विराटनगर । प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो ११ बजेका लागि बैठक बोलाइएको छ ।

प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचत मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो ।
उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ ।

सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुखको उम्मेदवार छनोट गर्न माओवादी केन्द्रलाई सकस परेको छ ।
ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बस्ने आजको प्रदेशसभा बैठकमा सरकार गठन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गरेर सुनाउने कार्यसूची छ ।






