३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

अस्पतालाई उपकरण हस्तान्तरण


२३ श्रावण २०७६, बिहिबार  

0
Shares

बनेपा । बनेपा नगरपालिका–६ स्थित बुडोलडाँडामा रहेको रेयुकाई मासुनाका आँखा अस्पताललाई अष्ट्रेलियन दूतावासका तर्फबाट ३८ लाख ५० हजार बराबरकोे उपकरण उपलब्ध गराइएको छ ।सामुदायिक विद्यालयका शिक्षकहरुका लागि उक्त अस्पतालले आज यहाँ आयोजना गरेको ‘शिक्षक तालीम’मा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मधु आचार्यलाई सो उपकरण हस्तान्तरण गरेको हो ।

राजदूत वडले आँखा अस्पताललाई सहयोगग गर्न पाउँदा खुशी लागेको र अहिले उपलब्ध गराएका उपकरणले उपचारको क्षेत्रमा थप मद्दत पुग्ने बताउँदै अन्धोपनका कारण बालबालिकामा पुग्ने असर कम गर्न अस्पतालले पु¥याएको सेवा महत्वपूर्ण छ भने । “काठमाडौँसम्म उपचारका लागि जान पहुँच नपुगेका दुर्गम भेगका जनतालाई यस अस्पतालबाट उपलब्ध उपकरणमार्फत सेवा पु¥याउन अस्पताल परिवार लाग्नुहोस्”, पिटर वडले भने, “लामो समयदेखि अस्पतालका लागि गर्दै आइरहेको सहयोग उपलब्धिपूर्ण बन्दै गएकामा हामी खुशी छौँ ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहबादे श्रेष्ठले अष्ट्रेलिया सरकारले आँखा अस्पतालका साथै स्तन क्यान्सर र पाठेघर क्यान्सरका बिरामीको उपचारमा पु¥याएको सहयोग अतुलनीय रहेको बताए ।सेवा फाउन्डेशनका कार्यकारी निर्देशक रामशरण कँडेलले आँखा अस्पतालसँग विगत तीन वर्षदेखि सहकार्य गरेर काम गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने बताए ।

Sagarmatha

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मधु आचार्यले यस अस्पतालबाट ग्रामीण भेगसम्म पुगेर पु¥याएको सेवाले आसपासका जिल्लाका बासिन्दामा समेत ठूलो उपलब्धि भएको बताए । अहिलेसम्म जटिल खालको उपचारका लागि काठमाडौँ पठाउने गरिएकामा अब यसै अस्पतालबाट सबैखाले उपचार गर्न सक्ने बनाउन अस्पताल व्यवस्थापन लागिरहेको समेत उहाँको भनाइ थियो ।

कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलका तर्फबाट दुई लाख र बनेपास्थित क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लि। का तर्फबाट ५० हजार रुपैयाँ सहयोग अस्पताललाई हस्तान्तरण गरिएको थियो ।सन् २००७ मा स्थानीय समुदायहरुबाट चन्दा सङ्कलन गरी बनेपाको शिर मेमोरियल अस्पताल नजीकै कोठा भाडामा लिएर सेवा सुरु गरेको सो अस्पतालले अहिले बुडोलडाँडामा सुविधासम्पन्न भवन निर्माण गरेर सेवा पु¥याउँदै आएको छ ।

कतिपय शिक्षक र अभिभावकहरुले बालबालिकालाई पढेर राम्रो अङ्क नल्याएको भन्दै गाली गर्ने र तनाव दिने मात्रै गरिरहेको अवस्थामा त्यसको कारण आँखाको समस्या पनि रहेको हुन सक्ने भएकाले त्यस्तो अवस्थाबाट मुक्त गराउन विद्यालयस्तरबाटै सचेत गराउने उद्देश्यले बनेपा नगरपालिकाभित्रका ३० वटा सामुदायिक विद्यालयका ३० शिक्षकलाई सचेतना तालीम प्रदान गरिएको अस्पताल व्यवस्थापन समितिका महासचिव हीरामणि शर्माले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ९ : ४९ बजे