यसरी सम्भव छ नवलपुरलाई स्मार्ट सिटी बनाउँन

35 Shares

गएको स्थानीय तहको चुनाव ताकाको सवैभन्दा प्रयोग भएको शब्द हो स्मार्ट सिटी । सवैले स्थानीय स्तरदेखी केन्द्रस्तरसम्म यो शब्दको प्रयोग व्यापक रुपमा आफ्नो घोषणापत्रमा उल्लेख गरे र जनताले पनि सोही अनुसार नै चोक चोकमा र चिया पसलमा यसको व्यापक रुपमा चर्चा हुन थाल्यो । आखीर किन र कसरी कुनै पनि ठाँउ वा गाँउ स्मार्ट सिटीको रुपमा विकास हुन्छ ? के के सुचकहरु पुरा हुनु पर्ने हो ? के के सेवा र सुविधाहरु प्राप्त हुन्छन् ? यसको बारेमा भने कतै पनि न त चुनावको अगाडी व्याखा गरियो न त चुनाव जितेर आएपछीका बिभिन्न स्थानहरुमा र कार्यक्रममहरुमा । यो लेख तयार पार्दा सम्म देशमा प्रदेश र संघको लागि उम्मेदवार मनोनयन दर्ता भइसकेको छ र अव यिनै दलहरुका घोषणापत्रहरुमा तिनै स्मार्ट सिटीहरुका व्याखाहरु देख्न पाईनेछ र विभिन्न निर्वाचनका प्रचार प्रसारमा समेत सो को बारेमा भाषणहरु सुनिने छ । यो लेखको उपादेयता भने सवै सर्वसाधारणहरुले बुझने शैलिमा स्मार्ट सिटीको परिभाषा र यसका सुचकहरु र हाम्रो नवलपुरमा के के कुराहरु गर्न सकीएमा साच्चिकै व्यवहारमा स्मार्ट सिटीको रुपमा हामीले देख्न र भोग्न पाउछौ होला त ?
स्मार्ट सिटीको परिभाषा विभिन्न देशहरुले आफ्नो भुगोल, क्षमता र आवश्यकता अनुसार नै फरक फरक रुपमा गरेका पाइन्छ । कसैले प्रविधिको उच्चतम प्रयोग गरी शासन व्यवस्था गर्नुलाई भनेका छन्, कसैले उच्चतम रोजगारीको सदुपयोग गर्नुलाई भनेका छन्, कसैले किफायती र सुन्दर वातावरण भएको शहरलाई स्मार्ट सिटीको रुपमा परिभाािषत गरेका छन् । सामान्य शब्दमा भन्नुपर्दा नयां र नविनतम सुचना प्रविधिको उच्चतमका साथ कुशल प्रयोग गरी सार्वजनिक सेवा सुविधामा त्यस स्थानका जनताको अर्थपुर्ण सहभागिता सहित सही अर्थमा पहुँच, दिगो विकासमा आधारित र दिगो वातावरणीय अवस्थाका साथ सम्पुर्ण सर्वसाधारणको जीवनको स्तर र सेवाको गुणस्तर राम्रो हुने सहरलाई नै स्मार्ट सिटी वा स्मार्ट शहर भनीन्छ ।
विश्वमा स्मार्ट सिटीको कुरा हुन थालेको भने धेरै भएको छैन । सन् २००८ मा कम्युटर प्रविधि आईवियमले सन् २००८ मा स्मार्टर सिटिजको अभियान सुरु गर्यो र त्यही समयबाट नै केही देशहरुले भने स्मार्ट सिटीको तत्वको रुपमा आफ्नो शहरहरुमा काम गरेको देख्न सकीन्छ । नेपालमा भने नीतिगत रुपमा र वजेटको विनियोजन सहीत कामहरु सुरु हुन थालेको भने धेरै भएको छैन । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्थापना गरी प्रविधिक रुपमा र आर्थिक रुपमा नै स्मार्ट शहरमा कामहरु सुरु गरेको छ । पहिलो चरण अन्तर्गत ७ प्रदेशका ७ नयाँ शहरलाई स्मार्ट शहरको रुपमा अगाडी सारेको छ ।

अव लागौ नवलपुर जिल्लालाई स्मार्ट सहर बनाउनको लागि गर्नुपर्ने कामहरु र यसको सुचकहरुको बारेमा छलफल र व्यवहारगत अवधारणा तर्फ ।
१. हरियो र उज्यालो शहर (Green and Bright City) :
