भीमदत्तनगर, १९ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश साउदले संविधानसँग केही प्रतिशत जनता असन्तुष्ट रहेकाले संशोधन गरेर भए पनि संविधान सर्वस्वीकार्य बनाउन पहल भइरहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस झलारी–पिपलाडी नगर कार्य समितिले आज झलारी बजारमा आयोजना गरेको संविधान कार्यान्वयन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता साउदले ९२ प्रतिशत जनप्रतिनिधिको समर्थनमा संविधान जारी भएको भए पनि ८ प्रतिशतको केही असन्तुष्टि रहेकाले संविधान सर्वस्वीकार्य बनाउन काँग्रेसले संशोधनका लागि पहल थालेको उल्लेख गर्नु भयो ।
उहाँले स्थानीय तहको निर्वाचन आगामी चैतमा हुने दाबी गर्दै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका र नगरपालिका पूर्ण अधिकारसहितका निकाय हुने र त्यसपछि विकासका कामले थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद बहादुरसिंह थापाले संविधान कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि विभिन्न विधेयक निर्माण भइरहेको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा सांसद थापाले सांसद विकास कोषको लगानीमा खरिद गरिएको एम्बुलेन्ससमेत हस्तान्तरण गर्नुभयो । एम्बुलेन्स सञ्चालनमा सहयोग पु¥याउँदै आएको यहाँस्थित सुनवरा कृषि सहकारी संस्थालाई हस्तान्तरण गरिएको हो । एम्बुलेन्स खरिदका लागि सांसद थापाले रु पाँच लाख सहयोग गर्नुभएको थियो भने बाँकी खर्च कृषि सहकारीले व्यवस्थापन गरेको बताइएको छ । रासस