काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक, गायिकाहरु यो पेशाबाट पलायन हुने क्रम दिनप्रतिदिन बढ्दो छ । र यो क्षेत्रमा आउने युवापुस्ताका नव गायक, गायिकाहरुको लर्को पनि उत्तिकै छ । सञ्चार र प्रविधिले पछिल्लो समयमा पहिलेका गायक, गायिकाहरुलाई धेरथोर असर पारेको नै छ । सञ्चार र प्रविधिमैत्री हुन नसक्नु उनीहरुको कमजोरी देखिएको छ । त्यही कारणले गर्दा कतिपय स्थापित कलाकार, गायक, गायिकाहरु पेशा परिवर्तन गरेर अन्य पेशामा जीविकोपार्जन गरिरहेका छन् । तर वि.सं. २०५९ सालबाट औपचारिक रुपमा नेपाली सांगीतिक आकाशमा होमिएका बलबहादुर बाहिङ अझैसम्म निरन्तर रुपमा यही क्षेत्रमा रमाईरहेका छन् । समय समयमा गीति एल्बम बजारमा ल्याइरहेका छन् । नयाँ गीत रेकर्डिङ गरिरहेका छन् । अहिलेका सञ्चार, प्रविधि र सामाजिक सञ्जालमा आफ्नो पेशाको भरपुर विज्ञापन जस्तै लेखिरहेका छन् ।
उनी मात्र होइन उनको सपरिवार यही पेशामा छन् । उनको श्रीमती, छोरी र छोराले पनि नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गरिसकेका छन् । पछिल्लो समयमा युट्युबमा अपलोड गरिएको गीत लाखौं दर्शकले हेरिसकेका छन् । आशा र धैर्यता कहिल्यै मानेनन् बलबहादुर बाहिङले । उनी निरन्तर रुपमा आफ्नो सांगीतिक क्षेत्रमा लागिरहे । सँगसँगै आफ्ना परिवारका सदस्यहरुलाई पनि । उनको भर्खरै बाहिङ भाषाको गीति एल्बम ‘एमा’ (आमा) बजारमा आएको छ । बाहिङ भाषा र सँस्कृतिलाई सदासदाका लागि बचाइ राख्नु पर्छ भन्ने मान्यताका साथ उनले यो भाषिक गीति एल्बम निकोलेको बताए ।
उनले जीवनभोगाइको क्रममा के के गरे ? कसरी नेपाली सांगीतिक क्षेत्रमा उनी उदाए ? परिवारको सबै सदस्यको यत्ति मिठो स्वरको लागि कसरी रियाज गर्छन ? गायक, संगीतकार, रचनाकार बलबहादुर बाहिङकै शब्दमा ।
मेरो जन्म, बाल्यकाल र शिक्षा :
वि.सं. २०३६ साल फागुन महिनाको १५ गते ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा ५ चुप्लु गाउँमा मेरो जन्म भएको हो । सामान्य किसान परिवारमा काइलो छोराको रुपमा म जन्मिए । मेरो बाबुको नाम सोमबहादुर बाहिङ र आमाको अगमसरी बाहिङ हो । बाल्यकाल चुप्लु गाउँमै बित्यो । प्रारम्भिक शिक्षा गाउँकै चुप्लु विद्यालयबाट शुरु गरेको थिए । मैले चुप्लुमा कक्षा ४ सम्म अध्ययन गरे । कक्षा ५ भने सदरमुकामको बालमन्दिरमा पढे । कक्षा ६ देखि ८ सम्म जनता माध्यमिक विद्यालयमा अध्ययन गरे । त्यसपछि कक्षा ९ र १० कक्षा हुँदै एस एलसीसम्म रुम्जाटार माध्यमिक विद्यालयबाट द्धितीय श्रेणीमा उत्तिर्ण गरे । वि. सं. २०५२ सालमा एसएलसी उत्तिर्ण गरे ।
