६ असार २०८३, शनिबार | Sun Jun 21 2026

राजनीतिक घृणादेखि बाध्यात्मक परिवर्तनसम्म



शिब बस्नेत-राजेन्द्र

२०८२ साल फागुन २१ गतेको निर्वाचनले पुराना सत्ताधारी दलहरू: काँग्रेस, एमाले, नेकपा तथा विभिन्न मधेशवादी दलहरूलाई ठूलो धक्का दियो। उनीहरूले आफ्नो परम्परागत जनाधार गुमाए र एक प्रकारको नयाँ राजनीतिक लहरले उनीहरूलाई विस्थापित गर्‍यो। तर देश निर्माणका लागि कुनै जादुको छडी कसैसँग हुँदैन; न त नयाँ शक्तिसँग थियो, न छ।

नयाँ सरकार गठनपछिका गतिविधिलाई हेर्दा अपेक्षित परिवर्तनको स्पष्ट दिशा अझै देखिएको छैन। आजको नेतृत्व राजनीतिक दृष्टि र दीर्घकालीन सोचभन्दा बढी प्रचारमुखी शैलीमा प्रस्तुत भएको अनुभूति हुन्छ भने कतिपय नीति तथा कार्यक्रमहरू समाजको यथार्थभन्दा बाह्य प्रभावबाट निर्देशित जस्ता देखिन्छन्। वास्तवमा सत्ता कुनै व्यक्ति वा समूहको प्रदर्शनको माध्यम होइन; यो विभिन्न वर्ग, जाति, क्षेत्र र समुदायको साझा नेतृत्व तथा उत्तरदायित्वको संरचना हो।

Sagarmatha

पुराना दलहरू ठूलो राजनीतिक संघर्ष र त्यागको जगबाट उदाएका थिए। आज असम्भव मानिएका राजनीतिक परिवर्तनका वाहक पनि तिनै दल र तिनका नेताहरू थिए। तर राजनीतिक परिवर्तनपछि आवश्यक आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणलाई संस्थागत गर्न भने उनीहरू सफल हुन सकेनन्। बरु, विगतका संघर्षहरूलाई साझा उपलब्धिका रूपमा ग्रहण गर्नुको सट्टा एकले अर्कोलाई होच्याउने, इतिहासलाई आफ्नो सुविधाअनुसार व्याख्या गर्ने, आफूले गरेको सही र अरूले गरेको गलत भन्ने प्रवृत्ति बलियो बन्दै गयो।

आफ्नो पार्टीभित्रका विकृतिलाई सामान्य मान्ने तर अरू पार्टीका उपलब्धिसमेत अस्वीकार्य ठान्ने मानसिकता विकसित भयो। भ्रष्टाचार आफ्ना मानिसले गर्दा सामान्य र अरूले गर्दा असह्य ठान्ने दोहोरो मापदण्ड स्थापित हुँदै गयो। आफ्नाले राज्य सम्पत्तिको दुरुपयोग गर्दा मौन रहने, तर प्रतिपक्षले त्यही कार्य गर्दा नैतिकताको कुरा गर्ने संस्कारले राजनीतिप्रति नै वितृष्णा पैदा गर्‍यो। राजनीतिक नियुक्ति, भागबण्डा, शक्ति-सन्तुलन र आर्थिक स्वार्थका आरोपहरू पनि यही कालखण्डमा व्यापक रूपमा उठे। सत्ताको पहुँच सीमित व्यक्तिहरूमा केन्द्रित हुँदै जाँदा आम कार्यकर्ता र जनताले आफूलाई केवल झोला बोक्ने भूमिकामा सीमित भएको महसुस गर्न थाले।

यही परिवेशले आम जनतामा राजनीतिप्रति गहिरो निराशा र घृणाको भावना जन्मायो। त्यही असन्तुष्टिलाई आधार बनाएर भ्रष्टाचारविरोधी आन्दोलनहरू उठे। तर आन्दोलनको मूल उद्देश्यभन्दा बाहिर गएर विभिन्न विध्वंसकारी प्रवृत्तिहरू प्रभावशाली बन्दै जाँदा ती आन्दोलनहरूले अपेक्षित दिशा लिन सकेनन्।

