रुपन्देही, २ असोज । यस क्षेत्रको सबैभन्दा पुरानो लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा पर्याप्त औषधि नहुँदा बिरामी मर्कामा परेका छन् ।
आयुर्वेद औषधालयमा आउने बिरामीले सेवा र औषधि निःशुल्क पाउने हँुदा अभाव भएको औषधालय प्रशासनले जनाएको छ । पेट, बाथरोग र महिलाका रोग भएका बिरामीको चापका कारण पर्याप्त औषधि नहँुदा औषधालयमा औषधि अभाव भएको हो ।
पछिल्लो समय बिरामीको चाप बढ्दै जानु तर औषधि पर्याप्त नहुनाले अस्पतालको सेवामा प्रभाव परेको लुम्बिनी अञ्चल आयुर्वेद औषधालयका आयुर्वेद निरीक्षक चेतनाथ आचार्यले बताउनुभयो ।
बेलाबखतमा स्तरवृद्धिको कुरा उठे पनि अहिले औषधालयमा आउने बिरामीलाई सेवासमेत पर्याप्त दिन नसकिएको उहाँको भनाइ छ । अन्यत्र औषधि उपचार गरी थकित भएका बिरामी औषधालयमा आउने गरेको र परीक्षणका क्रममा केही जाँच गर्नुपर्ने भएमा बाहिर पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । रासस






