१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा



काठमाडौं, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो ।

सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो ।
Prachanda-Cab

चुनाव घोषणाको तयारीका क्रममा सोमबार मन्त्रिपरिषद् बैठक तीन पटक बसेको थियो । विहान बसेको पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गर्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिने समय दिएको थियो ।

दिउँसो बैठकले १४ देशका राजदूत नियुक्तका लागि सिफारिस गरेको छ भने पाँच सचिवको सरुवा गरेको छ ।

चुनाव घोषणाका लागि भने साँझ तेस्रो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७३, सोमबार  ३ : ०५ बजे