६ असार २०८३, शनिबार | Sun Jun 21 2026

ठमेल पर्यटन परिषद्को विवाद चुलियो



काठमाडौँ, ३१ भदौं । व्यक्ति विशेषको पदावधि लम्बाउने गरी विधान संशोधन प्रक्रिया अघि बढेको भन्दै ठमेल पर्यटन विकास परिषद्मा विवाद चुलिएको छ ।

वर्तमान अध्यक्ष रामशरण थपलियाले आफ्नो पदावधि लम्ब्याउने गरी विधान संशोधन गर्न परिषद्का महासचिवलाई विधान संशोधन संयोजक बनाई मस्यौदा अघि बढाएको भन्दै त्यस विरुद्ध सदस्य खनिएका हुन् ।

परिषद्का सदस्य तथा घरधनीले संयुक्त पत्रकार सम्मेलन गरी परिषद्लाई व्यक्तिमुखी नभई विकासमुखी संस्थाको रुपमा अघि बढाउन अभियान थालिएको बताए ।

परिषद्को विधान अनुसार प्रत्येक व्यक्ति दुई कार्यकालसम्म अध्यक्ष हुन पाउने र एक कार्यकाल दुई वर्षको हुने व्यवस्था छ । तर हालका अध्यक्ष थपलियाले आफ्नो कार्यकाल छ महिना बाँकी हुँदा परिषद्मा छलफलै नगरी विधान संशोधन अघि बढाएको व्यवसायीको आरोप छ । उनीहरुले पाँचवटा बुँदा किटेर संशोधन नगर्न चेतावनी दिँदै हस्ताक्षर अभियान र अन्तक्र्रिया गर्दै आएका छन् ।

पाँच बँुदामा २३ औँ वार्षिक साधारणसभा विधान अनुसार आगामी चैत १५ गतेभित्र अनिवार्य गर्नुपर्ने, सदस्यता शुल्क नवीकरण, दुई पटकको कार्यकाल भन्दा अध्यक्ष पुनः सोही पदका लागि उम्मेदवार हुन नपाउने आदि छन् ।
परिषद्का पूर्व कार्यसमिति सदस्य तथा व्यवसायी भवि शर्माले परिषद्लाई व्यक्तिवादी चरित्रको नभई ‘हाम्रो ठमेल राम्रो ठमेल’ बनाउने अभियानमा आफूहरु लागिपरेको बताउनुभयो ।

Sagarmatha

उहाँले प्रस्तुत पाँच बँुदा बाहेक संस्थाको विकासमा हुनेगरी संशोधन भए आपत्ति नहुने उल्लेख गर्नुभयो । परिषद्का वार्षिक साधारण सभा आगामी असोज २ गतेका लागि बोलाइएको परिषद्ले जनाएको छ ।

परिषद् कार्यसमिति बैठकले महासचिव गोविन्द पन्थको संयोजकत्वमा एक विधान संशोधन उपसमिति गठन गरेको थियो ।

विधान मस्यौदा कार्यसमितिले साधरण सभामा लैजानुपर्ने सामान्य प्रक्रियासमेत मिच्दै कार्यसमितिलाई छलेर आफूअनुकुलको विधान पारित गर्न लागेकाले विरोध जनाइएको परिषद्का संस्थापक अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले राससलाई बताउनुभयो ।

उहाँले व्यवसायी सङ्गठित नहुदाँ व्यक्तिवादी नेतृत्वले परिषद्को काम प्रभावकारी हुन नसक्ने उल्लेख गर्नुभयो ।

ठमेल क्षेत्रको वृहत्तर विकास गर्ने उद्देश्यले विसं २०४५ मा स्थापना भएको परिषद्मा हालसम्म छ जना अध्यक्ष चुनिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७३, शुक्रबार  १० : ३२ बजे