काठमाडौं । वि. सं. २०५८ सालमा जागिरबाट अवकाश लिएका चुमबहादुर (नानी राई) बाहिङ नेपाली सेनाका एक होनाहार जमदार हुन् । तत्कालिन समय देशमा माओवादीले शसस्त्र जनयुद्ध गरिरहेको थियो । जागिरबाट अवकाश लिएपछि बाहिङ गाउँ फर्किए । तर गाउँमा बस्न सक्ने वातावरण थिएन । झनै अवकाशप्राप्त नेपाली सेना भएकाले गाउँमा बस्न सहज भएन । संकटकाल लागेपछि त नेपाली सेनाको घरपरिवारलाई छानीछानी माओवादीले कुटपिट गर्ने, चन्दा माग्ने, ज्यान मार्ने धम्की समेत दिन थालेका थिए । गाउँमा बस्ने वातावरण नभएपछि बाहिङ काठमाडौं आएका थिए ।
वि. सं. २०१९ साल पुस ८ गते ओखलढुंगा जिल्लाको फाःकु (लेकखर्क, हाल चिशंखुगढी गाउँपालिका ४) मा जन्मिएका थिए चुमबहादुर (नानी राई) बाहिङ । उनको बाल्यकाल गाउँमै बितेको थियो । किशोरावस्थामा प्रवेश गरेको केहि वर्षमै उनी नेपाली सेनामा भर्ती भए । किशोरावस्थाको मलिलो जोस, जाँगर र उत्साह देशको लागि खर्चिए । देशको सेवा गरे, र जागिरबाट अवकाश लिएपछि पनि व्यापार गरेर नागरिकको सेवामा लागिरहेका छन् । प्रस्तुत छ, उनै बाहिङले जीवनभोगाईको क्रममा सगाँलेका अनुभवरुपी शब्दहरु, उनकै शब्दमा ।
म जागिरबाट अवकाश लिने बेलामा संकटकाल लगाउनको लागि तत्कालिन सरकारले गृहकार्य थालिसकेको थियो । मैले जागिरबाट अवकाश लिदा संकटकाल लागेको थिएन । तर म जागिरबाट अवकाश लिएको एक महिनापछि नै संकटकाल लाग्यो । मेरो परिवार गाउँमा बस्न र छोराछोरीलाई पढाउन समस्या भयो । त्यसपछि गाउँमा बस्न नसकेर म शहर पसे ।
हुने विरुवाको चिल्लो पात भनेझै चुमबहादुर (नानी राई) बाहिङ सानै उमेरदेखि अनुशासित र इमान्दारी थिए । गाउँभरिको प्यारो मान्छे पनि । उनले सानै उमेरमा ‘गाउँको विकासदेखि निरक्षरलाई साक्षर बनाउने कामसम्म गरे ।’ उनले गरेको यो कामलाई गाउँभरिको बुढापाकाले स्यावासी र आर्शिवाद दिए । जसले गर्दा उनले अहिलेसम्म कसैसँग नराम्रो व्यवहार गर्नु परेको छैन । भनिन्छ नी सकारात्म सोचले जीवनमा सँधै सफलताको बाटो हिड्ने प्रेरणा दिइरहन्छ ।
किशोरावस्थामा प्रवेश गरेपछि बाहिङलालाई पनि जागिर खान मन लाग्यो । उनले शुरुका दिनमा बेलायत र भारतीय सेनामा भर्ती हुनको लागि धेरै कोशिस गरे तर सफलता पाउन सकेनन् । जुनसुकै काम गर्दा पनि निरन्तर रुपमा लागिरहने बाहिङको बानीले वि. सं. २०४० सालमा नेपाली सेनामा भर्ती भए । नेपाली सेनामा उनले १८ वर्षसम्म सेवा गरे । सेनामा उनी जमदार पदसम्म पुगेका थिए । त्यसपछि जागीरे जीवनबाट अवकाश लिए ।
जागिरे जीवनको अवकाशपछि उनी केहि समय गाउँमा बसे तर गाउँमा बस्न सक्ने स्थिति थिएन । काठमाडौंमा भाईहरुले व्यपार व्यसाय गरिरहेका थिए । काठमाडौं आएर त्यहि व्यवसायलाई निरन्तरता दिँदै उनले वि. सं. २०६० सालबाट व्यपार व्यवसायमा हात हाले ।
