३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सोलुदुधकुण्ड नगरबासीले पिउने पानीको मुहानमा सेनेटरी प्याड र डाईफरको थुप्रो




सोलुखुम्बु । जिल्लाको एक मात्र नगरापालिका वडा नं. ६ स्थित नगरबासीले पिउने पानीको मुहानमा महिलाहरुले प्रयोग गरेका सेनेटरी प्याड र बच्चाको डाईफरको थुप्रो भेटिएको छ । यसको साथै पोलिथिन, पुरानो कपडा, जुत्ताचपल, वियरको खाली बोतल यत्रतत्र फ्याँकिएको भेटिएको हो । नगरपालिकाको कार्यालय सल्लेरीबाट साँढे २ किलोमिटरको दुरीमा रहेको थातेङ नजिकैको पानीको मुहानमा फोहोरको थुप्रो भेटिएको हो ।
थातेङ नजिकै रहेको पानीको मुहानबाट नयाँबजार, वसन्त बजार लगायतका स्थानीयले पानी पिउने गरेका छन् । स्वच्छ पिउने पानीको व्यवस्थित मुहान नहुँदा स्थानीयहरु दुषित पानी प्रयोग गर्न बाध्य छन् । जिल्ला सदरमुकाममा स्वास्थ्य र सरसफाईको नाममा विभिन्न कार्यक्रम, जनचेतना अभिवृद्धि सञ्चालनको नाममा लाखौं रकम खर्च गरेको बील भर्पाई बुझाए पनि वास्तविक क्षेत्रमा सरसफाई नहुँदा पानीको मुहानमा फोहोरको डंगुर थ्रुप्रिएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाले अन्य क्षेत्रमा केहि सामान्य काम गरेको भएपनि स्वास्थ्य र सरसफाईको क्षेत्रमा भने प्रायः शुन्य नै छ । नयाँबजारको दुई खोल्सामा ट्वाईलेटको ढल सिधै पानीमा मिसाइएको छ । नगरपालिकाको मेयर नाम्गेलजाङबु शेर्पा त्यही बाटो भएर सयौं पटक ओहोरदोहोर गर्दा पनि उनको नजर त्यो ढल र फोहोरको डंगुरमा परेन ? वा देखेर पनि नदेखेझै गरी हिडिरहेका छन् ? त्यो मेयर साबलाई नै थाहा होला ? सोलुखुम्बु जिल्लालाई सन् २०१७ भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनि लिखित सम्झौता गरिएको भए पनि सदरमुकाम मै भएको नगरपालिकाको कार्यालय रहेको वडामा अझै ट्वाईलेटको ढल सिधै पानीमा मिसाइएको छ । त्यहि समस्याले जिल्लाको प्रायः सबै वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा भैसक्दा पनि नगरपालिका भने खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन सकेको छैन ।
सोलुखुम्बु महिला छात्राबासमा बसेर अध्ययन गर्ने विद्यार्थीहरुले शुक्रबार थातेङ नजिकै रहेको पानीको मुहान सफा गरेका छन् । छात्राबासमा आउने पानी सुकेपछि पानीको मुहानतर्फ पाईपलाईन पछ्याउँदै जब विद्यार्थी पानीको मुहानमा पुगे, फोहोरको डंगुरले पानी आउने पाइप पूरै पुरीएको थियो । त्यसपछि विद्यार्थीले पानीको मुहान वरिपरि भएको फोहोरलाई सफा गरेका छन् । हिमला राईको संयोजनमा पानीको मुहान सफा गरिएको हो । राईले पानीको मुहान सफा गरेपछि फेसबुकमा स्टाटस लेख्दै सरोकारवाको ध्यानाकर्ष गराएका छन् ।

सदरमुकामस्थित टोलटोलमा टोल सुधार समिति गठन गरिएको भएपनि ती समिति नाम मात्रैको भएको छ । समय समयमा केहि प्रमुख जिल्ला अधिकारीले सदरमुकाम वरिपरि रहेका खोल्साबाट फाहोर सरसफाई गरेको नजिर भए पनि नियमित रुपमा न स्थानीयले सरसफाई गर्दछन्, न नगरपालिकाले नै । मुख्य बजारको छिटफुट केहि स्थानमा घरेलु फोहोरलाई सफा गरिएको भएपनि अन्य ठाउँमा कसैको आँखा पुगेको छैन ।

तस्वीर सौजन्यः हिमला राई
यो पनि पढ्नुहोस । 

नगरपालिकाको सम्बृद्धिको स्पष्ट खाका मसँग छ : नाम्गेलजाङ्बु शेर्पा

 

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  ५ : ०७ बजे