सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका २ लुक्लाबजारको एउटा होटलमा दुई बालिका मृत अवस्थामा भेटिएका छन् । लुक्लाबजारको एभरेष्ट माउण्टेन होममा घरेलु काम गर्दै आएकी महाकुलुङ गाउँपालिका ३ छेस्कामकी १६ वर्षिया संगना राई र उनकी ९ वर्षिया बहिनी खुशी राईलाई सुतेकै ठाउँमै मृत भेटिएको हो ।

संगनाले ५ वर्षदेखि होटलमा घरेलु काम गर्दै आएका थिए, भने खुशीले लुक्ला आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै आएका थिए । सोमबार राती खाना खाएर सँगै सुतेका राई दिदीबहिनी आज विहान अबेरसम्म नउठेपछि ढोका खोल्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षकको टोली पुगी थप अनुसन्धान गरेको छ । मृतक दिदीबहिनीको लाशलाई पोष्टमार्टनका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको प्रहरीले बताएको छ । घटना हुनुको कारण प्रहरीले अनुसन्धान गरिरहेको पनि बताइएको छ ।
मृतक दिदीबहिनी यस्तो अवस्थामा थिए !
सोमबार राती खाना खाईसकेपछि होटलको सबैकाम सकेर दिदीबहिनी सँगै सुत्न गएका थिए । उनीहरु सुत्ने कोठा होटलको सबैभन्दा तल (छिँडी)को कोठामा छ । आइतबारदेखि लुक्लाबजार क्षेत्रमा विद्युत पनि थिएन । उनीहरु सुत्ने कोठासँगै जोडिएको अर्को कोठामा जेनेरेटर चलाइएको थियो । सकुशल सुत्न गएका दिदीबहिनी विहान अबेरसम्म नउठेपछि घरबेटी उनीहरुलाई उठाउन कोठामा गएका थिए । उनले ढोका ढकढकाए तर भित्रबाट चुक्कुल लगाइएको थियो । अलि जोडले धकेल्दा ढोका खुल्यो । तर, दिदीबहिनी मृत अवस्थामा देखेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
दिदी संगना घोप्टो परेको अवस्थामा थिइन, भने बहिनी खुशी कोल्टे फर्किएको अवस्थामा थिए । उनीहरुको मुखमा अलिअलि फिँज पनि थियो । उनीहरुसँगै एउटा कुकुर पनि थियो । कुकुर पनि सामान्य अवस्थाभन्दा फरक भेटिएको थियो । कुकुर हिड्न खोज्दा पनि लरबराएर हिड्थ्यो । स्थानीयका अनुसार दिदीबहिनीको मृत्युमा सुत्नेकोठसँगै जेनेरेटर चलाइएकाले अक्सिजनको कमी भएको वा फुडप्वाइजन भएर मृत्यु भएको आशंका गरिएको छ । स्थानीयले जे आशंका गरेपनि लाशको पोष्टमार्टनपछि मृत्युको कारण खुल्न सक्छ । खुम्बुमा कामदारलाई राम्रो व्यवहार गरिदैन भन्ने समय समयमा विभिन्न समाचार सार्वजनिक भएपनि त्यसतर्फ सम्बन्धित पक्षको ध्यान नजादा यस्ता घटना दोहोरिई रहेका छन् । झनै अहिले त स्थानीय सरकार गाउँमै भएकाले खुम्बु क्षेत्रमा पर्यटक भरिया र घरेलु कामदारको अवस्थाको बारेमा थप कार्य गर्ने हो की ? जसले यस्तो घटना कहिल्यै नदोहोरियोस ?







