२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

एमाले फोरम वार्ता सहमतिनजिक

सहमतिपत्रमा हस्ताक्षर भएलगत्तै फोरम सरकारमा सहभागी हुने


१५ फाल्गुन २०७४, मंगलबार  

35
Shares

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भएको छ । सत्तारुढ एमालेसँगको वार्ता सहमतिनजिक पुगेसँगै फोरम सरकारमा सहभागी हुने निश्चित भएको हो ।

वार्तामा सहभागी एमालेका एक नेताका अनुसार फोरमले संविधान संशोधनलाई ‘फेस सेभ’का लागि अडान यथावत् राखेको छ । ‘संविधानमा बीचको बाटो खोल्ने सहमति भएको छ,’ ती नेताले भने, ‘दुवै नेताहरु (प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल) सकारात्मक छन् ।’
तीन विषयमा सहमतिको तयारी गरिएपनि अन्तिम रुप दिइएको छैन । ‘यस अघि भएका छलफल र सहमतिका विषयहरु यथावत् छन्,’ वार्तामा सहभागी संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘आज धेरै प्रगति हुन सकेन ।’ उनले छलफललाई चाँडै टुंग्याउने सहमति भएको बताए ।
फोरमले संविधान संशोधनसँगै परराष्ट्रसहित तीन मन्त्रालय माग गरेको छ । एमालेले भने परराष्ट्रसहित दुई मन्त्री दिने वचन दिएको छ । पछि एमाले र माओवादी केन्द्रले सम्हालेका मन्त्रालयमा राज्यमन्त्री राख्दा दुवै मन्त्रालयमा फोरमले राज्यमन्त्री राख्ने छुट पाउनेछ ।
फोरम अध्यक्ष उपेन्द्र यादव सोमबार नै सरकारमा सहभागी हुन तयार भए पनि एमाले र माओवादीबीचको आन्तरिक मन्त्री चयन लम्बिंदा रोकिएको थियो । उनले सोमबार प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहालसँग भेट गरेका थिए । भेटपछि यादवले भने, ‘छलफलमै छौं, सहमतितिर कुरा अघि बढेको छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार  २ : ०४ बजे