निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटमा सांसदको मनपरि

0 Shares

शिवप्रसाद ढुङ्गाना

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत साँसदको सिफारिसमा विनियोजन हुने रकम ओखलढुङ्गामा कार्यविधिसमेत छलेर आफ्ना कार्यकर्तामार्फत खर्च गर्ने चलन देखिएपछि यसको विरोध हुन थालेको छ ।

आर्थिक वर्ष ०७२÷०७३ मा ओखलढुङ्गा क्षेत्र नं. २ मा सांसद रामहरि खतिवडाको सिफारिसमा १९ ओटा र क्षेत्र नं. १ मा सांसद यज्ञराज सुनुवारको सिफारिसमा १२ ओटा गरी ३१ वटा पूर्वाधार विकासका आयोजनाहरू छनौट भए । जसमा प्रति निर्वाचन क्षेत्र १ करोड ५० लाखका दरले तीन करोड बजेट विनियोजन भएको थियो ।
क्षेत्र नं. २ का विभिन्न गाविसहरूमा छनौट गरिएका १२ ओटा शीर्षकका योजनाहरूमा १९ जना उपभोक्ता समितिका अध्यक्षहरूले योजना सम्झौता गरेको जिविसको तथ्यांकमा छ । १९ जनाले गरेका सम्झौतामा एक खेल मैदान, तीन लघु जलविद्युत आयोजना र एक सिञ्चाइ र बाँकी १४ ओटा मोटरबाटो निर्माणका आयोजना छन् ।
उपभोक्ता समितिलाई कार्यविधि छल्न एउटा शीर्षकमा तीन ओटासम्म योजना समावेश गरी तीन समितिलाई रकम दामासाहीले उपलब्ध गराइएको छ । सिंहदेवी १, ७ र च्यानम ९ मा तीन ओटा आयोजनाका लागि तीन ओटा समिति बनेपनि विचारी आहल सिम्ले साना निगाले पोखरी भञ्ज्याङ्ग सडक सिल्खु देउराली रानीवन सडक र फागुनेटार भाल्दिप सिञ्चाइ भन्ने एक आयोजनामा २० लाख रकम विनियोजन भए पनि तीनओटा समितिले दामासाहीले बराबर रकम लिएर आयोजना सञ्चालन भएका छन् । सात लाख भन्दा कमका टुक्रे आयोजना सञ्चालन गर्न नमिल्ने भए पनि अधिकांश टुक्रे योजनामा रकम खर्चिएका छन् । एकै शीर्षकमा दुइओटा समितिले फरक फरक योजना सञ्चालन भएका चार ओटा आयोजनाहरू पाँचदेखि छ लाखसम्मका रहेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम नियमावली पाँचौ संशोधन ०७१ ले १२ ओटासम्म योजना छनौट गर्न सकिने सीमा तोके पनि दुई आयोजनामा पाँच–पाँच लाख विनियोजन भएको छ ।
दुबै क्षेत्रका साँसदहरूले कार्यविधि परिपालनामा उदासीनता मात्र देखाएका छैनन् । त्यसरी छनौट भएका आयोजनाहरू आफ्ना कार्यकर्ता र मतदातामा केन्द्रित गरेर बजेट व्यवस्था गरेका छन् । सबै आयोजनाहरूका अध्यक्ष पार्टीका नेता नै छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दलका नेता उपभोक्ता समितिमा नराख्न परिपत्र गरे पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमका आयोजनाहरूमा सो कुुरा परिपालन भएको छैन ।
कार्यकर्ता र मतदाता केन्द्रित आयोजना छनौट

