काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकै दिन पुस ५ मा नेकपाका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यद्यपि यो अविश्वासको प्रस्तावको वैधतामाथि प्रश्न उठेको छ । सो प्रस्तावमा उल्लेखित प्रस्तावित प्रधानमन्त्रीको नाम पनि परिवर्तन हुन सक्छ ।
संसद सचिवालयका अनुसार यो सभामुख अग्निप्रसाद सापकोटाको निर्णयमा भर पर्छ । यस विषयमा सभामुख परामर्शमै छन् । बिहीबार सभामुख सापकोटालाई भेटेका प्रचण्ड–माधव समूहका सांसद सुरेन्द्र पाण्डे भन्छन्, ‘जुनबेला (अविश्वासको प्रस्ताव) दर्ता भयो, त्यो बेला संसद विघटन भइसकेको थियो । त्यसकारण उक्त प्रस्ताव आफैँ एक्टिभ हुन्छ कि हुँदैन बुझ्नुपर्छ ।’

नयाँ प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था आए पनि आफूहरु तयार रहेको प्रचण्ड–माधव समूहका नेताहरु बताउँछन् । उनीहरुका अनुसार कांग्रेस र जसपासँग हुने सत्ता समीकरणको सहमतिले पनि नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने हुनसक्छ । र, यस्तो अविश्वासको प्रस्ताव अब बस्ने संसदको पहिलो बैठकमा नै टेबल गर्ने प्रचण्ड–माधव समूहको रणनीति छ । नभए सरकारले एकतर्फीरुपमा संसदको अधिवेशन अन्त्य गर्न सक्ने नेताहरुको आशंका छ ।
संविधानको धारा १०० को उपधारा ४ अनुसार दर्ता हुने अविश्वासको प्रस्ताव बहुमतले पास भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त हुनेछन् ।







