३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

थाइल्यान्ड—नेपाल मैत्री दसैँ फेस्टिबल



काठमाडौँ, १२ असोज । सायाम लंचंग बैंककको आयोजनामा असोज १४ देखि १८ गतेसम्म यहाँ थाइल्यान्ड—नेपाल मैत्री दसैँ फेस्टिबल हुने भएको छ ।

मङ्गलबार यहाँ अयोजित पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार त्यस फेस्टिबलमा थाइल्यान्डका ४० र बङ्गलादेशका ३० स्टलसहित कुल १५० भन्दा बढी व्यापारिक प्रतिष्ठानको निर्माण सामग्री, तयारी पोसाक, प्लास्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्यपदार्थ र छालाजन्य उत्पादन बिक्री–वितरण गरिनेछ ।

पत्रकारसम्मेलनका प्रमुख अतिथि नेपाल अधिराज्यका लागि थाइल्यान्डका राजदूत भुटृी भुटिसान्तले यस मेलाबाट नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध विकास गर्न सहयोग पुग्नुका साथै अल्पविकसित मुलुक नेपालले उत्पादन गर्न नसकेका उच्च गुणस्तरका सामान नेपाली गृहिणीसम्म पु¥याउन पाउँदा सन्तोष लागेको बताउनुभयो ।

थाइल्यान्ड–नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजयकुमार मुडभरीले थाइल्यान्डमा नेपाली वस्तु निर्यात गर्न चाहने व्यवसायीलाई प्रोत्साहन गर्न पनि यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

Sagarmatha

ललितपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष सबिन श्रेष्ठले नेपाललाई सस्तो सामान डम्पिङ गर्ने मुलुकको सूचीमा राख्न यो फेस्टिबल गर्न लागेको होइन भन्दै उत्कृष्ट तथा उच्च गुणस्तरका सामान उत्पादन गर्दै आएको थाइल्यान्डका सामान नेपाली उपभोक्तामाझ पु¥याउने उद्देश्य फेस्टिबलको रहेको बताउनुभयो ।

थाई एअरवेजका महाप्रबन्धक पेरापोङ्ग जुत्तागानोनले थाइल्यान्डको थाई एअरवेजले नेपालमा सन् १९६८ देखि हवाईसेवा सञ्चालन गर्दै आएको जानकारी दिँदै सुरक्षा र प्रविधिको दृष्टिले उच्चस्तरको थाई एअरवेजले आगामी दिनमा पनि नेपाली पर्यटक थाइल्यान्डमा भित्र्याउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका लागि थाई अधिराज्यको राजदूतावास, थाईल्यान्ड नेपाल चेम्बर अफ कमर्स तथा ललितपुर उद्योग वाणिज्य सङ्घको विशेष सहयोगमा सो मेला हुन लागेको हो । रासस

प्रकाशित मिति : १२ आश्विन २०७३, बुधबार  ५ : ५५ बजे