साँसद रामहरि खतिवडाले आफ्नै पार्टीका कार्याकर्ता उपभोक्ता समितिमा अध्यक्ष रहेका योजनाहरूमा बजेट विनियोजन गरेका छन् । खतिवडाले को कार्यकर्ता रहेको आयोजनामा पैसा दिने भन्ने विष्षयमा विवाद हुँदा असार सम्म पनि जिविसमा योजना पेश गरेका थिएनन् ।
निर्वाचन क्षेत्र नं. २ मा १९ मध्ये १२ आयोजनाका अध्यक्ष काँग्रेस कार्यकर्ता रहेका छन् भने दुईजना एमाले र दुई जना माओवादी केन्द्रका कार्यकर्ता रहेका छन् । तीन ओटा आयोजनामा अन्य व्यक्ति रहेका छन् । १ नं. क्षेत्रमा ६ ओटा आयोजनामा एमाले कार्यकर्ता अध्यक्ष रहेका छन् । दुई आयोजनामा काँग्रेस र एक आयोजनामा माओवादी केन्द्रका कार्यकर्ता छन् । अन्य आयोजनामा वडा नागरिक मञ्च र अन्य स्वतन्त्र व्यक्ति अध्यक्ष रहेको पाइएको छ । यसरी साँसदले आफ्ना पार्टीका कार्यकर्ताले नेतृत्व गरेको आयोजनाहरू प्रथामिकतामा छन् ।
त्यस्तै निर्वाचनमा आफुलाई बढी मत खसेका गाविस पनि साँसदको रोजाइमा परेका छन् । क्षेत्र नं. २ मा काँग्रेस साँसद रामहरि खतिवडालाई अत्यधिक मत खसेको वाक्सा गाविसमा दुई, थाक्लेमा तीन, बलखुमा दुई आयोजना सञ्चालित छन् । त्यस्तै उबूँ, फेदिगुठ, केत्तुके, बेतिनी, गाम्नागंटार, पोकली र मूलखर्कमा साँसद खतिवडाले आयोजना सिफारिस गरेका छन् । संविधान सभा निर्वाचन ०७० मा ती गाविसहरूमा खतिवडालाई ६० प्रतिशत मत खसेको थियो ।
क्षेत्र नं. १ मा साँसद यज्ञराज सुनुवारले भने आयोजना एकै गाविसमा एकभन्दा बढी राखेका छैनन् । उनले नगरपालिकामा पूर्वाधार विकास र श्रष्टापार्क निर्माणमा सबैभन्दा बढी ४० लाख ५० हजार रकम विनियोजन गरेका छन् ।