एसएलसी परीक्षा सकिए लगत्तै म काठमाडौं आए । माघ २१ गते एसएलसी परीक्षा सकिएको थियो । २०५२ साल फागुन ३ गते काठमाडौं आए । घरबाट काठमाडौं आउँदा उनको गोजीमा ४ सय रुपैयाँ थियो । काठमाडौं आएपछि म कामको खोजीमा भौतारिए । केहि समयपछि मैले रेष्टुरेण्टमा भाँडा माझ्ने काम पाए । त्यसबेला महिनाको ३ सय रुपैया तलब थियो । मैले ५ महिनासम्म सोही तलबमा काम गरे । त्यसपछि एसएलसीको नतिजा आयो । म द्धितीय श्रेणीमा पास भएछु । अनि म फेरी गाउँ फर्किए । एसएलसी पास गरेको वर्षनै रुम्जाटार माविमा प्लस टूको पढाइ हुन थालेपछि म त्यही भर्ना भए ।
काठमाडौं प्रवेश, जागिर र उच्च शिक्षा अध्ययन :
गाउँभन्दा शहरमै रमझम बढी भएकाले मलाई फेरी शहरले नै तान्यो । अनि म फेरी काठमाडौं आए । दशैँ तिहार सकिने बित्तिकै म काठमाडौं आए । त्यसबेला काठमाडौं आउँदा ५ सय रुपैयाँ, एसएलसीको मार्कसिट, सर्टिफिकेट र नेपाली नागरिकताको प्रमाण पत्र लिएर आएको थिए ।
काठमाडौं आएपछि एकजना गाउँले दाइकोमा १५÷१६ दिनसम्म बसे । अर्को एकजना गुरुङ दाई हुनुहुन्थ्यो मेरो गाउँको । उनी पस्मिना शिल्कमा काम गर्नुहुन्थ्यो । त्यो दाईलाई मैले भनेको थिए दाई मलाई काम मिलाई दिनुस न ? दाईले भन्नुभयो, काम त छ तर तिमीले गर्न सक्छौ की सक्दैनौं ? भन्नु भयो, मैले भने म जस्तोसुकै काम पनि गर्न सक्छु । दिनको ८ घण्टा काम गर्नु पर्छ ? दिनको ३३ रुपैयाँ पाइन्छ, भन्नुभयो । त्यसपछि म पस्मिना शिल्क कारखानामा काम गर्न थाले । काम चाँहि दिनभरी कपडा धुनु पर्थो । काममा गएको दिन ३३ रुपैयाँ पाइने । काममा नगएको दिन पैसा पनि नपाइने । शनिबार र सरकारी बिदामा कम्पनी पनि बन्द हुन्थ्यो ।
महिनामा बल्लतल्ल धेरै पैसा आयो भने ८ सय ५० रुपैया आउथ्यो । तर औसतमा ६ सयदेखि ७ सयसम्म तलब आउँथ्यो । त्यो तलबले खान, लाउन र कोठमा भाडा तिर्नु पनि धौधौ हुन्थ्यो । पछि बढ्ला नी भनेर काम चाँही निरन्तर रुपमा गरिरहे । पछि ५ महिनापछि तलब बढेर दिनको ५० रुपैयाँ पुग्यो । त्यो सयमा केहि राहत भयो । फेरी ३ महिनापछि बढेर ६३ रुपैयाँ पुग्यो ।
१० महिना काम गरीसकेपछि कारखानाको नियम अनुसार स्थायी हुने प्रावधान थियो । त्यसपछि म पनि स्थायी कर्मचारी भए । स्थायी भएपछि १ हजार रुपैया बेसिक तलब पाउँथ्यो । प्लस अन्य केहि सेवा सुविधाहरु सहित महिनामा १६ सय रुपैयाँ तलब हुन्थ्यो । पछि एक वर्षपछि बढेर २५ सय रुपैया पुग्यो । वर्षैपिच्छे तलब बढ्दै गयो । पछि १० हजार रुपैयासम्म तलब पाउन थाले । केहि वर्षपछि १६ हजार रुपैया तलब पाउन थाले । जुनबेला विदेश जाने नेपाली युवाहरुले ८ हजार रुपैया नेपाली पैसा पाउँथे ।
जागिरसँग सँगै म सरस्वती बहुमुखि क्याम्पस लैनचौरमा कलेज पढ्न थाले । विहान र दिउसो जागिर जान्थे । बेलुकी क्याम्पस पढ्न जान्थे । सोलुखुम्बु जुबुको एक जना साथी थियो । हामी सँगै काम गर्ने र सँगै क्याम्पु पढ्न जाने गर्थिउ । पछि त्यो साथीसँगै कोठा लिएर बसुन्धारामा बस्न थालिउ । जुनबेला ६ सय रुपैयाँ कोठाभाडा थियो । एकवर्ष पछि साथी अर्कै ठाउँमा कोठा सर्ने भयो, उसकै आफन्तसँग । म चाँही डाँडागाउँ भन्ने ठाउँमा कोठा सरे । नयाँ बसपार्कबाट आधाघण्टामा हिडेर पुगिन्थ्यो । ३ सय रुपैया कोठा भाडा थियो । जुन घर माटो र ईटाले बनेको थियो, कहि सिमेन्टी प्लास्टर गरिएको थिएन । त्यो ठाउँमा कसैले सिमेन्टेट घर बनाएका थिएनन् । म बसेको घरको कोठा हरेका शनिबार माटोले लिप्नु पथ्र्यो, मैले त्यो कोठामा बसुञ्जेल प्रत्येक शनिबार माटोले कोठा लिपे ।
त्यो सानो घरमा बिजुली त थियो तर रेडियो बजाउने प्लग पनि मेरो कोठामा थिएन । घरबेटीलाई रेडियो बजाउने प्लग राखिदिनुस न भन्दाखेरी खै यतातिर त मित्रि पाइदैन भनेर टार्थे । कोठामा बाहिरबाट वाइरिङ गरिएको थियो । जुनबेला मलाई रेडियो बिना एकदमै एक्लो महशुस हुने गथ्र्यो । त्यसमाथि पनि एक्लै बसेको मान्छे । एक घरबाट अर्कोघरसम्म पुग्न कम्तीमा पनि १० मिनेट लाग्थ्यो ।
मेरो तलब आएपछि म रत्नपार्क गएर २ सय ५० रुपैयाको क्यासेट प्लेयर र रेडियो पनि बज्ने किनेर ल्याए । घरमा सबै सुतेको समयपारी बेलुकी ८ बजेपछि बिजुलीको तारलाई चक्कुले काटेर टुपिन जोड्न थाले । चक्कुले काट्दा एउटा तार त मज्जाले काटे तर अर्को तार काट्ने बेलामा तारलाई छुने बित्तिकै मलाई करेण्ट लाग्यो । म भुइँमा पछारिएछु । म बेहोस भएछु । आधा रातमा ब्यूझिदा त करेण्ट लागेको हातमा निलै डाम थियो । रिङ्गटा लागिरहेको थियो । ८ बजे बेहोस भएको म होस खुल्दा विहानको १ बजेको थियो । त्यत्तिखेर बिजुली गएको थियो, सायद एमसीबी झरेको थियो होला । जुन बेला रिङ्गटा चल्दाचल्दै भएपनि मैले टुपिन जोड्न सफल भए । भोलीपल्टबाट रेडियो बजाएरै छोडे ।
एक्लै बस्न थालेपछि मैले अरु काम पनि गर्नुपर्छ भन्ने लाग्यो । काठमाडौं टुडे भन्ने पत्रिका बेच्न थाले । पत्रिका २ रुपैयाँमा बेच्नु पथ्र्यो । जसमा मलाई एक मोहोर आउथ्यो । पत्रिका साँझमा निकन्थ्यो । एक दिन क्याम्पस जाने अर्कोदिन पत्रिका बेच्ने पाटटाइम काम गरे २ महिनासम्म । त्यसपछि पढाई ह्याम्पर हुन थाल्यो । त्यसपछि पत्रिका बेच्ने काम पनि छोडेर पढाइतिर लागे ।
मैले काम गरिरहेको पस्मिना कारखानामा राम्रो व्यवस्थापन नहुँदा विदेशबाट अर्डर आउन छाड्यो । केहि महिना अगाडि पठाएको सम्पूर्ण सामान फिर्ता आयो । जुनबेला मेरो तलब एकैचोटी १६ हजार रुपैयाँबाट २५ सयमा झ¥र्यो । जुनबेला मैले १५ सय रुपैयाँ कोठा भाडा तिर्थे । जुनबेलासम्म मैले केहि पैसा जम्मा गरेको थिए । तलब कम आउन थालेपछि विहान पकाएको भात बेलुकी पनि त्यही खाने गर्थे । एउटा अण्डा पनि विहान र बेलुकी गरी आधाआधा खान्थे । त्यत्तिबेला धेरै दुःख थियो । तर अहिले त कत्ति धेरै सुख छ, नयाँ पुस्तालाई ।
जागिरबाट अवकाश, म.म. पसलको शुरुवात :
अब यसरी जागिर खाएर मात्र केहि हुँदैन अब आफैले केहि गर्नु पर्छ भनेर सोच्न थाले । पहिला रेष्टुरेण्टमा ५ महिनासम्म भाँडा माझेको र मम, चाउमिन, थुक्पा बनाउने सीप पनि सिकेको थिए । त्यो काम गरेको रेष्टुरेण्टमा कुकहरुले जे जे पकाउथे त्यो सबै परिकार मैले सिकेको थिए । त्यसपछि मैले जागिर छोडे । म घर गए । १ महिना घरमा बसे । त्यसपछि फेरी काठमाडौं आए केहि गर्ने जाँगर र सोच लिएर ।
काठमाडौं आएपछि गाउँको मामासँग मिलेर शेयरमा कालोपुलमा ८४ हजार रुपैयाँमा म.म. पसल किन्यौं । वि.सं. २०५६ साल जेठ २ गतेबाट म.म. पसल शुरु ग¥र्यौं । १० महिनापछि मामाले मलाई रेष्टुरेण्ट जिम्मा लगाएर कुखुरा पालनतर्फ लाग्नु भयो ।
गीत संगीतमा यसरी जोडिए :
गीत संगीतप्रति मेरो सानै उमेरदेखि झुकाव थियो । पानी लिन पधेरोमा जादा होस, या मेलापात, अर्मपर्म र गोठालो जादा पनि गीत गुनगुनाउथे । त्यसरी गुनगुनाउदा गुनगुनाउँदै गीत संगीतप्रति मोह अझ धेरै बढ्दै गयो । असार साउनको मेलापातदेखि तिहारको देउसी भैलो खेल्दा समेत गीत गाउँदै नाच्न थालेपछि झन बढी गीत संगीतसँग सामिप्यता बढेको थियो ।
मैले संगीतको तिर्खा मेट्न नुच्छेबहादु ढंगोल, भिमप्रताप सुनुवार, कैलाश राई, प्रकाश गुरुङ, गोपाल रसाईली, राकेश राई, निराश मगरसँग क्लासिकल म्यूजिक, भोकल, क्यूबोर्ड सिके । अझै पनि म निरन्तर रुपमा संगीत विद्यालयमा विभिन्न किसिमका गीत संगीत सम्बन्धी सीप सिकिरहेको छु ।
विवाह, पारिवारिक संगीत मोह र वैदेशिक रोजगारी :
वि.सं. २०६० सालमा मेरो विवाह भएको थियो । विवाह पश्चात पनि झन गीत संगीतमा म सहित परिवारनै लागिउ । मेरी श्रीमती करुणा बाहिङले पनि सानै उमेरदेखि गीत संगीतप्रति झुकाव राखेका थिए । र सँगै गुनगुनाउँदै आएका थिए । रेडियो साथमै राखेर गीत सुन्न थालेपछि गीत संगीतप्रति अझ बढि झुकाव उनको बढेको थियो ।
विवाह अगाडिनै मैले हारमोनियम किनेको थिए । विहान विहान मैले रियाज गर्दा उनले पनि मसँगै आएर साथ दिन्थिन् । अरुको गीतलाई उही लयमा गाउन सक्ने क्षमता उनीमा छ । मेरी श्रीमतीले आरआर क्याम्पसमा संगीत विषयमा प्लसटूसम्म अध्ययन गरेका छन् ।
विवाह गरेको केहि वर्षपछि छोरीको जन्म भयो । त्यसको दुई वर्षमै छोरा पनि जन्मियो । मलाई आर्थिक समस्याले पिरोल्न थाल्यो । त्यसपछि म वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब गए । साढे दुई वर्षसम्म काम गरिसकेपछि मेरो विचारमा एउटा तरंग उत्पन्न भयो र मैले सोचे पैसाले मात्र पुग्ने होइन, बरु आफ्नै देश फर्किएर पुरानै म.म. पसललाई निरन्तरता दिँदै गीत संगीतमै लाग्छु भनेर म नेपाल फर्किए ।
छोरी सोनिया बाहिङ साँढे २ वर्षको उमेरदेखिनै टेलिभिजन हेर्दै नाँच्दथिन् । छोरीको गीत संगीतप्रतिको मोह कहिल्यै सेलाएन । ५ वर्षको उमेरमा छोरीले नाँच सिक्ने इच्छा व्यक्त गरेपछि मैले छोरीलाई कल्चर संगीत विद्यालयमा भर्ना गरिदिए । केहि वर्षपछि छोराले पनि गीत गाउने इच्छा देखाएपछि छोरालाई पनि कल्चर संगीत विद्यालयमै भर्ना गरिदिए । म पनि त्यही कल्चर संगीत विद्यालयमा गीत संगीत सिकिरहेको छु । र अझै पनि हामी परिवारका सबै सदस्यहरु विभिन्न संगीत विद्यालयमा अध्ययन गरिरहेका छौं ।
गीति एल्बम र गीत :
मेरो पहिलो गीत वि. सं. २०५९ सालमा ‘ए पामाईला’ भन्ने बाहिङ भाषाको गीत रेकर्ड भएको थियो । मेरो पहिलो गीत पृथ्वी जयन्तीको अवसरमा रेडियो नेपालमा फुलबारी कार्यक्रमको लागि रेकर्ड गरिएको थियो । मैले सोही कार्यक्रममा बाहिङ भाषाको ‘ए पामाईला’ भन्ने बोलको गीत गाएको थिए ।
मैले २०६० सालमा ‘ए सान्नानी’ एल्बम निकाले । त्यो एल्बममा दुई वटा दोहोरी गीत समावेश गरेको छु । जसमा सिन्धु मल्ल, घमेश दुलाल, करुणा बाहिङ र मेरो आवाज रहेको छ । एक वर्ष पछि २०६१ सालमा रुम्जाटारको कल्यान राईले ‘हजुर पानफुल’ एल्बममा गाउने अवसर दिनु भयो । २०६४ सालमा ‘पारी हाल्यो’ बोलको गीत गाए । ‘छाडेर गयो मेरो मायालु’ बोलको गीत मेरी श्रीमतीको शब्दमा मेरो संगीत र स्वरमा गाए । ‘बल्छी’, ‘ए सोल्टीनी’, ‘हामी हजुर गाम्ले परिम’, ‘हिमालचुली’, ‘मोलुङखोला’, ‘पूर्व रुम्जाटार’ भन्ने बोलको गीत गाइसकेको छु । अनि मेरो छोराछोरीले चाँही ‘ठूली दिदी, सानो भाई’ भन्ने बोलको गीत गाएका छन् ।
मेरो बाहिङ भाषाको ‘एमा’ एल्बम भर्खरै बजारमा आएको छ । जसमा ६ वटा बाहिङ गीत राखिएको छ । बाहिङ भाषालाई बचाउनको लागि नै भएपनि लाखौं लगानी गरेर बाहिङ भाषाको एल्बम निकालेको छु । यो मेरो बाहिङ समुदायप्रतिको समर्पण हो ।
अब हामी श्रीमान र श्रीमती यही संगीत क्षेत्रमा नै नमरुञ्जेल लारिहने छौं, तर बच्चाहरुको लागि भने अहिले केहि भन्न सकिन्न । बच्चाहरुको लागि पहिलो प्राथमिकता भनेको गीत संगीत भन्दा पनि पढाई हो । मैले गाएका विभिन्न गीतहरुको भिडियो युट्युबमा पनि राखेको छु । साभार : चाम्फुरी मासिक ।
गायक बलबहादुर बाहिङ परिवारको सदस्यले गाएको गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।







