काठमाडौँ । विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ का लागि अडिसन आगामी साउन ३१ गते हुने भएको छ। अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा आयोजना गरिने छ।
आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका अनुसार इच्छुक प्रतिस्पर्धीहरूले खल्ती एप, रिबन इन्टरटेनमेन्टको वेबसाईट, आयोजकको शंखमूलस्थित कार्यालय वा सोही दिन होटलमा प्रत्यक्ष आवेदन दिन सक्नेछन्।
अडिसनबाट छनोट भएकालाई कोरियोग्राफर अश्विनी झाले प्रशिक्षण दिनेछन् भने विभिन्न विषयका विज्ञहरूले नियमित तालिम दिनेछन्। गंगा महर्जन र सम्राट शाहको संयोजनमा प्रशिक्षण सत्र भदौ १८ गतेदेखि सुरु हुनेछ।

यस वर्षको ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। सोही अवसरमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताहरूको घोषणा पनि गरिनेछ।
रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार, मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। यस्तै, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताहरूले सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउने छन्।
यसअघि मिसेस वर्ल्ड २०२२ मा दिक्षा केसी, मिसेस वर्ल्ड २०२३ मा पृथ्वीया थापाले नेपालको प्रतिनिधित्व गरेका थिए। थापाले सो संस्करणमा मिसेस ह्युमनिटरियन उप-उपाधि जितेकी थिइन्। यो वर्ष भने डेनिला कार्कीले मिसेस वर्ल्ड २०२५ मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन्।
विगतका वर्षझैं यसपटक पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएको छ।