नियमावलीमा के छ ?
निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट नियमावली विपरीत विनियोजन र खर्च भएको छ । साँसदहरूले आफ्ना मतदाता र कार्यकर्ता बढी भएका ठाउँलाई बजेटको आकार र योजनाको संख्या बढाएका छन् । निर्वाचन क्षेत्र विकास विकास कार्यक्रमका नियमावली पाँचौ संसोधन ०७१ को परिच्छेद चार १ ग मा बढीमा १२ ओटा मात्र आयोजना छनौट गर्न सकिने व्यवस्था भएकामो निर्वाचन क्षेत्र नं. २ का काँग्रेसका सांसद रामहरि खतिवडाले १९ आयोजना सिफारिस गरी बजेट विनियोजन गरेका छन् । त्यस्तै नियमावलीको ३.६ को ग मा आयोजनामा २० प्रतिशत जनसहभागितालाई अनिर्वाय गरे पनि कतै लागू भएको छैन । दलका नेता आयोजनाका अध्यक्ष रहन नमिल्ने भन्ने मन्त्रालयको परिपत्रलाई पनि बेवास्ता गरिएको छ ।
सात लाखभन्दा कम रकमका आयोजना सञ्चालन गर्न नपाइने नियमावलीमा हँुदाहुदै दुइदेखि चार ओटासम्म आयोजनाको एउटै शीर्षक बनाएर एकमुष्ठमा बढी बजेट देखाइए पनि दामासाहीले बाँडेर पाँचलाख देखिका टुक्रे आयोजना सञ्चालन भएका छन् । क्षेत्र नं. १ मा गुम्बा निर्माण गर्न रुम्जाटार गुम्बा र खिजिकाती चर्नालु गुम्बा दुई योजनाको एकै शीर्षकमा १० लाख विनियोजन गरिएकोमा पाँच पाँच लाखका दरले रकम दुई उपभोक्ता समितिले रकम लगेका छन् ।
निर्वाचन क्षेत्र नं. २ मा दुईदेखि तीन ओटासम्म आयोजना एउटै शीर्षकमा राखेर ११ ओटा आयोजनामा नियमावली विपरीत पाँचदेखि ६ लाख रकम भुक्तानी गरिएको छ ।
नियमावलीको परिच्छेद ८. क मा सम्बन्धित निर्वाचन क्षेत्रको साँसदले आयोजनाहरूको आर्थिक प्रशासन नियमावली ०६४ अनुसार अनुगमन तथा मूल्याङ्कन गरी जिविसमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भए पनि प्रतिवेदन पेश भएको रेकर्ड जिविसमा छैन ।
अधिकांश बजेट सडकमै
जिल्ला विकास समितिले उपलब्ध गराएको तथ्यांक अनुसार निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सडक निर्माण मै केन्द्रित भएको छ । क्षेत्र नं. २ का सांसद खतिवडाले सडक निर्माणका लागि १ करोड ३० लाखभन्दा बढी सडक निर्माण र मर्मतमा विनियोजन गरेका छन् । खतिवडाले गाविस भवन निर्माण खिञ्चाइ आयोजना र खेलमैदान तथा लघुजलविद्युत आयोजनाका लागि २० लाख बजेट विनियोजन गरेका छन् ।
निर्वचन क्षेत्र नं. १ मा सांसद सुनुवारले सामुदायिक अस्पतालको पूर्वाधार विकासमा ७ लाख, दुई गुम्बा निर्माणका लागि १० लाख नगरपालिका पूर्वाधार र श्रष्टापार्क निर्माण मा ४० लाख ५० हजार विनियोजन गरेका छन् भने ९२ लाख ५० हजार सडक निर्माणका लागि विनियोजन गरेका छन् ।
जिल्ला विकास र साँसदहरूको बजेट सडकमै केन्द्रित हुने गरेकाले सडक निर्माण उपभोक्ता समितिमा वस्न समिति गठन गर्दा चर्को विवाद हुनेगर्छ । निरन्तर बजेट आउने, स्काभेटर चलाउँदा बढी रकममा सम्झौता गर्ने र मिलेर कमिसन लिन पाइने लोभले समितिमा बस्न विवाद हुने स्थानीय बासिन्दा रविन कार्की बताउँछन् । उनी भन्छन् – “समितिमा बस्ने पदाधिकारीको जीवनशैली चाडै परिवर्तन देखिनुले यसमा शंका गर्ने आधार प्रशस्तै छन् ।”
सत्तारुढ दलका नेताहरू नै सांसदलाई आफ्नो तजविजीमा ठूला आयोजनामा लागानी गर्ने बजेट दिने व्यवस्था खारेज गर्नुपर्ने बताउँछन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य मोहन खड्काले यस्तो बजेट कार्यकर्ता पाल्ने र भोट बैंक सुरक्षित गर्न प्रयोग हुने भएकाले यस्तो प्रावधान नै खारेज गर्नुपर्ने बताउँछन् । उनले नर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट घुमिफिरी दुरुपयोग गर्ने वैधानिक तर, गलत तरिका भएको बताउँदै सांसदको तजविजीमा विनियोजन गर्ने अधिकार हुननहुने उनले बताए ।
नेपाली काँग्रेसका नेता तथा ओखलढुङ्गा जिविसका पूर्व सदस्य टेकराज भट्टराई सांसदका नाममा आउने बजेट जिविस अन्तर्गतका विषयगत कार्यालयमार्फत खर्च गर्ने र जिविसले अनुगमन गर्ने व्यवस्था हुनुपर्ने धारणा राख्छन् । “हाम्रो पार्टीका धेरै साँसद छन् बजेट धेरै लैजान्छन्, तर सही ठाउँमा पुग्दैन, त्यसैले खारेज गर्नुपर्छ” उनले भने ।
तर, निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भन्ने आरोपमा सत्यता नरहेको एमाले सांसद यज्ञराज सुनुवार बताउँछन् । उनले आफ्नो क्षेत्रमा स्थानीयको माग र जिल्लाको आवश्यकता हेरेर आयोजनामा रकम सिफारिस गरेको बताए । दुरुपयोग भए नभएको प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले अनुगमन गर्ने र आफुले विनियोजन गरेको बजेट सही ठाउँमा सदुपयोग भएको दावी गरे । उनले भ्रष्टाचारीलाई जिल्ला पार्टीमा सदस्यता नदिने भएकाले एमाले कार्यकर्ताले दुरुपयोग गर्नै नसक्ने उनको दावी छ ।
सबैका दावी आआफ्नै भए पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्य आयोजनाभन्दा कम प्रभावकारी भएका, समयमा सम्पन्न नभएका गुनासा आइरहेका छन् । एकातिर आयोजना छनौटमै नियमावली मिचिन्छ र आफ्ना मतदाता एवम् कार्यकर्ता केन्द्रित योजना बनाउने साँसदहरूको नियतले यस्ता आयोजना विवादित बन्दै गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार