खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु भएको छ । साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो ।
तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भागमा समस्या देखिएको छ । कम्मरमुनिको भाग नचलेपछि जबर्जस्ती हिँड्ने क्रममा अँगेनामा पर्दा मनिषाको खुट्टामा घाउसमेत भएको छ ।
जम्मा १३ छोराछोरी जन्मिएका विश्वकर्मा परिवारमा चार छोराछोरीको मृत्यु भइसकेको छ । बाइस वर्षको उमेरमा साइली शर्मिला र २५ वर्षको उमेरमा काइली उषाको कम्मरमुनिको भाग नचल्ने रोगकै कारण मृत्यु भएको हो ।


विश्वकर्मा परिवारमा अहिले पाँच छोरी र चार छोरा छन् । दुईको सानै उमेरमा मृत्यु भएको विश्वकर्मा परिवारले बताएका छन् । पाँच छोरीमा जेठी छोरी सङ्गीता र कान्छी छोरी अस्मिता तथा जेठा छोरा राजेन्द्र, माइला ईन्द्रकुमार र साइला कृष्णमा अहिलेसम्म रोग देखापरेको छैन । सङ्गीता विवाह गरेर पराइ घर गइसकेकी छिन् । कान्छी पढ्दै छिन् । कमजोर आर्थिक अवस्थाका विश्वकर्मा परिवारमा यस्तो समस्या माइली छोरी कोपिलाबाट सुरुआत भएको स्थानीयवासी तथा जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्यापक झमप्रसाद आचार्यले बताए।
“सुरुमा सपाङ्ग नै विद्यालय आउथे”, उहाँले भन्नुभयो, “पढाइमा पनि अब्बल नै हुन्थे, बिस्तारै पाँच÷छ कक्षा पुगेपछि त्यस्तो समस्या पर्न थालेपछि विद्यालय छाडेर बस्ने गरेका छन् ।” हिँड्ने क्रममा खुट्टा नलाग्ने, लाटिएर ढल्ने, भनेको समयमा भनेको ठाउँमा खुट्टा नपुग्ने, खुट्टाले टेक्न नमान्ने समस्याले कोपिला त थला नै बसिसकेकी छिन् । उनलाई कक्षा ५ पढ्दादेखि उक्त समस्या शुरु भएको आमा लक्ष्मीमायाँले बताइन्। बाल्यकालमा अरु जस्तै सपाङ्ग जीवन बिताइरहेकी कोपिलालाई अहिले शौचालय लैजान तथा एक स्थानबाट अर्को स्थानमा लैजान आमाले बोकेर लानुपर्छ ।
कम्मरमुनिको भाग नचल्ने समस्या कोपिलामा शुरु भएको १२ वर्ष पुगेको बुबा वीरबहादुरले बताए । “यही समस्या अन्य छोराछोरीमा पनि सर्दै गएको छ”, उहाँले भने, “आर्थिक समस्याले उपचारमा लैजान नसक्दा थप दुई छोरीको पनि अवस्था जटिल बन्दै गएको छ ।” अनिशा र मनिषाले एसइईसम्मको अध्ययन पूरा गरेकी छन् । अनिशामा कम्मरमुनिको अङ्ग नचल्ने समस्या देखिएको पाँच वर्ष भएको पारिवारले जनाएको छ ।
सोही समस्या मनिषामा देखापरेको दुई वर्ष भयो । अनिशा, मनिषा र कोपिलालाई अहिले आमाले नै डोहो¥याएर घरभित्र÷बाहिर गराउनुका साथै शौचालय लानुपर्ने बाध्यता छ । बोल्न, खान र बस्न सक्ने अवस्थाका उनीहरुको हेरचाह वृद्धा आमाले गर्दै छिन् । कान्छा छोरा चेतराज पनि अहिले सहज तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँड्दा उनको खुट्टाले भर दिन्न, काम्ने, लरबराउँछ । उनलाई कम्मरमुनिको भाग चलाएर हिँड्न धेरै सकस हुन्छ ।
माइली छोरीबाट शुरु भएको कम्मरमुनिको भाग नचल्ने समस्या बिस्तारै उनीहरुको परिवारका सबै सदस्यमा देखिने सम्भावना रहेको छिमेकी बताउँछन् । खेतीपातीबाहेक आयस्रोतको अन्य विकल्प नभएको विश्वकर्मा परिवारमा एक्कासी उक्त समस्या देखापरेपछि बिचल्ली भएको छ । उनीहरुमा देखिएको समस्याको उपचार नेपालमा सम्भव नहुने स्वास्थ्यकर्मीले बताएको आफन्त तथा नगरकार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताए।
भारतको गङ्गाराम अस्पतालमा मात्र उपचार हुने उनीहरुका लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने बताएपछि झनै समस्या भएको बताइएको छ । अहिलेसम्म राज्यकोतर्फबाट कुनै सुविधा नपाएका पीडित विश्वकर्मा परिवारलाई नेपाली साझा मञ्चकी कार्यवाहक अध्यक्ष शारदा भुसालले नगद रु १० हजारसहित लत्ताकपडा उपलब्ध गराएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र प्रहरी नायब उपरीक्षक राजकुमार केसीसहित पीडित परिवारको घरमा पुग्नुभएका कार्यवाहक अध्यक्ष भुसालले थप उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अहिलेसम्म नेपाली नागरिकता र अपाङ्गता परिचयपत्रसमेत नपाएका पीडित परिवारलाई घरैमा नागरिकता र अपाङ्गता परिचयपत्र लगेर वितरण गर्ने प्रजिअ पौडेलले आश्वासन दिएको छ ।






