३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

स्वास्थ्य शिविरबाट पाँच सय लाभान्वित



बाबियाचौर (म्याग्दी), १६ असोज । म्याग्दीको बरंजा–४ आरवाङमा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ५०० जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र गतिशील युवा क्लबले आयोजना गरेको एकदिने शिविरबाट ५०९ जनाले सेवा लिएका हुन् । बरंजा, अर्मन, भकिम्लीलगायत ठाउँका बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिइएको थियो ।

जिल्ला अस्पतालका चिकित्सक धीरेन मल्ल, अम्बालिका शाक्य, अनिल पोख्रेल, शशिकृष्ण लामिछानेलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिनुभएको थियो । बाथरोग, हाइड्रोशील, पाठेघर, हर्निया, हाडजोर्नी, ग्यास्टिक, नशा रोगको उपचारका साथै भिडियो एक्स–रे सेवा दिइएको थियो ।

पाठेघर, हर्निया र अन्य रोगका शल्यक्रिया गर्नुपर्ने २२ जना बिरामी पहिचान गरी जिल्ला अस्पतालमा पठाइएको छ । ५९ जनाले भिडियो एक्स–रे सेवा लिएका छन् । रु १४ लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको क्लबका अध्यक्ष सिंहवीर बुढाथोकीले जानकारी दिनुभयो ।
जेष्ठ नागरिकलाई परिचयपत्र वितरण

म्याग्दीका जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको छ ।

महिला तथा बालबालिका कार्यालय म्याग्दीले ६० वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्न थालेको हो । २६आँै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिबार पहिलोपटक ४५ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।

प्रत्येक महिनाको २ गते कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । विसं २०६८ मा भएको गणगणनाअनुसार एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा ज्येष्ठ नागरिकको सङ्ख्या आठ प्रतिशत छ ।

परिचयपत्र भएका ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधन र सरकारी अस्पतालमा ५० प्रतिशत छुटको सुविधा पाउने भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७३, आइतबार  ५ : २० बजे