२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

जन्मगाउँको विकासका लागि २० लाख सहयोग



पर्वत, १० असोज । पर्वतको खौलालाँकुरी घर भई हाल व्यापार व्यवसायका सिलसिलामा स्याङ्जामा बस्दै आएका एक व्यक्तिले आफू जन्मेको ठाउँको विकासका लागि विभिन्न सामाजिक क्षेत्रमा करिब रु २० लाख सहयोग गर्नुभएको छ ।

खौला लाँकुरी–६ का रुद्रबहादुर सुनारले गाउँको विकासका लागि रु २० लाख सहयोग प्रदान गर्नुभएको हो । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका सुनारले गाउँमा खौलालाँकुरी–६ मा कुल मन्दिर व्यवस्थापनका लागि रु १८ लाख सहयोग गर्नुभएको छ भने स्थानीय खौलालाँकुरी माविमा रु एक लाख पाँच हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

त्यस्तै खौला भुमेकोत मन्दिरमा समेत रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ । सुनारले विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश दलित समुदायका बालबालिका रहेका र तिनीहरुलाई पढाइमा हौसला प्रदान गर्ने उद्देश्यले सहयोग प्रदान गरेको बताउनुभयो । “दलित र गरिब समुदायबाट उत्कृष्ट हुने विद्यार्थीलाई पढाइमा ऊर्जा थपियोस् भनेर उक्त कोष स्थापना गरेको हुँ” उहाँले कोषको ब्याज रकमबाट विद्यालयको वार्षिकोत्सवमा पुरस्कृत गर्ने गरी कोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक मीना भण्डारीले जानकारी दिनुभयो ।

सुनारले आफूले विगतमा भूकम्पपीडितलाई पनि सहयोग प्रदान गरेको र केही दिनमा पर्वतको फलामखानी गाविसमा रहेका भूकम्पपीडितलाई सहयोग प्रदान गर्ने योजना बनाएको सुनाउनुभयो । उहाँले सामाजिक क्षेत्रमा गरेका केही कार्यमा भाइ बलबहादुर सुनारले समेत सहयोग पु¥याउँदै आउनुभएको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०७३, सोमबार  २ : २३ बजे