बाहिङ किरातमा खुवालुङको महत्व

  हेमन्त किराँत बायुङ
2.4k Shares

किरात रदु (राई) समुदाय भित्र को एक जाति हो वायुङ/बाहिङ । जसको आज आफ्नो छुट्टै भेषभुषा, भाषा, सँस्कृति तथा इतिहास आदि रहेको छ । आजको यस स्थितिमा किरात परिवार भित्रका जातिहरुको पहिचान पृथक रुपमा विकास भएता पनि किरातीहरुको इतिहास केलाउने हो भने साझा भेषभुषा, सँस्कृति तथा इतिहासहरु कहि न कहि जोडिएको तथ्य प्रमाणका साथै ऐतिहासिक कथनहरु पाइन्छ । त्यसैमध्ये एक हो अहिले चर्चामा रहेको खुवालुङ । जसलाई किरात परिवार भित्र आ-आफ्नै नाम बाट पुकार्ने गरिन्छ । जे जसरी पुकारिए पनि यसको साँस्कृतिक महत्व तथा यसको मिथकहरू लगभग एकै हो छन ।

किरात वायुङ/बाहिङले पनि यसलाई विभिन्न ठाँउमा विभिन्न नाउले पुकार्ने गर्छन । त्यसमा कसैले ख्रलु भन्छन, त कसैले ख्रली, त कसैले ख्रमालुङ भनि पुकारेको पाइन्छ । यसै ख्रलु/ख्रलीको विषयमा वायुङ/बाहिङहरूको मिथक के छ ? नक्सो तथा ध्यावा (मुन्दुम पुरोहित तथा धामी)हरूले पुकार्दै आएको तुम्लो सुम्नी कथामा आधारित रहेर यहा चर्चा गर्न खोजिएको छ ।

वायुङ मिथक अनुसार ख्रलु/ख्रलीको शाब्दिक अर्थ स्पष्ट रूपमा आज भेटिएको छैन, तर सारमा यो किरातीहरूको आदिम काल(सुम्नी खली साला खली)मा यात्रा गर्दा भेटिएको एउटा अवरोध थियो भनेर स्पष्ट बुझ्न सकिन्छ । जसलाई वायुङ/बाहिङ मुन्दुम अनुसार बारिलाप्चो (बारिलाम्को/लाम्चिमो) फोलेमो भनि पुकारिएको पाइन्छ । यो अवरोध पानीको ठुलो मात्रा भएको ठाउमा थियो भन्ने कुरा वायुङ/बाहिङ मिथकमा भन्ने गरेको पाइन्छ । पक्कै पनि यसलाई वैज्ञानिक विश्लेषण गर्ने हो भने त्यो आजको सप्तकोशी नदिको माथिल्लो भागमा जसलाई त्रिवेणी घाट भनिने गरिन्छ । त्यही आसपासबाट त्यो कोशीको अवरोध ख्रलु ख्रली पार गरि हाम्रा पुर्खाहरू आएको हो, भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । किरात वायुङ/बाहिङ आदिम सृष्टि काल मिथक अनुसार यही बारिलाप्चो फोलेमो वारी र पारी गरि दुई भागमा ऐतिहासिक कथनहरू रहेको पाइन्छ । वायुङ/बाहिङ मिथक बमोजिम विशेष गरि वायुङ/बाहिङ, चाम्लिङ दाजुभाई र सुनुवार र उनको भाई आएको कुरा आउने गर्छ ।

वायुङ/बाहिङ मिथक अनुसार त्यस ख्रलु/ख्रली पारि ‘कल्तीपा/कल्ति’ भन्ने पुर्खाको जन्मेका भएको थियो । कल्तीपाको दुई छोराहरू पारलुम्पा (पालुम्पा)/थोतारे (तुथ्यार) थिए ती दुई दाजु भाईका दुई दुई छोराहरू थिए । तिनै दुई दुई छोराहरू ख्रलु÷ख्रली पार गरि आएको मानिन्छ । मिथक अनुसार जसमध्ये पारलुम्पाका छोरा तङदिसे रेन्दुलु भुवाखा र उनका भाइ सिबिसे भुवाखा थिए भने तोथारेका छोराहरू मेरिप्ते तुप्साले खिन्ची पल्क्प र उनको भाई नाम नखुलेको थियो । यी चार भाई ख्रलु/ख्रली पारी बाट आफुले बसोबास गरेको ठाउ छोडी ख्रलु सम्म आएका थिए । आउने क्रममा तङदिसे रेन्दुलु भुवाखा र भाई सिबिसे भुवाखा अलि अगाडी आएको र आउदा ख्रलु(बारिलाप्चो फोलेमो)बन्द रहेको देखेपछि उनीहरूले अवरोध खोल्न अनेक जुक्ति गर्दै अन्तमा जुरेली चरा (लुक्ब्आ झार बुक्ब्आ झार)को भोग दिन्छन्, र बारिलाप्चो फोलेमो खुल्दछ यसरी दुई भाई तङदिसे रेन्दुलु भुवाखा र सिबिसे भुवाखा पार गरि आउने बित्तिकै फेरि त्यो बाटो बन्द हुन्छ । यसरी पछि पछि आएका मेरिप्ते तुप्साले खिन्चि पल्क्प र उनको भाई त्यहा बाटो बन्द भएको देख्छन । बाटो बन्द भएको देखे पछि उनको पारि निक्लेका दुई दाइहरूलाई सोध्छन तपाईहरू कसरी पार गर्नु भयो ? पारि बाट सिबिसे रेन्दुलु भुवाखाले हामी त लुक्ब्आ झार बुक्ब्आ झार सिङ्खे झार मुङ्खे झार (जुरेली चरा काटी भोग दिइ त्यसको मानमनितो गर्नु)गरि पार गरि आएका हौ भन्छन्, तर पारी रहेका दुई भाईले दुरी र पानीको आवाजका कारण हुन सक्छ स्पष्ट सुन्दैन मात्र लअ झार (भाइ काटेर भोग दिइ मानमनितो गर्नु )गरि पार गरे भन्ने सुन्छन् बुझ्छन । उनको दाईको जवाफ सुनेर उनि छक्क पर्छन कसरी भाई काटेर भोग दिइ त्यो अवरोधको मानमनितो गर्न सक्यौं होला ? उनलाई आफ्नो भाई काटेर भोग दिइ बाटो खुलाउन गारो महसुस हुन्छ, तर अन्तमा उनले एउटा जुक्ति लगाउछन । भाई मार्नको साट्टो उनको कान्छी औलामा तिखो चिजले घोचेर रगत निकाली भोग दिन्छु भनि त्यसै गर्छन्, तर उनको भाई ख्रलुले भोग लिएका कारण बाच्दैनन् । यसरी आफ्नो भाई भोग लिएपछि बाटो खुल्छ र पल्क्प पारि तर्छन । जब पल्क्प पारी तर्छन तब रेन्दु र उनको भाई दुवै देख्छन । उनलाई त्यो देखेर रिस उठ्छ र रेन्दुसँग बाझ्न झगडा गर्न थाल्छन । तैले भाइ काटी भोग दिए भनिस र मैले मेरो भाइलाई यसरी यसरी मारे भनि विस्तृत वृतान्त सुनाउछन । उता रेन्दु मैले त जुरेली चरा भोग दिए र आए भनेको थिए तैले नै भाइ भोग दिए भन्ने बुझिस् र त्यसो गरिस भनि सम्झाउछन् । रिसाको भाइले ती सबै घटनाको मुख्य दोषी तै होस र तलाई नै त्यो सम्पुर्णको पाप लाग्नेछ भनि भन्छन् त्यसै दुःखद घटनाको कारण हामी किरात वायुङ/बाहिङहरूले साम्सु कुइवा पुजा(जानाजान वा अन्जान गरिएको अप्रिय घटना तथा चोरी लाई शुद्द गर्ने पुजा) गरिन थालिएको हो भनिन्छ । उसै घटनाको दिन देखि सुनुवार पुर्खा पल्क्प सुनकोशी नदि पछ्छाउने र वायुङ/बाहिङ र चाम्लिङ पुर्खा दुधकोसी पछाउने गरि छुटिन्छन् । सुनकोसी नदि पछ्याएर गएका पछि लिखु पछाउदै त्यही पल्क्प अहिलेको रामेछाप ओखलढुंगाको खीजी भुजी वरिपरि सुनुवार जातिको रूपमा फैलिएर बसेका छन् । यता दुधकोसी पछ्छाएर आएका रेन्दु र सिबिसे भुवाखा खोटाङको चुईचुम्बामा आइ बस्छन । त्यही बाट पछि आफ्नो भाई सिबिसे भुवाखालाई त्यही छोडी रेन्दु ओखलढुंगाको रिपु भन्ने ठाउमा आइ बस्छन तीनै रेन्दुको सन्तान किरात वायुङ/बाहिङहरू चिसंखुगढी राज्यको रूपमा पछिसम्म राज्य गरेको बुझिन्छ । यसरी तिनै वायुङ/बाहिङ पुर्खा सन्तानहरू आजको सोलुखुम्बु, ओखलढुंगामा फैलिएर बसेका छन पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार