२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

दुर्गम गाउँको स्वास्थ्य शिविरमा सात सयको उपचार



पर्वत, ७ कात्तिक । पर्वतको सुदूर दक्षिणमा पर्ने बाच्छा गाविसमा शनिबार आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सात सय जनाको उपचार भएको छ । पर्वत सेवा समाज र रोटरी क्लब अफ पर्वतको आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा तीन जिल्लाका सात सय जनाले गाउँघरमै स्वास्थ्य उपचारको सेवा पाएका हुन् ।

स्वास्थ्य शिविरमा पर्वतका बाच्छा, पाङ्गराङ्ग, कुर्घा, भोक्सिङ्ग, बर्रार्चार, लिमीठाना र रानीपानी, बागलुङका छिस्ती, जैदी, बिनामारे, गुल्मीका खड्गकोट लगायतका गाविसका सर्वसाधारण उपचारका लागि आएका थिए । शिविरमा स्त्रीरोग, पेट, छाती, मुटु, हाडजोर्नी तथा नसा, मानसिक लगायतका विशेषज्ञबाट स्वास्थ्य जाँच र निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखराका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।
वरिष्ठ मानसिक रोग विशेषज्ञ प्राडा जयबहादुर खत्री, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा राजेश अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा ईश्वर शर्मा कँडेल, पर्वत जिल्ला अस्पतालका प्रमुख डा फडिन्द्र बराल, सर्जन डा राजनकुमार शर्मा, दन्तरोग विशेषज्ञ डा विधाता शाक्य, भिडियो एक्स–रे विशेषज्ञ डा श्याम पराजुली लगायतले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बागलुङ मेडिकल हल कुस्माको संयोजनमा दुई लाख ५० हजारभन्दा बढीको औषधि निःशुल्क वितरण गरिएको राजेश पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७३, आइतबार  ३ : १५ बजे