१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सहिद कुसुम प्रतिष्ठानलाई प्रदेश सरकारबाट ३५ लाख




सोलुखुम्बु । प्रदेश नं. १ कै चर्चित संस्थाको रूपमा रहेको सहिद कुसुम स्मृति प्रतिष्ठानलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम)ले ३५ लाख रुपीयाँ विनियोजन गरेका छन् । प्रदेश नं. १ को मन्त्री स्तरीय निर्णयबाट छुट्याइएको उक्त रकमले सहिद कुसुम स्मृति प्रतिष्ठान नेपालद्वारा निर्माणाधीन ५ सय जना अट्ने क्षमता भएको ‘सहिद स्मृति हल’को निर्माण गरिने प्रतिष्ठानका अध्यक्ष लोकेन्द्रबहादुर राउतले बताए । उक्त रकमबाट कुल रकमको २१ प्रतिशत निर्माण कार्य हुने कुरा पनि अध्यक्ष राउतले बताए ।

‘सहिद स्मृति हल’ सोलुखुम्बु जिल्लाबाट जनयुद्ध, जन आन्दोलन र पञ्चायत विरोधी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात सहिदहरुको श्रद्धा र सम्मानमा सहिद स्मृति बाटिका र स्तम्भ सहित निर्माण हुने अध्यक्ष राउतले बताए । यो निर्माण कार्य सोलुखुम्बु जिल्लाकै ऐतिहासिक महत्वको रूपमा रहेको कुरा नेकपाका युवा नेता सीताराम भट्टराईले बताए । हल निर्माण कार्य सम्पन्न गर्न संघीय सरकारबाट रेडबुकमा उल्लेख गरी थप १० लाख विनियोजन भएको छ ।
‘सहिद स्मृति हल’को जम्मा लागत २ करोड १९ लाख ६ सय ५१ रुपीयाँ रहेको छ । हल निर्माणका लागि पहल गर्न संघीयसभा सदस्य हेमकुमार राई लगायत प्रतिष्ठानको सल्लाहकार समिति तथा बजेट विनियोजन गर्ने मन्त्री आङ्बोप्रति प्रतिष्ठानका अध्यक्ष राउतले आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  २ : ३१ बजे