पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु

0 Shares

पोखरा, २३ भदौ । गएराति ११ः३० बजेतिर भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिँदा कास्कीको लेखनाथ नगरपालिका–४ वैद्येपानी खरानीफाँटमा एकैघरका चारजनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् ।

सो ठाउँमा रहेको लक्ष्मी सुनारको घर पहिरोले पुरिँदा १४ वर्षीय छोरा निशान सुनार, नौ वर्षीया छोरी रजिना सुनार, सात वर्षीया छोरी अन्जिला सुनार र अढाई वर्षीय नाति सलमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतक सलमान तामाङ बुधबार मात्रै हेटौँडाबाट मावलीमा ल्याइएका थिए ।

पहिरोमा परी छोरीहरु कविता सुनार र सजिना सुनार सख्त घाइते भएकाले उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घरधनी लक्ष्मी सुनार र जेठी छोरी पट्टिको एक नाति सन्दीप सुनार अर्को घरमा सुतेकाले उनीहरु बाँच्न सफल भएका थिए ।

लक्ष्मीका श्रीमान् तीर्थबहादुर सुनार बुधबार दिउँसो मात्रै वैदेशिक रोजगारीका लागि साउदी अरब गएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार