म्याग्दी, १ असोज । वर्षायाम सुरु भइसक्दा समेत म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग मर्मत हुन सकेको छैन् । बर्खामा आएको बाढीपहिरोले विभिन्न स्थानमा पदमार्ग, झोलङ्गे पुल र अस्थायी साँघुमा क्षति पु¥याए पनि बजेट अभावले मर्मत गर्न नसकिएको हो ।
भदौको दोस्रो सातादेखि धौलागिरि आधार शिविर क्षेत्रमा पर्यटक आगमन सुरु हुने भए पनि बजेट अभावले अवरुद्ध पदमार्ग सुचारु गराउन नसकिएको मुदीका पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्र र धौलागिरिको चक्रिय भम्रणसँगै हिमाल आरोहणको लागि बाह्य पर्यटक भम्रणमा आउने गरेका छन् ।
पदमार्ग अन्तर्गत दोभानस्थित म्याग्दी खोलामा बनाइएको झोलुङ्गे पुलको लठठा छिनेपछि त्यहाँ वारपारका लागि समस्या देखिएको छ । पदमार्गमै वारपारका लागि बनाइएको पुलको मर्मतका लागि जिल्ला विकास समितिमा आग्रह गरिए पनि सुनुवाइ नभएको तिलिजाले गुनासो गर्नुभयो ।
भदौ अन्तिम साता आएको पर्यटकको एक टोली जोखिमपूर्ण तरिकाले स्थानीयवासीको सहयोगमा आधार शिविर पुगेको बताइएको छ । ‘‘ पर्यटक सिजन सुरु भयो, पुल मर्मत नहुँदा वारपार गर्न समस्या छ, कतिपय ठाउँमा पदमार्ग समेत बाढीपहिरोले बगाएको छ, ती ठाउँमा स्थानीय पर्यटन व्यवसायीकै पहलमा मर्मतको काम सुरु गर्ने तयारी गरेका छौँ, दोभानमा होटल व्यवसाय गरेका बोमबहादुर पुनले भन्नुभयो ।’’
धौलागिरि पदमार्ग अन्तर्गत विशेष गरी इटाली आधार शिविरदेखि स्वीस शिविरसम्मको करिब चार किलोमिटर पदमार्ग निकै जोखिमपूर्ण रहेको छ । यहाँ भिरमा साँघुरो बाटो भएकाले पर्यटक आवतजावत गर्न निकै मुस्किल हुने गर्छ । खच्चड र भरियामार्फत इटली आधार शिविरसम्म पु¥याइने पर्यटकका बस्दोबस्तीका सामान माथि भरिया मार्फत लैजानुपर्ने बाध्यता रहेको छ ।

पदमार्ग हुँदै सामान ढुवानी गर्न कठिनाइ हुने कारणले कतिपय पर्यटकले सामान लैजान पदमार्ग अन्तर्गत ताकमदेखि हेलिकप्टर चार्टर गर्दै आएका छन् । हालै जिल्ला विकास समितिको सहयोगमा धौालागिरि पर्यटन परिषद्को नेतृत्वमा जिल्लाका सरोकारवालाद्वारा त्यस क्षेत्रको स्थलगत अवलोकन भम्रणको क्रममा समेत पर्यटन पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।






