१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

तेह्र हजारको खातामा पहिलो किस्ता



नुवाकोट, १६ भदौ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले दिने भनेको दुई लाख रुपैयाँ अनुदानको पहिलो किस्ता अहिले नुवाकोटमा धमाधम वितरण भइरहेको छ ।
जिल्लाका भूकम्पपीडित १३ हजार ३०१ जनाको खातामा पहिलो किस्ता बापत रु ५० हजारका दरले जम्मा रु ६६ करोड ५० लाख ५० हजार निकासा भएको हो ।

गाविस र नगरपालिकामा भूकम्पपीडितले अनुदान सम्झौता गरेअनुसार बैंकबाट रकम वितरण भइरहेको हो । गत आर्थिक वर्षमा थोरै मात्र रकम वितरण भएको तर चालु आर्थिक वर्षको डेढ महिनामा ६६ करोड रुपैयाँभन्दा बढी रकम पीडितको खातामा जम्मा भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिए ।

सरकारी निकायबाहेक विभिन्न गैरसरकारी संस्थामार्फत पनि भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार अहिलेसम्म ९४७ जना भूकम्पपीडितलाई गैरसरकारी संस्थाले चार करोड ७८ लाख ७५ हजार रुपैयाँ प्रदान गरिसकेका छन् ।

Sagarmatha

सरकारले लाभग्राहीको सूचीमा नाम प्रकाशित गरेका ६५ हजार ७५९ पीडितमध्ये ५० हजार ६१२ जनासँग अनुदान सम्झौता भइसकेको छ । नुवाकोटमा भूकम्पपीडितका नौ हजार ५५० वटा गुनासो दर्ता भएका छन् । रासस

प्रकाशित मिति : १६ भाद्र २०७३, बिहिबार  १ : ४२ बजे