२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

सभापति देउवालाई ध्यानाकर्षण



काठमाडौँ, ७ कात्तिक । संयुक्त विद्यार्थी सङ्गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव चाँडो पारित गराउन माग गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज बिहान ध्यानाकर्षण गराएको छ ।

विभिन्न १३ विद्यार्थी सङ्गठनले संयुक्तरुपमा देउवा निवासमा गइ सभापति देउवालाई बुझाएको सो ध्यानाकर्षण पत्रमा मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब पारित गराउन आग्रह गरिएको छ ।

presdent-ser-bahadur-deuba

सो पत्र बुझेपछि सभापति देउवाले कानुनी राज्य तथा जनताको सार्वभौम अधिकारलाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

सभापति देउवाले पार्टी र संसदीय दलको बैठकमा सो प्रक्रियामा बारेमा छलफल गरी जनमतअनुसार निर्णय लिने विश्वास दिलाए । सो सङ्गठनले आज दिउँसो दबाबमूलक कार्यक्रमस्वरुप बानेश्वरमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, क्रान्तिकारी, मधेसी विद्यार्थी सङ्गठनलगायत १३ वटा विद्यार्थी सङ्गठन सहभागी छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७३, आइतबार  ४ : ४८ बजे