गाँउपालिका र नगरपालिकाहरुले अव सडक वा बाटोलाई बजेट विनियोजन गर्दा अनिवार्य रुपमा सडकको दायाँ वायाँ विरुवाहरु रोप्ने वा फुलहरु रोप्नको लागि व्यवस्था गर्न सक्दछ । नवलपुरको गैडाकोट नगरपालिकादेखी विनयी त्रिवेणी गाँउपालिका वा दाउन्ने सम्मको अव निर्माण हुने ४ लेनको सडकमा यो अनिवार्य नीतिको रुपमा सवैले पास गर्नुपर्दछ र त्यसको लागि सकेसम्म छोटो समयमा हुर्कने, एउटै आकारमा ल्याउन सकीने र वातावरणमैत्री विरुवाहरु र फुलहरु लगाउन सकिन्छ । नवलपुर खण्डमा लगभग ६० कि.मि. पुर्व पश्चिम राजमार्ग पर्ने भएकाले यदी यहाँ योजनाबद्ध रुपमा सडकको वरिपरी विरुवा रोप्ने र सोही अनुसार नै उज्यालो शहरको लागि शौर्यबत्ति जडान गर्न सकिन्छ र यो सडकलाई नमुना सडकको रुपमा र हरियो र उज्यालो राजमार्गको रुपमा विकास गर्न सकिन्छ । साथै सडकको दायाँवायाँ भएका घरहरुमा अनिवार्य रुपमा वोटविरुवा वा मिनि वगैचा निर्माणको लागि टोल सुधार समितिको मार्फत काम गर्न सकिन्छ । यसरी फुलहरुको मौसम अनुसारको उत्पादन गरिएमा नगरपालिका वा गाँउपालिकाले गर्ने सवै कार्यक्रमहरुमा उक्त फुलहरु र मालाहरु नै प्रयोग गर्ने नीति ल्याउन सकेमा टोल सुधार समितिको पनि आयस्रोत हुने र शहर पनि हरियो र वातावरण अनुकुल हुनेछ । यसको लागि सामुदायिक वन, वन कार्यालयहरुका प्राविधीक र नगरपालिका भित्र रहेको सामाजिक शाखाले नेतृत्व लिन सक्ने छ ।
२. योजनाबद्ध शहर (Planned City) :
सवै गाँउपालिका र नगरपालिकाहरुले नगर र गाँउ विकास योजना (त्यधल एबिललष्लन ) लागु गर्न सक्तछन् । यो योजनाबद्ध शहरमा सडक कहाँ र कस्तो बनाउने, आवासको लागि कहाँ अनुमति दिने, उधोग धन्दाको लागि कहाँ अनुमती दिने र के के पुर्वाधारहरु पुरा गर्नुपर्छ भन्ने कुराको नीति गैडाकोट नगरपालिका देखी विनयी त्रिवेणी गाँउपालिकाहरुले एकै प्रकृतिको योजना निर्माण गर्नुपर्दछ र सामूहिक रुपमा लगानी गरी सो को विकास गर्नु आवश्यक छ । भविष्यको महानगरको परिकल्पनाको साथमा सडकको नक्सा र घर नम्बरहरुको सही रुपमा वितरण गरी डाटावेस रुपमा काम सुरु गर्न सक्दछ । यसको नेतृत्वको लागि जिल्ला समन्वय समितिको पहलमा तुरुन्तै कार्यक्रमहरु सञ्चालन गर्न सकेमा अव्यवस्थित बसोवासलाई समेत निरुत्साहीत गर्ने र लगानी गर्न आउने नयाँ व्यवसायी र उधोगीहरुलाई समेत सही वातावरण सृजना हुने थियो । सवै नगरपालिका र गाँउपालिकाका एक एक जना प्राविधिकहरुको संयुक्त समुह बनाएर यसको लागि योजना बनाउन लगाउन सक्ने हो भने एकीकृत योजना निर्माण हुने र सोही अनुसार नै नगरपालिका र गाँउपालिकाले पनि कामहरु सुरु गर्न सक्दछ ।
३. स्वस्थ शहर (Health City) :
सवै गाँउ वासी र नगर वासीको स्वास्थ्यको लागि गाँउपालिका र नगरपालिकाले सहरी स्वास्थ्य केन्द्रको स्थापना गर्न सक्दछ । टोल टोलमा रहेको टोल विकास समुह वा संस्थाहरुलाई नै परिचालन गरेर टोल टोलमा योग र ध्यानका केन्द्र स्थापना गर्न सक्दछ । नयाँ वन्ने सडकहरुमा पैदलयात्री वा मर्निङ्ग वार्क र इभिनिङ्ग वार्कमा प्रोत्साहन गर्न सकीन्छ । एक नगर वा एक गाँउमा आधारित भएर नयाँ युवा उद्यमीहरुलाई फिटनेस क्लव स्थापना गरी समाजका सवै वर्गलाई त्यसतर्फ लैजान सक्दछ । नवलपुरका ४ नगरपालिका र ४ गाँउपालिका मिलि सामुदायिक अस्पाताल, व्यायाम गर्नको लागि खेलमैदान र फिट्नेस क्लवको स्थापना, युवा र बालबालिकाहरुलाई आबद्धताको लागि सवै प्रकृतिका खेलहरु खेल्न सकीने रंगशाला वा कभर्डहलको लागि प्रयास गर्न सकीन्छ । आफनो स्थानीय तहमा रहेका खुल्ला स्थानहरुलाई पार्क वा वगैँचाको रुपमा स्थापना गर्न सकीन्छ र आफ्ना बालबालिका र जनताहरुलाई त्यस्ता पार्कमा जानको लागि विभिन्न खालका मनोरञ्जनात्मक खेल,मेला र प्रदर्शनी समेत गर्न सकिने सम्भावना छ । नवलपुरको दक्षिणी भेकमा वाईल्डलाइफ पर्यटन विकास गरेर मानिसहरुलाई स्वस्थ र खुसी रहनको लागि होडिले प्याकेजको व्यवस्था गर्न सकीन्छ भने उत्तर तर्फका पहाडहरुमा साहसीक पर्यटन ट्रेकिङ्ग र होमस्टेको व्यवस्था गर्न सकिन्छ ।
४. सम्पन्न शहर (Prosporous City) :
नगरपालिकाले स्थानीय स्तरमा रोजगारी सृजनाका लागि स्थानीइ उद्योग वाणिज्य संघ वा व्यापारसँग मिलेर विभिन्न कार्यक्रमहरु सुरु गर्न सक्दछ । गैडांकोटबाट सुरु भएर विनयी त्रिवेणीसम्मको एक नगर एक उत्पादनलाई बढावा दिन सकीन्छ । चौधरी उद्योग ग्राम र अन्य व्यवसायीहरु संग मिलेर उद्योग ग्रामको परिकल्पना गर्न सकीन्छ । पहाडी क्षेत्रमा हुने अदुवा, अम्रिसो र पशुपालनलाई व्यवस्थित गरी स्थानीय रोजगारीलाई बढावा दिन सकीन्छ । आफ्नो टोल टोलमा उद्यमशिल समुह गठन गरी सो समुहलाई आयमुलक र सिपमुलक तालिम दिन सकीन्छ । यसरी अन्य नीजि क्षेत्रका लगानीकर्ताहरुलाई लगानीको लागि उपयुक्त वातावरण दिलाउन सकेमा इको पर्यटन, होमस्टे, ट्रेकिङ्ग जस्ता व्यवसायहरुको पनि प्रशस्त सम्भावना रहेको छ ।
५. प्रविधियुक्त शहर (Technology based City) :
अवको समय भनेको सवै सेवा र सुविधाहरु प्रविधियुक्त तरिकाबाट हुुनुपर्दछ । यती धेरै नीजि क्षेत्रका वैंकहरु र सहकारीहरु गाँउ गाँउमा पुगेका छन् तैपनि अझैपनि विजुलीको रु ८० तिर्न मानिस अझै त्यती नै खर्च गरेर जानुपर्ने इतिहास छ । सवै प्रविधिहरुको उच्चतम उपयोग गरी सवै वडा कार्यालयहरुलाई एउटा सुविधा सम्पन्न कार्यालयको स्थापना गरी सुविधाहरु दिनको लागि सोही अनुसार नै वातावरणको सृजना गरिनु आवश्यक छ । यातायातका साधनहरु देखी लिएर ट्राफिक सिग्नलहरु समेत सही अर्थमा देखीने र बुझिने भाषामा राखीन सकीन्छ । यदी कोही नयाँ मानिस पुर्व पश्चिम बाट आउदा समेत कुन ठाँउ आइपुगेको हो उसलाई भन्न गाह्रो हुन्छ, यसको लागि नीजि क्षेत्रका व्यवसायीहरुको व्यवसायलाई प्रबद्र्धन गर्ने गरी प्रविधियुक्त सूचनाबोर्डहरुको निर्माण ठाँउ ठाँउमा गरिनु पर्दछ । साथै सुचना प्रविधि पढाउने क्याम्पसका विद्यार्थीहरुसँगकोे सामूहिक भेला राखेर उनीहरुलाई नै यसको नेतृत्व दिन सक्ने हो भने नयाँ युवा पुस्ताले काम र अनुभव पनि सँगै पाउने थियो र दिगो प्रविधियुक्त शहर निर्माणमा चासो समेत बढ्ने थियो ।
यी वाहेक पनि नवलपुर नेपालको नयाँ र थपिएको जिल्ला भएकाले यहाँ नयाँ योजना निर्माणका साथ कामहरु गर्न सकीने अवस्था समेत रहेको छ । यसको लागि नीजि क्षेत्रलाई समेटेर समेत अगाडी बढ्न सकेमा सानो र रमणीय यो जिल्लालाई आवासयुक्त, रोजगारयुक्त, स्मार्ट शहर, सुन्दर र शान्त शहरको रुपमा विकास गर्न सकिन्छ । यसको लागि मात्र स्थानीय तहका जनप्रतिनिधीहरुको चासो भन्दा भनी सवै क्षेत्रका विज्ञहरु संगको अन्तरक्रिया र एकीकृत योजनाको निर्माण आवश्यक छ । अव हामीले सभ्य शहर, शिक्षित शहर, सुरक्षित शहर, समावेशी शहर, पुर्वाधारयुक्त शहरको मात्र नारामा भन्दा पनि आफ्नै अाँखाले हेर्न सकीने शहरको निर्माण गरी सवै सर्वसाधारणहरुले भोग्न सकीने वातावरण निर्माण गरीनु आवश्यक छ ।

जागृति बाल तथा युवा सरोकार नेपाल  । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार