गर्भवती महिलाको मृत्युले तनाव

0 Shares

दाङ, १४ भदौ । दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ ।

दाङको हेकुली–२ पदमपुरकी २७ वर्षीया विमला न्यौपानेको आइतबार राति १२ बजेतिर अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा सोमबार दिनभर मृत्युको विषयलाई लिएर तनाव सिर्जना भएको थियो ।

सुत्केरी बेथा लागेपछि अस्पतालमा आइतबार दिउँसो ११ बजे भर्ना भएकी न्यौपानेको राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनका आफन्तले अस्पतालको लापर्बाहीका कारण न्यौपानेको मृत्यु भएको आरोप लगाएका छन् ।

राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा भोलाराम श्रेष्ठले भने गर्भको पानी रक्तसञ्चार प्रणालीमा गएपछि न्यौपानेको दुर्घटनावस मृत्यु भएको बताए । उनले यस्तो घटना दुर्लभ हुने भएकाले बिरामीलाई बचाउन असम्भवप्राय हुने जानकारी दिए ।

आइतबार बिहान ११ बजेतिर बेथा लागेपछि सामान्य अवस्थामा ल्याइएकी न्यौपानेको स्थिति राति ९ः३० बजेसम्म सामान्य नै थियो । तर एकाएक गर्भभित्र बच्चा बस्ने ठाउँको पानी आमाको रक्तसञ्चार प्रणालीमा गएकाले बच्चा जन्मिनुअघि नै उनको मृत्यु रातको १२ बजेतिर भएको अस्पताल प्रशासनले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार