रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा विप्लव समूहद्धारा आगजनी

0 Shares

खोटाङ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको गाडीमा गएराति आगजनी भएको छ । वडा नम्बर–५ दुवेकोलस्थित गाउँपालिका प्रमुख निरौलाको घरैमा पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको स्कारपियोमा रातको करीब १२ बजेर ५८ मिनेट जाँदा आगजनी भएको हो ।


शुरुमा बम पड्किएको जस्तो ठूलो आवाज आएपछि उठेर हेर्दा पार्किङ गरेर राखिएको गाडीमा आगो बलिरहेको देखिएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । “म सुतिरहेको थिएँ ! बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उहाँले भन्नुभयो, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।”
गाउँपालिका प्रमुख निरौलाको गाडीमा लागेको आगो करीब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आगजनीमा परेको गाउँपालिका प्रमुखको गाडी पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गाडीमा आगजनी भएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताउनुभयो । “गाउँपालिका प्रमुख निरौलाको गाडीमा विप्लव समूहले नै आगजनी गरेको भन्ने घटनास्थलमा खटिएका प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो, “त्यस क्षेत्रको शान्ति÷सुरक्षाको सम्वेदनशीलतालाई ध्यानमा राखेर जिल्लाका साथै मातहतका प्रहरी चौकीबाट समेत प्रहरी टोली परिचालन गरिएको छ ।”
विप्लव समूहले यसअघि गाउँपालिका प्रमुख निरौलालाई पटक–पटक चिठी पठाएर चन्दा माग गर्दै आएको स्रोतले जनाएको छ । ज्यान धम्की समेत दिँदै आएको विप्लव समूहले स्थानीय तहको निर्वाचनको समयमा गाउँपालिका प्रमुख निरौलाको घरजग्गा कब्जा गरेको घोषणा सहित पार्टीको झण्डा गाडेको थियो ।
यसअघि यहि मङ्सिर–१४ गते राति विप्लव समूहले कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा प्रयोग गरिएका चार वटा स्काभेटरमा आगजनी गरेका थिए । गोल्डेनगुड शेर्पा कन्ट्रक्सनको फरक–फरक स्थानमा राखिएका चार वटा स्काभेटरमा एकै रात आगजनी गरेका हुन् ।
आगजनीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभएको छ । ठेकेदार कम्पनीका प्रतिनिधिलाई विप्लव समूहका कार्यकर्ताले बेला–बेलामा चन्दा माग्ने गरेको तर नदिइएको कारण आगजनी गरेको आशंका गरिएको छ । हलेसिखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार