१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

८ महिनामा ६५ कैदीबन्दीको मृत्यु



काठमाडौँ । नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ । कारागार व्यवस्थापन विभागले दिएको जानकारी अनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन २६ गतेदेखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न शुरु गरेको हो ।
केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनसरीको झुम्का कारागारमा नौ, जिल्ला कारागार चितवनमा ८, मोरङ कारागारमा ७, बर्दियामा २, नख्खु २, इलाम २, महोत्तरी २, संखुवासभा २, झापा २, म्याग्दी १, डिल्लीबजार १, गोरखा १, पर्सा १ र प्यूठानमा १ जनाको मृत्यु भएको छ ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले अधिकांश कैदीबन्दीको बिरामी भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरेर उपचार गर्दागर्दै निधन भएको जानकारी दिए ।
“कैदीबन्दीलाई सामान्य रोग लागे उपचार कारागारभित्रै गर्छौं, जटिल समस्या देखा परे सम्बन्धित जिल्लाका अस्पताल वा काठमाडौँका ठूला अस्पतालमा पठाउँछौँ, अधिकांशको उपचारका क्रममा निधन भएको हो,”– महानिर्देशक घिमिरेले भने ।
मृत्यु भएका ६५ जनामध्ये १ जनामात्र बन्दीगृहभित्र मृत्यु भएको विभागले जनाएको छ । हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजार संख्यामा कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार  २ : ५६ बजे