कमरेड पुष्पलालका विचार सान्दर्भिक मुख्यमन्त्री गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएको छ ।

पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित पुष्पलाल अध्ययन प्रतिष्ठान परिसरमा निर्मित पुष्पलालको अर्धकदको सालिक आज अनावरण गर्दै उहाँले पुष्पलालले अघि सारेको विचारकै जगमा नेपाली कम्युनिष्ट आन्दोलन वर्तमानसम्म आइपुगेको बताए ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक नेतृत्व दिएर पुष्पलालले अतुलनीय योगदान गर्नुभएको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले तिनै विचार र सिद्धान्तलाई आत्मसात् गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राखे ।

नेकपालाई कमजोर बनाउन विभिन्न रुपमा षडयन्त्र भइरहेको चर्चा गर्दै उहाँले अवसरवादी सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उक्त अवसरमा मुख्यमन्त्री गुरुङले प्रतिष्ठानको हातामा निर्माण गरिएको कम्युनिष्ट नेता बलराम उपाध्यायको अर्धकदको सालिककोसमेत अनावरण गरेको थियो ।

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले नेपाली समाजको रुपान्तरणमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिष्ठानलाई कम्युनिष्ट पार्टीको अध्ययन अनुसन्धानको थलोका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । उहाँले मुलुकमा राजनीतिक उपलब्धिसँगै समृद्धिको आन्दोलनमा लाग्नुपर्ने आजको आवश्यकता भएको धारणा राखे।

पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य खगराज अधिकारीले विभिन्न सङ्घसंस्था र व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको प्रतिष्ठानको तीन तल्ले पक्की भवन निर्माण भइरहेको बताउँदै नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलाललाई नजीकबाट चिन्न र बुझ्न सकिने गरी काम गरिने जानकारी दिए ।

नेकपा कास्कीका अध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको बृहत् हितमा काम गरिनुपर्ने बताए ।

नेकपा केन्द्रीय सदस्य एवम् पुष्पलाल अध्ययन प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष भीम कार्कीले प्रतिष्ठानले नेपालको कम्युनिष्ट आन्दोलन सङ्गठित र सशक्त बनाउन कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार