मान्छे के ले बाँच्ने ?

  निनाम लोवात्ती कुलुङ
224 Shares

जापानी उखान अनुसार, ‘बाघ मरेपछि छालाले बाँच्छ, मान्छे नामले ।’ त्यस्तै दार्शनिक तथा लेखक अज्ञातका अनुसार ‘शब्दसँग अर्थ हुन्छ, नामसँग शक्ति ।’
यति भनेपछि नाममा के त्यस्तो शक्ति छ ? जसका लागि मान्छेहरु मरिहत्ते गर्छन ? भन्नेबारेमा अरु बढी चर्चा गरिरहन नपर्ला कि ? किनभने, माथि उल्लेखित जापानीज उखान र विद्धान तथा दार्शनिक अज्ञातले व्यक्त गरेको अभिव्यक्तिले नै नामको महत्वका बारेमा प्रष्ट्याउँछ, मान्छेका लागि नाम कति महत्वपूर्ण रहेको हुन्छ ? भनेर । हुन पनि हामीले गाउँ–घरमा हिँड्दा –डुल्दा बर–पिपलको फेदमा, देउरालीमा, डाँडोमा निश्चित ठाउँहरुमा चौतारो देखेका छौं । जहाँ टाढा–टाढाका बटुवाहरुदेखि लिएर गाउँघरकै पनि मेलापातमा निक्लेकाहरु बिहानी होस्, वा बेलुकी अथवा दिउँसोको मध्य घाममा नै किन नहोस्, एकछिन भए पनि बिसाएर थकाइ मार्छन् । आराम गर्छन् । साथमा दुःखसुखका कुरो पनि गर्छन् नै । यसरी लामो यात्रामा निक्लेका टाढा–टाढाका बटुवाहरुदेखि लिएर नजिकैका गाउँलेहरुका लागि पनि चौतारो थकाइ मार्ने वा भनौं बिसाउनी भएकै छ ।
हो, ती बर–पिपलको फेदमा रहेका÷बनाइएका चौतारो अनि बाटाघाटामा बनाइएका अन्य पाटी–पौवा, धर्मशाला आदिमा हामीले राम्रोसँग ख्याल गरेर हेर्यौं र पढ्यौं भने, के देख्छौं भने ती बर–पिपलको फेदमा रहेका÷बनाइएका चौतारो अनि पाटी–पौवा, धर्मशाला आदिमा त्यसरी बनाइएका चौतारी, पाटी पौवामा बनाउनेहरुले स्वर्गीय भैसकेका आफन्तहरुको नाम, वतन, जन्मेको मिति, मृत्यु भएको मिति लगायतका कुरोहरु लेखेको देखिन्छ । त्यस्तै ती चौतारो अनि पाटी–पौवा, धर्मशाला आदिमा बनाउनेहरुको नाम पनि कुँदएिको÷लेखिएको हुन्छ । यी सबै किन गरिन्छ त ? भन्दा नामका लागि नै हो । चाहे मरेर जाने होऊन्, चाहे बाँचेकाहरु नै किन नहोऊन् । यसरी हेर्दा मान्छेहरु अनन्त कालसम्म बाँच्ने विभिन्न आधारहरु मध्ये नाम नै प्रमुख आधार रहेको देखिन्छ ।
यो बबुरो पंक्तिकारलाई पनि सामान्य चेत÷चेतना आएदेखि नै नामले बाँच्ने रहर खुबै जाग्न थाल्यो !? अर्थात् विश्वका ठूला मान्छेहरु जस्तै (जसले प्रकृतिको नियम अनुसार आफ्नो नश्वर शरीरलाई यो धरतीबाट त्यागे पनि हामीमाझ अझसम्म पनि नामैले बाँचेका छन्, उनीहरुले विश्व र विश्का मान्छेलगायत प्राणी जगतका लागि विभिन्न योगदान दिएर र महत्वपूर्ण कामहरु गरेर गएका हुनाले नै उनीहरु युगौं–युगसम्म पनि बाँचीरहने छन् । हुन पनि ती महामानवहरु जसले भविश्यमा बाँच्ने सन्ततिहरुका लागि आफ्नो नाम नलिई नहुने नामहरुमा दर्ज गरेर गए । यसरी उनीहरुले आफ्नो नाम सदा–सर्वदाका लागि अमर–अजर बनाएर गए । बबुरो पंक्तिकारलाई पनि हो, त्यस्तै महामानव बन्न मन लाग्न थाल्यो !? ओ हो …. हो …. ! त्यस्तो त होइन है गाँठे ! कम्तिमा नाम कमाउने रहरचाहिंँ जागेकै हो है !
न भन्दै ‘रात रहे अग्राख पलाउँछ’ भनेझैं एक दिन भूतपूर्व राजाको गाऊँ (काठमाण्डौ) पनि आइयो । काठमाण्डौ आउनु पाएको छैन, आउने बित्तिकैदेखि विभिन्न नाममा पत्रपत्रिकामा लेख्ने रहर जाग्न थाल्यो । ‘खाने मुखलाई जँुगाले कहाँ छेक्छ र’ नभन्दै पहिलो पटक प्रकाश ‘पूअर’को नाममा विमोचन मासिक (हालसम्म पनि प्रकाशित भैरहेको छ) मा लेनिनले रुसमा सुरु गरेको अक्टोबर क्रान्तिपछि रुसको अन्तिम राजाका रुपमा रहेका निकोलस (जार) र उनका परिवारलाई कसरी मृत्यदण्ड दिइयो ? भन्नेबारेमा एउटा नेपाली सिने पत्रिकामा छापिएको लेखलाई नै आप्mनै ढंगले लेखेर पठाएँ । नभन्दै उक्त लेख छापियो । त्यसपछि त के छ र ! मलाई लाग्यो अब म पनि ठूलो मान्छे भएँ ! प्रसिद्ध मान्छे भएँ ! जे होस् यो २०५०÷२०५१ साल तिरको कुरो थियो । हुन त अहिले आएर थाहा पाउँदा त्यस्तो लेखलाई ‘साभार’ भनिने रहेछ । यसरी यो बबुरोले जबदेखि जानी नजानी र, जबरजस्ती लेखक भइ टोपल्न थाल्यो, अवश्य नै केही न केही लेख्दै गरेमा सबैले त नभनौं धेरै भन्दा धेरै (मान्छे) पाठकहरुले फलानो भनी नामले नै चिन्दछन्, जान्दछन् भन्ने लाग्यो । यथार्थ पनि त्यही हो ।
त्यस्तै अर्को लेख भनेको २०५३ साल पुस महिनामा कान्तिपुर दैनिकको कोसेलीमा छापिएको थियो । त्यो बेला कान्तिपुर भर्खर–भर्खरै निजी क्षेत्रबाट निक्लन सुरु भएको थियो । कान्तिपुर दैनिकको कार्यलय वानेश्वर क्याम्पसको आसपासको सेतो घर (शान्तिनगरभित्र बागमती÷ढलमली नदी नजिकै) थियो । मेरो सक्कली अर्थात् मौलिक लेख त्यही थियो, जुन लेख त्यही सालको असार–साउनमा माथिल्लो डोल्पामा इटलीयन (पर्यटक) गोराहरुसँग भारी बोक्न गएर फर्केपछि लेखेको थिएँ । जुन लेख विकट कर्णाली अञ्चलको डोल्पा जिल्लाको सदर मुकाम दुनै हुँदै डोल्पाको माथिल्लो भेग हँुदै मुगु जिल्लाको सदर मुकाम गमगढी निक्लिएको आधारमा उक्त यात्राको बारेमा पर्यटकको भारी बोकेर फर्केपछि लेखेको थिएँ । शीर्षक थियो –“अप्पर डोल्पा धरतीको स्वर्ग ।” शनिबारका दिन कान्तिपुर दैनिकको कोसेलीमा पहिलो पृष्ठको पनि शिरमै छापिएको थियोे । अर्थात् फिचर स्टोरी नै थियो त्यो लेख÷फिचर । अनि मेरो नाम थियो– प्रकाश पूअर (मनि राई) । ओहो हो … हो … हो … उक्त लेख छापिए पछि त झन के भन्नु नि !! मेरो खुट्टो भूइंमै रहेन !
अहिले सम्झँदा मलाई के लाग्न थालेको छ भने, साँच्चै मैले जुनसुकै भए पनि एउटै नामले लेखेको भए अहिलेसम्ममा त सायद महावरिष्ठ लेखक नै भैसक्थें कि ! अनि अवश्य पनि मलाई धेरै भन्दा धेरै (मान्छे) पाठकहरुले चिन्थे पनि । हुन त विगतदेखि नै चिनजान भएका नजिकका साथीभाइहरु माझ ठट्टा गरेर भन्ने पनि गर्छु, म पनि महावरिष्ठै लेखक हुँ नि ? हुन पनि अहिले जस्तो लाग्छ, ती दिनहरु । बीचबीचमा पनि मैले नेपाली पत्रपत्रिकाहरुमा छापिएकै विभिन्न विदेश वा विदेशी व्यक्तिहरुका सम्बन्धमा छापिएको लेखहरु पुनः ‘साभार’ गरेर अन्य नेपाली पत्रपत्रिकाहरुमा पठाउंँथे ।
जे होस्, लेख कान्तिपुर दैनिक (कोसेली) मा पुर्याउन जाँंदा कोसेलीका तत्कालीन संयोजक युवराज गौतम (हाल नागरिक दैनिकमा स्तम्भ लेख्छन् भने, त्यसअघि अन्नपूर्ण दैनिकमा लेख्थे । त्यो बेला कोशेली छाडेपछि सारथि साप्ताहिकको सम्पादक पनि भएका थिए) सरले मेरो पढाईबारे सोधेका थिए । अहिले थाहा पाउंँदा सायद मेरो लेख वा फिचर नयांँ ठाउंँको, नयाँ विषयको र, महत्वपूर्ण भए पनि लेख्ने तरिका, स्तर, प्रस्तुति, भाषा शैली आदिलाई हेरेर नै पढाईको बारेमा सोधनी भएको थियो होला ? भन्ने अनुमान गर्छु । अनि त्यही सेरोफेरोमा अल्लारे बैंसमा जो पनि कवि हुन्छ भने झैं विभिन्न सिनेपत्रिका लगायतका अन्य पत्रपत्रिकाहरुमा कविता, मुक्तक, लघुकथा आदि पठाउथेँ ।
साभार नै सही, त्यसरी लेख्ने क्रममा पेन्गुइन, मुसोलिनीको जीवनी आदिबारेमा पनि लेखेँ । अनि त्यो बेला नेपाल टेलिभिजनमा प्रसारण हुने चेतना मूलक टेली श्रृङ्खला देवीको छायांकनको क्रममा काभ्रे जिल्लाको दाप्चा गएर आएपछि, ताप्लेजुङको तम्बरखोला, खेजेनिम गाउँको मामाङ्खेमा रिम्की भाञ्जीको शुभ विवाहमा गएर आएपछि फिचर लेखेँ, ती गाउँ÷ठाऊँहरुका बारेमा । त्यस्तै नेपालका विभिन्न पर्यटकीय स्थलहरुमा गएर फर्किएपछि त्यहाँको विविध विषयमा लेख्ने क्रम पनि जारी नै रह्यो । खास गरी पर्यटनको बारेमा धेरै नै लेखियो । हुन पनि नेपालको पर्यटनको बारेमा त्यो बेला फिल्डमै गएर अनुभव गरेर लेख्नेहरु कमै थिए ।
यस्तैमा एकदिन कान्तिपुरमा लेखस्वः अर्थात् पारिश्रमिक वापत पाइने पैसो लिन जांँदा नेपालका नामूद मान्छे ! बालकृष्ण पोखरेल (हाल स्वर्गे भैसके) संँग चिनजान भयो । त्यो पनि उनले भन्दा मैले पहिले पैसो लिदांँ क्यासियरले मेरो नाम सोधेपछि मैले प्रकाश ‘पूअर’ भनें । त्यसपछि पोखरेल सरले नै मलाई दुबैजना सँगै निक्लौं है भाइ ! भनी आग्रह गरे । मैले नमान्ने कुरै थिएन । किनकि त्यति बेला गोरखापत्र संस्थानको सहप्रकाशन मधुपर्क साहित्यक मासिकमा (कुनै कुनै अंकमा) एकै अंकमा उनको दुई दुईवटा लेख छापिन्थ्यो । हाम्रोचाहिँं एउटा पनि नछापिने … को चाहिँं दुई दुईवटा छापिने ? भनेर म मधुपर्कमै थर्काउन त नभनौं, गुनासो गर्न जान्थें । त्यतिखेर मधुपर्कका सम्पादकहरु भन्थे, ‘भाइ, तपार्इँलाई थाहा नै छैन । उहांँ कति ठूलो मान्छे हो भनेर ।’ जे होस्, त्यस दिन म उहांँसंँगै नयाँ बानेश्वर चोकसम्म आएंँ । त्यही मौकामा घरिघरि मधुपर्कमा उहांँको दुई दुईवटा लेख छापिने गरेको बारेमा पनि कुरा गरें (सोधें) । त्यतिबेला सबै अंकमा नभए पनि तीन वा चार अंकमा त्यसरी छापिएको याद छ, यो पंक्तिकारलाई । तर, लेख्दै गएपछि गोरखापत्रको सबै प्रकाशनहरुमा मेरो पनि लेख÷रचनाहरु छापिन थाल्यो । हाल अरु पत्रपत्रिका र अनलाइनहरुमा पनि लेखिरहेकै छु ।
ड्ड जे होस्, उहांँ नेपालका जातजाति र भाषाभाषीहरुका बारेमा पनि खोज अनुसन्धान गर्ने मान्छे हुनुहुंँदो रहेछ । अतः मलाई संँगै आउनाको कारण प्रष्ट पार्दै सोधे, यो ‘पूअर’ भनेको चाहिंँ कुन जात वा जाति हो भाइ ? वा कुनै जाति भित्रको थर वा उप थर के हो भाइ ? मैले त्यस्तो होइन सर, अंग्रेजीको ‘पि ओ ओ आर’ ‘पूअर’ अर्थात् गरिबको अर्थमा उपनाम मात्रै राखेको हुँ भनी बताएं । उनले ढीला नगरी तुरुन्तै मलाई सुझाव दिई हाले । ए .. त्यसो भए यो पूअर सूअर होइन भाइ, उपनाम नै राख्ने भए कुनै नेपाली शब्दबाट नै छानेर राख्नु भनी सुझाव दिए । उनले तुरुन्तै उपनामहरु सुझाउँंदै दीन, दुःखी, दीनदुःखी, गाउंँले, रसिक, साहसी आदि आदि उपनामहरु प्रस्ताव गरे । दुःखको कुरो हाम्रो त्यो एकछिनको भेटपछि बालकृष्ण पोखरेलसंँग कहिल्यै दोहोर्याएर भेट भएन । उनले दिएको उपनाम परिवर्तन गर्र्नु पर्ने सुझावलाई तुरुन्तै मानेर प्रकाश राई “दीनदुःखी” भनी लेख्न थालें ।
ड्ड हुन त त्यो बेला एमालेको सामान्य कार्यकर्ता पनि भएकोले केही लेखहरु एमके राई सुब्बा, (किनभने एमालेमा कहिल्यै पनि जातजाति र भाषाभाषीको कुरा गर्नेहरुलाई राम्रो मान्ने गरिदैन थियो÷अहिले पनि गरिदैन । उता ट्रेकिङ एजेन्सीका मालिकहरु पनि लेख्छ, पढ्छ भन्ने थाहा पाएपछि रिसाउने वा त्यति खुशी नहुने हुनाले अरु नै कुनै नामहरु राखेर पनि लेख्थें भने कति त आफ्नै कारणले पनि तेह्रथुमे जेठा, प्रकास राई वेहोसी, दीनदुःखी राई तेह्रथुमे, केही नजान्ने कुलुङ, विहोसी गाउंँले, प्रकास गाउंँले, निनामहाङ कुलुङ किरात, मणि कुलुङ ‘पिल्मोछा‘, निलो कुलुङ किरात, तुम्नो कुलुङ, हरिलट्ठक, पाङ्दुरे कुलुङ होहोरेम कुलुङ, आदि इत्यादि नामले पनि लेखें÷लेख्दैछु । तर अब मेरो नाम निनाम लोवात्ती कुलुङ बाहेक कुनै अर्काे नाम हुने छैन भन्ने मेरो दृढ संकल्प छ, विषेश परिस्थितिमा बाहेक । हुन त निनाम लोवात्ती कुलुङ लेख्नुअघि प्रकाश राई “दीनदुःखी” नै एकदमै चलेको र, (मान्छे) पाठकहरुले चिनेको नाम हो । तर, पछि बल्ल (२०५९÷०६०) सालदेखि ‘राई’ भनेको नेपालका कुनै पनि जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह–राणाहरुले दिएको पदवी÷पगरी मात्रै हो भन्ने पक्का भएपछि प्रकाश कुलुङ “दीनदुःखी” भनेर लेख्न थालेँ । हुन त निनाम लोवात्ती कुलुङ नाम पनि (मान्छे) पाठकहरुमाझ स्थापित भैसकेको छ ।
यसरी भूतपूर्व राजाको गाउँमा आएपछि बाँच्नका लागि अनेक संघर्ष गर्ने क्रममा त्यो बेला मैले गर्ने कामको बारेमा स्थिरता पटक्कै थिएन । कहिले नेपाली टेली चलचित्र वा चलचित्रमै पनि सानातिना भूमिका खेल्न जान्थें । तर, त्यस बापत पैसो भने कहिल्यै पाइन्थेन । कतिले त खाना पनि घरमै खाएर आउने उर्दी गर्थे । लुगा पनि (जस्तै कथाले मागेको विशेष प्रकारको) आपैm लिएर जानुपथ्र्यो । तै पनि गइन्थ्यो । चलचित्र खेल्दाखेल्दै पैसा पाएको अनौठो घटना वा भनौं संयोग पनि छ । त्यो घटना हो, “घरवाली बाहरवाली” नामक हिन्दी चलचित्रमा यसो नाकमुख देखाए वापत् १ हजार नगद पाएको । साथमा नाना प्रकारका खानाहरु खान पाइने त छँदै थियो । जस्तै होटल सोल्टीबाट ल्याएको रोटी, दाल, भात, मासु, सलाद आदि मस्तसंँग खांँदै दिनभरि छायांंकनमा रमाउन पाइने । कहांँ डेरामै खाएर, आफै बस भाडा हालेर छायांकनस्थल पुग्नु पर्ने, कहांँ रिजर्भ गाडीमा जाने र, मस्तैसँग अनेक प्रकारका खाने कुरो खान पाइने ? तुलना गर्ने कुरै भएन । सबैभन्दा ठूलो कुरो त उक्त चलचित्रमा खेलेर एक–एक हजार रुपैंया लियौं हामी कलाकार भनाउँदाहरु सबैले ।
तर, चलचित्रमा भूमिका कस्तो पाइयो भने, पछि मेरी तत्कालीन प्रेमीका (स्वर्गीय श्रीमती बिनु श्रेष्ठ, उनी २०७३ साउनमा क्यान्सर रोगका कारण बितिन) लाई लिएर “घरवाली बाहरवाली” हेर्न जांँदा ऊ, ऊ, …. ऊ म …. म … भन्दाभन्दै र, बिनुले खै, खै ? भनी प्रश्न गरी नसक्दै मेरो दृश्य नै सकिएको थियो । उता घरवाली बाहरवाली फिल्मबारेमा विवाद पनि आएको थियो । मैले नेपाली एजेन्ट वा प्रतिनिधि बन्नी प्रधानलाई त्यतिबेलै नेपालको कुनै पनि जात जातिमा नभएको संस्कृति, जस्तो बाख्राको पाठो जसले समात्छ उसैसँंग छोरीको विवाह गर्ने प्रचलन भएको भनी देखाइएको दृश्य, त्ुयस्तै अण्डा र गोलभेडाले हिरो (अनिल कपुर) लाई हानेको दृश्य आदि बारे लाटो नै भए तापनि प्रश्न राखेको थिएँ । तर, बन्नी प्रधानले के गर्नु भाइ, हामीले भनेर हुँदैन भनी पन्छिए । कलाकारितामा जम्न नसके तापनि अहिलेसम्म लेखेरै कमसे कम नाम त कमाइरहेको छु ! कि कसो हौ बुम्चे (साथीहरु) !!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार