२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

खुम्बुमा आन्तरिक पर्यटक तान्न सर्वाधिक राशीको भलिवल प्रतियोगिता

आन्तरिक पर्यटकलाई खुम्बुमा प्रथामिकता



ओखलढुंगा– विश्वको सर्वोच्च शिखर सगरमाथा दिवसको अवसरमा हिमाली जिल्ला सोलुखुम्बुमा सर्वाधिक राशिको भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ । खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढवा दिन सोलुखुम्बुको खुम्बु–पासाङल्हमु गाउँपालिका स्थित नाम्चेमा नेपालकै हालसम्मको सर्वाधिक राशिको भलिबल प्रतियोगिता अयोजना गर्न लागिएको हो ।
सगरमाथा दिवस अर्थात् मे २९ का दिन नाम्चे बजारमा वृहद खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको नाम्चे युवा समूहका खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार स्वदेशी पर्यटक भित्र्याउने उद्देश्यले खेल आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख १ सय १ रुपैयाँका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्वितिय र तृतीय हुने टिमले क्रमशः नगद ३ लाख १ सय १ रुपियाँ र १ लाख १ सय १ रुपैयाँका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीका लागि नगद ५० हजार १ सय १ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यो पुरस्कार राशि नेपालमा अहिले सम्मकै सबैभन्दा ठूलो राशि भएको आयोजकको दावी छ ।
अक्सर बिदेशी पर्यटक मात्रै पुग्ने खुम्बुमा स्वदेशी पर्यटक पनि भित्र्याउने खेलको मुख्य लक्ष्य हो । ‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाऔँ’ भन्ने मूल नाराका साथ नेपालकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक नाम्चे यूवा समूहले जनाएको छ ।
खेलमा सहभागी हुन १० हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ भने १२ खेलाडी सहित व्यवस्थापक, प्रशिक्षक र सहायक प्रशिक्षक गरी १६ जना सहभागी हुन पाउने व्यवस्था गरिएको शेर्पाले जानकारी दिनुभयो । खुला प्रतियोगिता भएकाले ख्यातीप्राप्त जुनसुकै क्लब आउन सक्ने तर स्थानीय खेलाडी पनि हुने भएकाले राष्ट्रिय खेलाडी एक टिममा दुई जनासम्म मात्र खेलाउन पाउने नियम बनाइएको आयोजकले जनाएको छ ।
आन्तरिक पर्यटकलाई खुम्बुमा प्रथामिकता
सगरमाथाको फेदिमा अवस्थित खुम्बु क्षेत्रमा वार्षिक ३५ हजारको संख्यामा बिदेशी पर्यटक पुगे पनि नेपालीहरू खुम्बु जान नसकेको भन्दै आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिनुपर्ने आयोजकको जोड छ । खुम्बुमा आन्तरिक पर्यटकलाई योग्य व्यवहार गरिदैँन भन्ने गलत हल्ला चिर्न पनि कार्यक्रम गरिएको खेल संयोजक शेर्पाको भनाइ छ । खुम्बुको पर्यटन विदेशी भन्दा स्वदेशी पर्यटकमार्फत प्रबद्र्धन गर्न सकिने निष्कर्ष आफूहरूको रहेको नाम्चेका अगुवा सोनाम ग्याल्जेन शेर्पाले बताए ।
यसअघि पनि नाम्चे युवा समूहले फुटसल प्रतियोगिता गरेको थियो । त्यस समय पनि सयौँ आन्तरिक पर्यटक भित्र्याउन सकेको भन्दै यस पटकको वृहत कार्यक्रमले पाँच हजार बढी आन्तरिक पर्यटक खुम्बु आउने अपेक्षा गरिएको छ । खुम्बुका अधिकांश पर्यटकीय गाउँहरूमा आतिथ्य सत्कारका लागि आवश्यक होटल तथा लजहरू निर्माण भइसकेकाले अब जति पर्यटक आएपनि सेवा दिन सकिने व्यवस्थापक समुहले जनाएको छ । केही वर्ष पहिले पनि नाम्चेका बासिन्दाले आन्तरिक पर्यटन प्रबद्र्धन गर्न भन्दै नाम्चे महोत्सव आयोजना गरेका थिए । तर त्यस निरन्तरता पाएको छैन ।
राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारबाट सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । सांस्कृतिक कार्यक्रममा लोक गायक बद्रि पंगेनी, इण्डियन आइडल प्रशान्त तामाङ, पप गायक अभिनाश घिसिङ लगायतको प्रस्तुती राखेर आन्तरिक पर्यटक तान्ने योजनामा आयोजक लागेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला राखेको दिनको अवसरमा हरेक वर्ष मे २९ मा विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार  १० : १० बजे