यसरी राज्य, दल र नेतृत्वप्रति बढ्दो अविश्वासको पृष्ठभूमिमा सम्पन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनमा जनताले दिएको निर्णयलाई केवल उत्साहको लहरभन्दा पनि परिस्थितिजन्य बाध्यताको अभिव्यक्तिका रूपमा बुझ्न सकिन्छ। परिणामस्वरूप, धेरै पुराना दलहरूले आफ्ना परम्परागत मतदातामात्र होइन, आफ्नै नेता–कार्यकर्ताको विश्वाससमेत गुमाए। कतिपय स्थानमा आफ्नै उम्मेदवारलाई हराउन आफ्नै कार्यकर्ता सक्रिय भएको देखियो। दलहरूलाई सुधार गर्ने उद्देश्यले अपनाइएका उपायहरू पनि प्रभावकारी हुन सकेनन्। काँग्रेसले नेतृत्व परिवर्तन गरेर जनमत आकर्षित गर्न खोज्यो, तर जनताले त्यसलाई पर्याप्त ठानेनन्। कम्युनिस्ट शक्तिहरूले नेतृत्व परिवर्तन नगरी चुनावमा गए, तर त्यसबाट पनि अपेक्षित समर्थन प्राप्त हुन सकेन।

यो देशको गहिरो संकट हो। देश निर्माण कुनै जादुको छडीको परिणाम होइन। यसका लागि देशको समग्र भूगोल, जनचेतना, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक अवस्था, सामरिक संवेदनशीलता र सांस्कृतिक यथार्थको वस्तुगत अध्ययन आवश्यक हुन्छ। केवल व्याख्या गर्नु मात्र पर्याप्त हुँदैन, परिवर्तनको प्रक्रियालाई व्यवहारमा रूपान्तरण गर्नु अझ महत्त्वपूर्ण हुन्छ। संसार बदल्ने आकांक्षा राख्नेहरूले परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्छ। वर्तमान परिस्थितिको ठोस विश्लेषण गर्दै उचित निष्कर्ष निकाल्नु, व्यापक अध्ययनलाई प्रोत्साहन गर्नु, विचार, राजनीति, उत्पादन, संगठनात्मक व्यवस्थापन तथा जिम्मेवारीको उचित विभाजनलाई सुदृढ गर्नु आवश्यक छ। साथै, प्रविधिको उचित प्रयोगमार्फत आम जनतालाई सचेत, प्रशिक्षित र सहभागी बनाउनु आवश्यक छ ।

निष्कर्ष: राजनीतिप्रति पैदा भएको घृणा र निराशाले बाध्यात्मक परिवर्तनको अवस्था सिर्जना गरेको छ। तर केवल अनुहार फेर्दैमा समाज र राष्ट्रको रूपान्तरण सम्भव हुँदैन। न त पुरानालाई पूर्ण रूपमा अस्वीकार गरेर, न नयाँलाई चमत्कारका रूपमा स्वीकार गरेर देश निर्माण हुन सक्छ। देशलाई आवश्यक पर्ने कुरा जिम्मेवार नेतृत्व, वैज्ञानिक दृष्टिकोण, उत्पादनमुखी अर्थतन्त्र, संस्थागत संस्कार र आत्मसमीक्षाको क्षमता हो। लोकतन्त्रको सार निरन्तर सुधार, आलोचनात्मक चेतना र सामूहिक उत्तरदायित्वमा निहित हुन्छ। त्यसैले राजनीतिक घृणाबाट होइन, विवेक, अध्ययन, आत्मपरिवर्तन र रचनात्मक सहभागिताबाट मात्र समृद्ध र स्थिर नेपालको आधार निर्माण गर्न सकिन्छ।

[लेकखः नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।]

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ३८ बजे