९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

शल्यक्रिया सेवाका लागि तेह्र अस्पतालमा प्रिफ्याब भवन बन्ने



काठमाडौँ, ६ फागुन । स्वास्थ्य मन्त्रालयले २४ सै घन्टा आकस्मिक शल्यक्रिया सुरु गर्न भौतिक पूर्वाधार नभएका १३ वटा जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण गर्ने भएको छ ।

अहिले झन्डै ३० जिल्ला अस्पतालमा केहीमा भौतिक पूर्वाधार भए पनि विशेषज्ञ चिकित्सक छैनन् भने कतै शल्यक्रियाका लागि आवश्यक भवनको अभाव भएकाले आकस्मिक शल्यक्रियाका लागि पनि समस्या हुने गरेको छ ।

स्वास्थ्यमन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले १३ जिल्ला अस्पतालमा शल्यकक्ष निर्माणका ढाँचा तयार पारिसकेकाले छिट्टै नै बोलपत्र आह्वान गरिने बताउनुभयो ।

Sagarmatha

शल्यकक्ष भएर पनि विशेषज्ञ नभएका जिल्ला अस्पतालमा भने विषेशज्ञ चिकित्सक पठाउन निर्देशन दिइसकेको छ । यसका लागि विभिन्न स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजसँगको सहकार्यमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एमएस वा डिएम वा एमसीएच चिकित्सकलाई खटाइनेछ ।

रामेछाप जिल्ला अस्पताल, चिसापानी अस्पताल (नवलपरासी), बन्दीपुर अस्पताल (तनहुँ), मेथिनकोट अस्पताल (काभ्रे), चन्द्रनिगाहापुर अस्पताल (रौतहट), शिवराज अस्पताल (कपिलवस्तु), पाल्पा जिल्ला अस्पताल, शिशुवा अस्पताल (कास्की), मेहलकुना अस्पताल (सुर्खेत), जाजरकोट अस्पताल, दुल्लु अस्पताल (दैलेख), गोकुलेश्वर अस्पताल (दार्चुला) र सुन्दरबजार अस्पताल (लमजुङ)मा शल्यक्रियाका लागि प्रिफ्याब भवन बन्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७३, शुक्रबार  ११ : ४९ बजे