२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

केसी र शेर्पाको छेपारे प्रवृत्तिप्रति सोलुका जनता सचेत छन् : हेमकुमार राई ‘सुरवीर’

वर्षमा ३६० दिन चर्को विरोध गर्ने, अनि ५ दिन मिल्ने केसी र शेर्पाको स्वार्थ छ



आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाजनको मिति नजिकिएसँगै सोलुखुम्बुमा पनि राजनीतिक दलहरु आ–आफ्नो पक्षमा जनमत पार्नको लागि विभिन्न आमसभा तथा घरदैलो अभियानमा सक्रिय छन् । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो चरण अन्तर्गत मंसिर १० गते निर्वाचन हुँदैछ । दलका उम्मेदवारहरु कतै स्वास्थ्य त कतै अस्वास्थ्य प्रतिपर्धाका साथ चुनावी मैदानमा होमिएका छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सोलुखुम्बुमा पनि यसको माहौल एकपछि अर्कोगर्दै बढिरहेको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभाका लागि साझा उम्मेदवार हेमकुमार राई ‘सुरवीर’ लाई अगाडि सारिएको छ । राई सम्भवतः प्रतिनीधी सभाको उम्मेदवारमध्ये सबैभन्दा कान्छ उमेरका उम्मेदवार हुनसक्छन् । उनी ३४ वर्षमा लागेका छन् । नजिकिदै गरेको चुनावी माहौलको उत्साह सोलुखुम्बुमा कस्तो छ ? बाम गठबन्धनको घोषणा पत्र र प्रतिबद्धता पत्रको विषयमा बाम गठबन्धनका प्रतिनिधी सभाका साझा उम्मेदवार हेमकुमार राई ‘सुरवीर’सँग सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको मुख्य अंश ।
तपाईको मुख्य एजेण्डा के के छन् ?
मूलभूतः रुपमा त हाम्रो पार्टीको घोषणापत्र नै हाम्रो आधिकारिक घोषणा पत्र हो । त्यसैको पेरीफेरीमा रहेर सोलुखुम्बु जिल्लाको सन्दर्भमा विशिष्ट किसिमका विकास निर्माणका कुराहरु, प्राकृतिक स्रोत साधनलाई कसरी सदुपयोग गर्ने भन्ने कुराहरु, यहाँको बेरोजगार समस्याहरुलाई कसरी समाधान गर्ने कुरा, यहाँको युवाहरुलाई कसरी रोजगारी बनाउने भन्ने यी तमाम किसिमका समस्याहरु हाम्रो जिल्लाको सन्दर्भमा टड्कारो रुपमा देखिएको छ । यी समस्याहरुलाई कसरी समाधान गर्ने त भन्ने विषयमा एउटा ठोस कार्यक्रम उम्मेदवाहरुको तर्फबाट प्रतिबद्धतापत्रहरु सार्वजनिक गरेका छौं । त्यसमा विशेषगरी सोलुखुम्बु जिल्लालाई आर्थिक हिसाबले समृद्ध कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा मूलतः यहाँको स्रोत साधनलाई कसरी प्रयोग गर्ने, उपयोग गर्ने, र त्यहाँको जनतालाई प्रत्यक्ष हरेक कुराहरुमा लाभान्वित बनाउनको निमित्त कसरी प्रयोग गर्न सकिन्छ, कसरी सहभागी गराउन सकिन्छ त्यसैमा मात्रै सोलुखुम्बु जिल्लाको समृद्धि सम्भव छ भन्ने कुराहरु हामीले सोचिरहेका छौं । त्यसमा ठोस रुपमा भन्दाखेरी पर्यटन, जलस्रोत र जडिबुटी नै मुख्य आर्थिक स्रोतको आधारको क्षेत्र हुन् । यी विषयलाई नै मेरो मुख्य एजेण्डाको रुपमा अगाडि सारेको छु ।
तपाईले मुख्य चुनौती के देख्नु भएको छ ?
मेरो मुख्य चुनौती के छ भने हामी बाम गठबन्धन केन्द्रदेखि जिल्लासम्म आइपुग्दाखेरी भर्खर भर्खर मिल्दै छौं । हाम्रा विभिन्न किसिमका ट्रेनहरु थियो । विभिन्न किसिमका बुझाईहरु, दृष्टिकोणहरु ती सबै बुझाई, दृष्टिकोणहरुलाई एउटा योजनामा ढालेर आफ्नो लक्ष्य, उद्देश्य प्राप्त गर्नका निमित्त सबै पाटी कार्यकताहरुलाई कसरी परिचालन गर्ने, परिचलन गर्न सक्ने की नसक्ने हामीले भन्ने सबैभन्दा ठूलो चुनौती त्यहाँ नै छ । अर्को चुनौती के छ भने नेपाली कांग्रेसका बलबहादुर केसीले हरेक किसिमका हतकाण्डहरु अपनाउँछ । चुनावलाई स्वस्थ, निष्पक्ष र धाँधली रहित बनाउँने भन्दा पनि अहिलेसम्म उनले धाँधली गरेर नै जित्दै आइरहेको र यहाँको जनमतलाई सही ढंगबाट सम्मान गर्न नसकिरहेको विगतको परिवेशलाई यस चोटी हामीले जुनसुकै किसिमको षडयन्त्र, छलछाम र आतंकलाई परास्त गर्नको लागि बाम गठबन्धनको साझा नीति कार्यक्रमलाई सही ढंगबाट बुझाउने, त्यसपछि त्यस्ता अबान्छित गतिविधीहरुलाई रोक्नका निमित्त समग्र प्रगतिशील हाम्रा युवा साथीहरुलाई सचेत गराउने र जनताको गाउँबस्तीमा अशान्ति फैलाउने त्यस्ता किसिमका तत्वलाई प्रतिकार गर्दै, त्यस्तो किसिमका वातावरण सिर्जना हुन नदिनको निमित्त राज्य पक्षलाई पनि हामीले अनुरोध गरिसकेका छौं । त्यसै अनुरुप हामी हाम्रो कार्यक्रम र चुनावी आमसभा गर्दै हिडिरहेका छौं ।
स्थानीय तहको निर्वाचनमा पाएको जनमतलाई कसरी संरक्षण गर्नु हुन्छ ?
स्थानीय तहको निर्वाचनमा व्यक्त भएको जनताको जनमतलाई हेर्ने हो भने हामी सोझै जितेका छौं, धेरै मतान्तरले जितेका छौं । र अहिले पनि यो मतान्तर कायम रहन्छ । त्यो मतलाई हामीले संरक्षण गर्नका निमित्त गाउँवडादेखि नगरवडासम्म चुनावी प्रचार प्रसार समिति बनाएका छौं, त्यही समितिद्धारा हामीले पाएको मतको संरक्षण गर्दै अझै बढि मतान्तरका साथ विजयी गराउन साथीहरु लागिरहने छन्, र लागिरहेका छन् । त्यसलाई अहिलेको प्रतिनीधि सभा र प्रदेश सभाका बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुहुन्छ भन्ने म पूर्ण विश्वासमा छु । त्यसैमा हाम्रो भलो, हित, मुक्ति र विकास छ, भनेर आम जनसमुदायलाई भनिरहेका छौं । हाम्रो यही एजेण्डा र बाम गठबन्धनको पक्षमा आम जनसमुदायले साथी दिइरहेका छन्, त्यसैले हामी स्थानीय तहको निर्वाचनमा पाएको मत भन्दा धेरै मतान्तरका साथ विजयी हासिल गर्छौं ।
बाम गठबन्धनका समर्थकले त भोट दिइहाल्छन्, अन्य वैचारिक समुदायका मतदाताले तपाईलाई किन भोट दिने ?
नेपालमा बहुदलीय व्यवस्था आएपछि पटक पटक जितेका बलबहादुर केसीले ३० वर्षसम्म पनि सोलुखुम्बु जिल्लाको लागि केहि विकास गर्न सकेनन् । जिल्लामा प्राकृतिक रुपमा केहि विकास भएका छन्, तर यहाँको जनताको जीवनस्तर जहाँको त्यही नै छ । बलबहादुरसँगै राजनीति गरेका अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा कति विकास गर्नु भएको छ ? त्यो सबैलाई थाहा भएकै कुरा हो । जुनबेला नेपाली कांग्रेसमा देउवा र केसीको समान हैसियत थियो । त्यसै पनि घाम जस्तै छर्लङगै छ । जिल्लाको विकास केसीले के कति काम गरे भनेर यहाँको जनतालाई मैले धेरै भन्नु पर्दैन, त्यस बारेमा यहाँका सबै जनता जानकारी हुनुहुन्छ । टिम्बुरबोटे शहिद पार्कमा गरेका भ्रष्ट्राचार अझै पनि सोलुखुम्बुका जनताले विर्सेका छैनन ? जलउत्पन्न प्रकोपमा गरेका भ्रष्टाचार, भुकम्प पीडितको राहतका विषयमा अहिले पनि विभिन्न मिडियामा कुरा उठिरहेको छ । त्यसैले यस्ता भ्रष्ट र हैकमवादी उम्मेदवारलाई भन्दा जनताको पक्षमा १० वर्ष सशस्त्र जनयुद्धमा लडेको उम्मेदवारलाई त्यसै पनि सोलुखुम्बुका जनताले भोट दिनेछन्, र दिन्छन पनि । मलाई तपाईहरुले टेष्ट गर्नु भएको छैन । एक पटक टेष्ट गरेर हेर्नुहोस अनि थाहा पाउनु हुने छ की हेमकुमार राईले कसरी जनता र सोलुखुम्बुको विकासको पक्षमा काम गर्छ भनेर । त्यसैले हसियाँ हथौडामा भोट हाल्न हुन पनि हार्दिक अनुरोध गर्दछु ।

तपाईलाई विपक्षी उम्मेदवारहरुले २०३६ सालको आन्दोलनमा बलबहादुर केसी र आङगेलु शेर्पा चाँही आन्दोलनमा हुनुहुन्थ्यो रे ? अनि तपाई चाँही त्यसबेला जन्मनु नै भएको छैन रे भन्ने आरोप लगाएका छन नी ?
विपक्षी उम्मेदवार केसी र शेर्पाले मलाई लगाउनु भएको आरोपको म सम्मान गर्न चाहन्छु । स्वभाविक हो मलाई यस्तो किसिमको आरोप लगाउँनु । उहाँहरु जस्तै मैले सोलुखुम्बुको जनतालाई कहिल्यै घात र मनोपोली गरेको छैन । यो उहाँहरुको पराजित मानसिकता हो । उहाँहरु पराजित भैसक्नु भएको छ । त्यो नतिजा कुर्न अब त्यत्ति धेरै दिन छैन मंसिर ११/१२ गतेतिर थाहा भैहाल्छ । हिजो २०७० सालको दोस्रो संविधान सभा निर्वाचनको उम्मेदवार सिफारिस कार्यक्रममा केसी र शेर्पाका कार्यकर्ताबीच जिसस हलमा कुटाकुट भएको कसैले विर्सेका छैनन् । र सोलुखुम्बुका अधिकांश जनताहरुले हामीलाई भनिरहेका छन्, ३ सय ६० दिन कार्यकर्तालाई आ–आफ्नो स्वार्थका लागि प्रयोग गर्ने अनि ५ दिन त्यही स्वार्थ प्राप्त गर्नका लागि मिल्ने केसी र शेर्पाको छेपारे प्रवृत्तिप्रति सोलुखुम्बुका जनता जानकार भैसकेका छन् । त्यसको प्रतिफल स्थानीय तहको निर्वाचनमा राम्रोसँग कांग्रेसले भोगेको छ । यही प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको उम्मेदवार सिफारिस गर्दा पनि त सोलु कांग्रेसको चर्तिकला देखिएकै हो । जिल्लाबाट ३ गुटका उम्मेदवार सिफारिस भएको थियो । त्यसैले विपक्षी दलका उम्मेदवारहरुलाई अरुको आङमा जुम्रा देख्ने आँखाले आफ्नो आङ्मा भैसी हिडेको पनि देख्नु प¥र्यो नी ?
यदि तपाई विजयी भएर जानु भयो भने ५ वर्षपछि सोलुखुम्बुको मुहार कस्तो हुने छ ?
५ वर्ष पछाडि सोलुखुम्बु जिल्लाको ५२ वटै वडामा सडक यातायातको सञ्जाल पुग्ने छ । जिल्लाको युवा वेरोजगार समस्या धेरैहदसम्म हटेको हुनेछ । जिल्लाको विकास निर्माणमा जुन किसिमको वकिृति, विसंगती, भ्रष्टाचार र कमिसनतन्त्र जुन हिसाबले अहिले मौलाएको छ, यसको न्यूनीकरण भएको हुनेछ । समग्रमा सोलुखुम्बु जिल्ला समृद्ध जिल्लाको रुपमा आफ्नो परिचय दिने गतिलो आधार तय गरिनेछ ।
सोलुखुम्बेली जनता र मतदाताहरुलाई के भन्नु हुन्छ ?
आम सोलुखुम्बु जिल्लाको एक लाख ६ हजार जनता र ६९ हजार मतदाता आदरणीय दाजुभाई तथा दिदीबहीनीहरुमा म के अनुरोध गर्न चाहन्छु भने तपाईहरुले सोलुखुम्बुको इतिहासमा यस्तो निर्णय गर्दै हुनुहुन्छ । जो हिजोदेखि विभिन्न नामले हाम्रो जिल्लाकै इज्जत बेच्ने, हाम्रो जिल्लाकै अस्तित्व बेच्ने, अत्यान्तै अलोकप्रिय, घृणित पात्रको रुपमा, सोलुखुम्बु जिल्लाको एउटा कलङककै रुपमा लिइएको नेपाली कांग्रेसको उम्मेदवारलाई यस पटक कसैबाट प्रभावित नभैकन अहिलेको समय, आवश्यकता र एउटा विकासप्रेमी, यो समाजलाई हिजोदखि आजसम्म रुपान्तरण गर्नुपर्छ भनेर लागेको यूवालाई भोट दिनुस । यहाँ भएका तमाम किसिमका बेरोजगारी समस्याहरु, भ्रष्टाचार, कुशासन, कमिशनखोरी र दलालहरुको पञ्जाबाट मुक्त गर्ने एउटै मात्रै सक्षम उम्मेदवार बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा मलाई प्रतिनिधी सभामा गोलाकार भित्रको हसियाँ हथौडामा र प्रदेश सभा ‘क’ मा उत्तमकुमार बस्नेत र ‘ख’ मा बुद्धिकुमार राजभण्डारलाई सूर्य चिन्हमा आफ्नो अमूल्य मत दिई अत्याधिक बहुमतका साथ विजयी गराउन हुन हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार  ६ : २५ बजे