डुब्यो रौतहट : सुरक्षाकर्मी आफैं उद्धारको पर्खाइमा, दर्जनौं बस्तीसँग सम्पर्क टुट्यो !

जिल्लाको सडक सञ्जाल ध्वस्त, सदरमुकाममा १० फिट बढी पानी !

14 Shares

रौतहट । ४ दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।


सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ । बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ ।
सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीहरुमा जलस्तर बढ्दो क्रममा रहेपछि स्थानीय त्रसित छन् । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत पूर्ण रुपमा डुबेका छन् । गएराति गरुडा र सदरमुकाम गौरमा समेत बाढीको पानी पसेको छ ।

सुरक्षाकर्मी आफैं उद्धारको पर्खाइमा !

गौरको मुख्य सडकमा एक तले घर डुब्ने पानी छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन् । गौरमा रहेका सुरक्षा निकायका कार्यालय तथा ब्यारेकहरु समेत डुब्दा उद्दार टोली परिचालनमा कठिनाइ भएको छ ।


गौर बजारमा झण्डै १० फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उद्दारमा कठिनाइ भएपछि प्रदेश तथा प्रहरी प्रधान कार्यालयबाट थप मद्दत माग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताए । बाढीले सडक सम्पर्क टुटाएपछि फोन र प्रहरीको सञ्चार सेटले पनि सो काम गर्न छोडेको छ । ‘स्थानीय र प्रहरी दुवै सम्पर्कविहीन बनेका छन्,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले भने, ‘फतुवा, विजयपुर र बडहरवामा तत्काल उद्दारको आवश्यक्ता छ, तर प्रतिकुल मौसमका कारण केही गर्न सकिएको छैन ।’

आधा दर्जन स्थानमा तटबन्ध भत्कियो !

पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरिरहेको छ । पश्चिम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडमा पनि बाढीले बस्ती डुबाएको छ । बाढीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ ।


यसैगरी फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीका बस्ती पनि डुबानमा परेका छन् । गरुडा क्षेत्रसँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीहरुमा पनि बाढी पसेको छ । लालबकैया नदीको बहाव उच्च बिन्दुमा पुगेपछि रौतहटको हर्साहा, लक्ष्मीपुर, फतुवा विजयपुरसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । बाढीले गौर-चन्द्रनिगाहपुर, गरुडा-कटहरीया, देवाही-मौलापुर, गौर-बडहर्वा सडकखण्ड अवरुद्ध भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पूर्णरुपमा बन्द !

गौर चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द छ । रौतहटको फतुवा विजयपुर नगरपालिकासँग सम्पर्क विच्छेद भएको छ । सो नगरपालिकाका विभिन्न वडामा एक हजारभन्दा बढी व्यक्ति तत्काल उद्धारको पर्खाइमा छन् । बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगासहितका केही पौडीबाज जिल्लाका विभिन्न स्थानमा पठाइए पनि पर्याप्त भएको छैन ।
दुर्गा भगवती गाउँपालिकाअन्तर्गत गौर(गंगापिपरा सडक खण्ड बाढीका कारण गएरातिदेखि नै अवरुद्ध छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वा लगायतका गाउँहरुमा बाढीको पानीबाट एक सयभन्दा बढी घर डुवानमा परेका छन् । परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, ईशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढीमाई, वृन्दाबन, विजयपुर, कटहरियासहित गरुडा नगरपालिकाको सबैवडा, चन्द्रपुर नगरपालिकाका केही वडा पनि डुवानमा परेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार