलब्धीमूलक काम केहि पनि गर्न नसकेको आरोप लगाएको भए पनि नबिगार्ने, भ्रष्टाचार नगर्ने नेताको रुपमा त उहाँहरुलाई देखिन्छ नी होइन र ? त्यसैले युवा नेताको रुपमा स्थापित हुँदै गरेको सुरवीर राई । गठ बन्धनको रुपमा केन्द्रले पनि त्यत्रो पुरानो वामपन्थी कहलिएका एमाले पार्टीले पनि संयुक्त रुपमा साझा उम्मेदवार बनाएको छ । त्यस्तो यूवा नेतालाई जिम्मेवारी दियो भने पक्कै पनि सोलुखुम्बुमा विकास निर्माण र भ्रष्टाचारको अन्त्य र यूवाहरुलाई देश, राष्ट्रप्रतिको उत्तरदायित्व सम्झीने किसिमको काम गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । त्यसैले अहिलेको सबैभन्दा उत्तम नेता र उम्मेदवार सुरवीर नै हो । उसैलाई जिताउनुस भन्छु ।

Sagarmatha

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार  ९ : २० बजे