२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

वार्षिक ८० हजारले सुरक्षित गर्भपतन गराउँछन्


१२ आश्विन २०७३, बुधबार  

0
Shares

काठमाडौँ, १२ असोज । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ ।

सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी दिइयो ।

प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमले सो अस्पतालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा दिन थालिएको जानकारी दिँदै आर्थिक वर्ष २०७२÷७३ मा औजारबाट र औषधिको प्रयोगबाट दुई हजार ६९६ जनाले गर्भपतन सेवा लिएको बताउनुभयो ।

Sagarmatha

उहाँका अनुसार नेपालमा हुने मातृमृत्युदरको तेस्रो कारण असुरक्षित गर्भपतन हो । उहाँले भन्नुभयो–“अस्पताल वा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएको कुरा नै महिलालाई जानकारी नहुने कारण धेरै महिलाले असुरक्षित गर्भपतन गर्ने र मृत्युसमेत हुने गरेको छ । कतिपय अवस्थामा असुरक्षित गर्भपतन गराई क्रिटिकल कन्डिसनमा अस्पतालमा ल्याउने गरेको पनि भेटिन्छ ।”

कृपा संस्थाका वरिष्ठ पैरवी तथा तालिम अधिकृत प्रभाकर श्रेष्ठले कानुनले बन्देज लगाए पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेक्रम नरोकिएको बताउनुभयो । उहाँले छोरा र छोरीबीचको भिन्नतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएसम्म यो क्रम चलिरहने भएकाले मानिसको सोचमा नै परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

सेप्टेम्बर २८ का दिन विश्वमा सुरक्षित गर्भपतन दिवस मनाउने गरिएको छ । नेपालमा पनि २६ सेप्टेम्बर अर्थात् असोज १० का दिन मुलुकी ऐनको ११ औँ संशोधनपश्चात् गर्भपतनले कानुनी मान्यता पाएको दिनलाई स्मरण गर्दै आज नै यो दिवस मनाइन्छ । बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि सुरक्षित गर्भपतन दिवस मनाइँदैछ । रासस

प्रकाशित मिति : १२ आश्विन २०७३, बुधबार  ५ : ४३ बजे