बाहिङको भाईहरुले होटल र किराना पसलबाट व्यवसाय शुरु गरेका थिए । केहि समयपछि होटल चलाउन सकेनन् । होटल चलाउन नसक्दा व्यवसाय घाटामा गयो । ‘त्यसपछि किराना पसलचाँहि मैले सम्हालेको हो । अहिलेसम्म निरन्तर यही व्यवसायमा लागिरहेको छु । अब बाँचुञ्जेल यही पेशा गर्ने मरो सोच छ ।’
नेपाली सेनाबाट अवकाश हुँदै गर्दा व्यापार नै गर्ने सोच त थिएन । गाउँमै बसेर गाउँको सेवा गर्ने इच्छा थियो । तर समय र परिस्थितिले साथ दिएन । समय र परिस्थितिको बाबजुत छोराछोरीको भविष्यको लागि शहर पस्न बाध्य भए । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने लाग्छ । अब यही व्यवसायलाई निरन्तरता दिँदै छोराछोरीको भविष्य उज्जवल बनाउनेतिर लागिरहेको छु ।
मैले पेन्सन हुने वित्तिकै जागिर छोडेको हो । छोराछोरीको भविष्यको लागि पेन्सन हुँने वित्तिकै अवकाश लिएको हो । आफू नजिक हुँदा परिवारलाई पनि राम्रो हुने, आफूले सकेको समाज सेवा पनि हुने ।
व्यापार शुरु गरेको पनि अहिले १४ वर्ष भैसकेछ । समय बितेको पनि पत्तै भएन । त्यत्तिबेला मेरो पसल वरिपरि कारखाना थियो । त्यहाँ काम गर्ने मजदुरहरुलाई मैले नै रासन पु¥याइ दिन्थे । तर २०६२÷६३ को जनआन्दोलनपछि कारखाना पनि बन्द भयो ।
कारखानाका मजदुरहरु आन्दोलन गर्न गए । आन्दोलन सफल भएपछि मजदुरहरुले कारखानामै मजदुर संगठन गठन गरे । त्यसपछि कारखाना साहूलाई समस्या भएछ क्यारे, कारखाना बन्द भयो । कारखाना बन्द भएपछि दिनभरी आन्दोलनमा, रातभरी गोठाटारमा रहेको पशुपति विकास कोषको जग्गामा मजदुरहरुले आन्दोलन गरे । रातारात पाल टाँगेर बस्न गए जग्गा पाइन्छ की भनेर । त्यसले गर्दा पछि साहूहरुले कारखाना बन्द गरेका रहेछन् । मजदुरहरुले पाउँने बाँकी रहेको सबै पारिश्रमिक दिएर साहूले कारखाना बन्द गरेका थिए । त्यसपछि कारखानाका मजदुरहरु कोहि तत्कालिन माओवादीमा लागे, कोही विदेश गए । त्यसपछि मेरो पसलमा पनि रासन राख्न छोडे ।
अहिले किराना पसल मात्र छ । मेरो काठमाडौंमा यसो बस्ने मेलो मात्र हो यो । छोराछोरीलाई भुलाउने मेलो गरिरहेको छु । यहि सानो किरान पसलबाट ५ जनाको परिवार पालिरहेको छु । यो मेरो व्यवसायलाई नै अलि ग्राहयता दिएर गाउँमै गएर व्यपार गर्ने सोच पनि छ । अब गर्दै जाँदा के हुन्छ हेरौं ? छोराछोरीहरुले के भन्छन्, अब त उनीहरुको पनि राय, सुझाव लिनु प¥यो नी ?
कुनै पनि पेशा, व्यवसायमा लागेपछि निरन्तर रुपमा लागिरहनु पर्छ । बीचमा कुनै समस्या भए पनि त्यसलाई सामना गर्न सक्ने क्षमता हुनु पर्छ । सानो, ठूलो समस्यामा पनि सँधै आफ्नो पेशा, व्यवसायमा लागिरहनु पर्छ अनि मात्र आफूले गरेको व्यवसायमा सफलता पाउन सकिन्छ । साभारः चाम्फुरी मासिक







